• बुधबार-पौष-२४-२०८१

पशुपतिनाथमा आज रातभर धनुर्मास पूजा गरिँदै

काठमाडौँ, २३ पुस: सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा आज पुस २३ गते मङ्गलबार रातभर विधिपूर्वक धनुर्मास पूजा आराधना गरिँदै छ ।
 
    पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि मङ्गलबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराउने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
 
    बाला चतुर्दशीदेखि चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।

 

परम्पराअनुसार पुस २३ गते मङ्गलबार रातिदेखि बिहानसम्म धनुर्मास पूजा गरिने कोषका प्रवक्ता कोषका सदस्य सचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।  
 
    धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । मङ्गलबार रातभर धनुर्मास पूजा गरेपछि बुधबार पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ ।

 

पुस २४ गते बुधबार अपराह्न १२ बजेदेखि मन्दिर बन्द गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्नुहुने धार्मिक विश्वाससमेत रहेको छ ।
 
    यसै विश्वासमा पुस २३ गते बुधबार बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा आरती गरिन्छ । बिहीबार बिहानदेखि नियमित पूजा आराधना गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।
---

 

प्रतिकृया दिनुहोस