नेपाली सेनाभित्रको सत्य घटनाको एउटा विगतले वर्तमानमा गराएको नमिठो स्मरण–जंगी अड्डामा चीफ सा’बको सवारी हुन्छ । गाडीको ढोका खोल्न केही थान सहायक रथीहरुको लाइन लागेर बसेको छ । चीफसा’ब सिधै रथीको अफिसमा छिर्छन् ।
आफ्नो पछि पछि आएका तीन जना देखाउँदै “अरु को को जान्छन् थाहा छैन तर यिनीहरुलाई अहिले नरोक्नु’’ प्रसंग नेपाली सेनामा हाल शुरू भएको जन्ममिति विवादकै तर जोडिन्छ राष्ट्रियतासंग !
त्यो आदेश तत्कालीन रथी प्रभुराम शर्मालाई प्रधान सेनापति पूर्ण चन्द्र थापाले ताराध्वज पाण्डे, अशोक सिग्देल र निर्मल थापालाई देखाउँदै दिएको आदेश हो । शर्मा नेपाली सेनामा रहेका अधिकृतहरुको जन्म मिति तथा कागजात छानबिन समितिको प्रमुख थिए र उनीहरू सहित धेरैको कागजात सही नभएको पक्का प्रमाण भेटिईसकेको थियो । निजामती वा प्राईभेट कम्पनीमा भए “किन, कसो, हुँदैन’’ भन्ने जवाफ आउँथ्यो होला तर सेना कमाण्डमा चल्ने संस्था भएको र रथी शर्मा आफैंको पनि कागजात नमिलेकोले तथा चीफले चाहेमा आफ्नै चीफ हुने लाइन बिग्रन सक्ने भएकाले “हुन्छ’’ भने परिणाम अहिले आएको छ ।
पञ्चायतकालमा सेनाको अधिकृत हुन योग्यता भन्दा पनि दरवारको कृपा चाहिन्थ्यो । पहिला भर्ना हुने अनि कागजपत्र जुटाउने काम हुन्थ्यो । धेरै जनाको पारिवारिक पहुँच हुन्थ्यो भने कसैको आफन्त दरवारिया हुन्थे । छनोट पनि सेनाले गर्दथ्यो लोकसेवा आयोगलाई अधिकार थिएन । कतिपय समयमा नेपाली सेनाका भर्ना छनोट गर्ने अधिकारीहरु स्कुल, कलेजमा गएर फुटबल, भलिवल, बास्केटबल खेल्नेहरुलाई पढाई अनुसारको दर्जामा नियुक्ति गरिदिन्थे र कागजात मिलाउन पठाईदिन्थे । यसरी जागिर खाएकाहरुको कागजात चेकजाँच हुँदैन थियो अनि कहाँबाट सक्कली हुन्छ ? ४–५ जना उपरथी, ७–८ जना सहायक रथी लगायत तीन दर्जन घर जाँदा तीन जना जोगिन पुगे । ताराध्वज पाण्डेलाई उपरथीको फूली लगाउंदै पूर्ण चन्द्रले “मैले गर्दिएँ पछि के हुन्छ मिलाउनु’’ भनेर भनेकै हुन् ।
यसरी उपरथी भएका ताराध्वज पाण्डे पदावधि पनि थप हुनु र अनन्त कार्की, प्रेम शाहीको जागिर पनि जानु संगै मिलेकाले चीफको लाइनमा पुगे । कतिपयको भनाइमा ताराध्वज पाण्डेले लाइन सफा गरेका हुन पनि भन्छन् । ताराध्वज पाण्डेको अत्याधिक मदिरापान गर्ने खराब बानी थियो । अरुबेलामा नरम मान्छे पिएपछि मनको भडास पोख्थे । २०८० जेठतिर सोल्टी होटलमा संयुक्त राष्ट्र संघको एउटा कार्यक्रममा पिएपछि उपरथी पाण्डेको असली रुप देखियो । काठमाडौंस्थित भारतीय दूतावासका सह सैनिक सहचारी अमित शर्मालाई तथानाम बोले, सेनाकै कार्यरथीलाई ‘थु थु’ समेत गरे । यति भएपछि उनी सम्भार रथी हुँदादेखि बनाएको भारतीय नरम छवि बिग्रियो र अवसर अर्का जर्नेलले पाए ।
अशोक सिग्देल र ताराध्वज पाण्डे संगै क्याम्पस पढेका ब्याची हुन् । दुवै जनालाई एक अर्काको कमजोरी थाहा थियो । पूर्ण चन्द्रले घर पठाउन लाग्दा ताराध्वजले नै जोगाईदिएका हुन् । अशोक सिग्देलले नीति विभागमा हुँदा भारतलाई सहयोग हुने काम गरेका छन् र भनिन्छ उनी भारतको रुचाईएका पात्र समेत हुन् । शान्ति सेनाको लागि चीनबाट बख्तरबन्द गाडी किन्न लाग्दा रोकेर भारतबाट १६ बटा गाडी किनिदिएका थिए ।
चीफ हुँदा पूर्ण चन्द्रलाई शशीभवनमै “र’’ एजेन्टहरुले भेटेकै हुन् । प्रचण्डको दाउ समायोजनका यम बहादुर अधिकारीलाई जे जसरी भए पनि चीफ बनाउनु छ भने त्यसले सेनामा असन्तुष्टिको वातावरण सिर्जना गरेर नेपाल अस्थिर भईरहोस् भन्ने दिल्लीको दाउ छ ।
यो चिठीको उद्देश्य निर्मल थापा जस्ता शंकास्पद सर्टिफिकेट धारी वा सन्तोष ढकालजस्ता नेपाली सेनाको वास्तविकता नबुझेको मान्छेहरु चीफ बनुन भन्ने होईन । योग्य त ताराध्वज पाण्डे पनि हुन् तर यसरी राजीनामा दिएर उन्मुक्ति पाउने होइन २०४३ सालदेखिको हिसाब माग्नु पर्छ ।
चीफसाब,
ताराध्वजले जुन तरिकाले राजीनामा दिए, वास्तविकता अन्य जर्नेलहरुको पनि उस्तै छ र हो, छानबिन होस् । अहिले रथी पदमा रिक्तताको अवस्था आउनमा अवसरवादी जर्नेलहरुको ठूलो हात छ । प्रचण्डको घरमा गएर भेट्दा के के कुरामा सहमति जनाएका छन् हामीलाई के थाहा ? ताराध्वज पाण्डेको जस्तै प्रमाण पनि भेटिईसकेको छ भने कोर्ट मार्शल गरेर घर पठाईदिनुहोस, प्रेम शाहीलाई मिल्ने अरुलाई नमिल्ने के छ ?
तपाईले सिफारिस नगरी कोही बढुवा हुँदैन भने किन मन्त्रीलाई सोध्नुहुन्छ ? यसमा मायादया, भेगी केही नहेरी राष्ट्र र नेपाली सेनाको हित हुने काम गर्ने हो । यम बहादुर अधिकारीलाई चीफ बनाउने प्रचण्डको दाउ किन सफल बनाउनुहुन्छ ?
अब फेरि पनि यस्तो नहोस् ! –नेपाली सेनाको भलो चाहनेहरु (साँघु साप्ताहिक, २०८० मंसिर १८)
प्रतिकृया दिनुहोस