• शनिबार-श्रावण-१२-२०८१

सामान्य प्रशासन मन्त्रालयमा हटेन बेथिति: मन्त्रीलाई चुनौती दिँदा रोकियो सरुवा 


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी र अर्थ मन्त्रालयमा सरुवा भएर जान खोज्ने केही सहसचिवहरुबिचको टकरावको कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकार निजामती क्षेत्रमा निकै बद्नाम हुन पुगेको छ । मन्त्री अनिताले आफूसँग सहमति र परामर्श नगरी विभिन्न मन्त्रालयका मन्त्रीहरुले सहसचिव भित्र्याउन खोजेको भन्दै निरन्तर रुपमा असहमति जनाउँदै आएको स्रोत बताउँछ ।


जसका कारण दसैँ अगाडि नै मन्त्रिपरिषदमा पुगेको ५८ जना सहसचिवहरुको सरुवा कार्यान्वयन हुन सकिरहेको छैन । प्रदेशमा जान खोज्ने सहसचिवहरुको विषयमा कुनै विवाद नरहेको बताइन्छ । तर, संघीय सरकारका विभिन्न विभाग र कार्यालयमा कार्यरत केही सहसचिवहरुले महत्वपूर्ण मन्त्रालयमा सरुवा भएर जान खोजेकै कारण विवाद चुलिएको बताइएको छ ।


अर्थमन्त्री महत र अनिताकाबिच बढी टकराव
खासगरी हाल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको कम्पनी रजिष्ट्रार कार्यालयमा कार्यरत सहसचिव महेश वराललाई मन्त्री डा. प्रकाशशरण महतले अर्थ मन्त्रालयमा भित्र्याउन जोडबल लगाएका थिए । तर, सामान्य प्रशासन मन्त्री अनिताले आफ्नो सहमतिबेगर जबर्जस्ती भित्र्याउन खोजेको भन्दै मन्त्री महतसँग असन्तुष्ट रहँदै सरुवा रोक्दै आएको कारण सरुवा कार्यान्वन हुन नसकेको स्रोतले बताएको छ ।


सहसचिव बराललाई यसअघि नै सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय योजना आयोगमा सरुवा गरिसकेको थियो । तर, कम्पनी रजिष्ट्रार कार्यालयमा खटाइएका दिवश आचार्यले क्यारियरको ख्याल गर्दै बद्नामी हुने डरले उक्त कार्यालयमा जान नमानेको स्रोत बताउछ । जसका कारण कम्पनी कार्यालयको नेतृत्व सहसचिव बराल नै सम्हाल्दै आएका छन । उनले योजना आयोग नजाने र अर्थ मन्त्री महतको चाहनाबमोजिम अर्थमा भित्रिन खोजेको कर्मचारीहरु चर्चा गर्दछन् ।


तर, मन्त्री अनिताले आफुसँग भेटघाट नगर्ने तर विभागीय मन्त्रीहरुलाई मात्र रिझाए सरुवा हुन खोज्नेहरुका विरुद्धमा खरो रुपमा उत्रिंदै आएकी छिन् । जसका कारण प्रदेश मन्त्रालयमा सरुवाका लागि सहमत जनाइसकेका आधा दर्जन भन्दा बढी सहचिवहरु समेत अक्क नबक्क पर्दै आएका छन् । यदि उनीहरुको सरुवा कार्यान्वयन भएको भए उनीहरुले जिम्मेवारी सम्हालेको करिब दुई महिना बितिसक्ने थियो । उल्टै, यतिखेर उनीहरु सरुवा भएको निकायमा जान नपाएर छटपटीमा दिन कटाउनु परेको गुनासो गर्दै हिंडेको चर्चा छ ।


सरकार थप आलोचित
केही मन्त्रीहरुले आपूm अनुकूलका सचिवहरुलाई मन्त्रालयमा भित्र्याउने र स्वार्थ  नमिल्नेलाई हटाउने रणनीतिअख्तियार गर्दा निजामती प्रशासनमा बेतिथि र अराजकता मौलाएको मात्र छैन कि वर्तमान सरकार निकै आलोचित हुँदै आएको छ । सामान्य प्रशासन मन्त्रालय भित्रै पाँच देखि ७वर्ष भन्दा बढी अवधिदेखि कार्यरतआधा दर्जन भन्दा बढी उपसचिवहरूलाई मन्त्री अनिताले सरुवा गर्ने हिम्मत नगरेको भन्दै यस अघि मन्त्रीहरुले झैं नै आलोचना खेप्नु परेको छ ।


पीएलजीएसपी प्रोजेक्टमा कार्यरत उपसचिव रेशम कँडेललाईउदाहरण मान्न सकिन्छ । उनी सोही परियोजनामा कार्यारत रहकै अवस्थामा अमेरिका पढ्न पनि गएका थिए। त्यताबाट आएपछि पनि उनलाई सोही प्रोजेक्ट प्रमुख भएर काम गर्ने अवसर प्रदान गरेको भन्दै कर्मचारीले असन्तुष्टि जनाएका छन । अर्का उपसचिव दशरथराम ओड पनि उपसचिवमा बढुवा भएदेखि सो मन्त्रालयबाट बाहिर जानु परेको छैन ।


यसअघि कर्मचारी प्रशासनमा कार्यरत रहँदा सरूवामा चलखेल गरेर ‘तर’ मार्न सफल उपसचिवहरुले उक्त मन्त्रालय छोड्नु परेको छैन । नेकपा माओवादी केन्द्रका उपमहासचिव रहेका वर्षामान पुन उर्जा र अर्थ मन्त्री हुँदा निजी सचिव बसेका उपसचिव कमानसिंह थापा मगर पनि तीन वर्ष भन्दा बढी समयदेखि सामान्यबाट कतै सरुवा हुनु परेको छैन । कर्मचारीको सरूवाको खटनपटन गरी राम्रो दाम कमाउने कर्मचारीभित्र उनीदर्ज भएको कर्मचारी स्रोतको भनाई रहेको छ ।


अख्तियार प्रमुखको आड भरोसा?
यस्तै, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको पावरमा उपसचिव खिलाराज राईले पनि निजामती प्रशासनमा राईंदाईं गर्दै आएको बताइएको छ । मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत रहँदा उनलेकर्मचारी सरूवामा धेरै ठुलो खेलोफड्को गरेको आरोप खेप्दै आएका छन ।


उनी अख्तियार प्रमुख आयुक्त राईको पावरकै कारण पाँच वर्षदेखि सामान्य मन्त्रालय भन्दा बाहिर जानु परेको छैन । बढुवा शाखाका उपसचिव पर्व प्रसाद सापकोटा पनि पाँच वर्षभन्दा बढी समयदेखि सामान्यमै रहेका छन् । उनी १०–५ बजेको समयमा बढुवा समितिको बैठक डाक्दासमेत बढुवा मिटिङको भत्ता खाने उपसचिव भनेर मन्त्रालयभित्र आलोचित कर्मचारीको रुपमा दर्ज भएका छन ।कहिलेकाहीँ दिनमै दुई–तीन पटक बढुवा समितिको बैठकराखेर पनि भत्ता खानेमा उनले सुप्रवल  कीर्तिमान कायम गरेको मन्त्रालय स्रोतले बताउछ।


एक दर्जनको हालीमुहाली 
उता, उपसचिव महेन्द्र सापकोटा,प्रल्हाद कुमार कार्की, भुपेन्द्र सापकोटा, राजेश गौतमलगायत एकदर्जनकर्मचारीहरु सामान्यमा पाँच वर्षदेखि जरा गाडेर बसेको समाचारस्रोत बताउँछ। त्यसो त शाखा अधिकृतदेखि उपसचिव बढुवा हुँदासम्म सामान्यमै बस्ने उपसचिवहरुको सूची पनि लामै रहेको स्रोतले बताएको छ ।


उनीहरु कहिलेकाहीँ मावली र ससुराली घर गएजस्तो गरी स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत भएर जाने र एक–डेढ वर्षमाअतिरिक्त आम्दानी गरेर सामान्यमै फर्किने उपसचिव पनि उल्लेख्य रहेका छन । जसमध्येउपसचिव राजुराम कडरिया पनि एक हुन् । उनी सामान्यमा लामो समय बिताउने भाग्यमानी कर्मचारीभित्र पर्दै आएका छन् । उपसचिव हरि प्रसाद ज्ञवाली पनि पाँच वर्ष भन्दा बढी समयदेखि सामान्यमै रहेका छन। उनी सहसचिव बढुवाको लाइनमा रहेको स्रोत बताउँछ।


शाखा अधिकृत पनि जब्बर
यसैगरी, शाखा अधिकृतहरु केशवराज पाण्डे,बाबुराम भट्टराई,गणेश प्रसाद आचार्य पनि पाँच वर्ष भन्दा बढी समयदेखि उक्त मन्त्रालयमा जरोकिलो गाडेर बसेका छन्। नेपाल निजामती कर्मचारी संगठनका उपमहासचिव रामचन्द्र अधिकारी (आरसी) कर्मचारी सरूवामा चलखेल र उठ्तीपुठ्ती गर्नेचल्तापूर्ता कर्मचारीको रुपमा चर्चित छन्। उनले पनि सामान्यमा लामो समयदेखि डेराडण्डा जमाएर बसेको आरोप कर्मचारीले लगाएका छन । 


सामान्यका रैथाने केही कर्मचारीहरूको अर्काे धन्दा लोकसेवा दिनेहरुका लागि तयारी पढाउनु रहेको छ । सामान्यमा बस्यो,जागिर खायो,कार्यालय समय र बिहान–बेलुकासमेत सरकारी गाडी चढेर पुतली सडक,बागबजार र नयाँ बानेश्वरकाइन्स्टिच्युटहरुमा पढाउन पुग्ने गरेका छन् । जसबाट दिनकै पाँच हजार बढी रकम आम्दानी गर्दै आएका छन। यसकारण पनि उनीहरु खटाएको ठाउँमा नजाने र अक्सर सामान्यमा नै बसेरकमाउनेअवसर छोप्दै आएका छन् । साथै, लोक सेवा परीक्षाको कोर्ष किताब लेखेर प्रकाशकलाई बेचेर पनि केही कर्मचारीहरु मालामाल हुँदै आएका छन् ।


अकुत सम्पत्तिबाट जोगिने जुक्ति 
केही अधिकृत कर्मचारीको समूह भने संघीय राजधानी नछोड्ने, खुला प्रतिस्पर्धाबाट नाम निकालेर कम उमेरमा नै बढुवा हुने ध्याउनमा लागेका छन् ।त्यसपछि मालदार, आकर्षक कार्यालयमा सरूवा मिलाएर जाने र सेटिङ मिलाएर रकम उठाएर मालामाल हुनेमा ध्यान केन्द्रित गर्दै आएका छन । केहीले अकुत सम्पत्ति कमाएको भएपनि जोगिनको लागि किताव बेचेको आम्दानी र पढाए बापतको आम्दानी देखाएर उम्किदै आएको कर्मचारी स्रोतको भनाई रहेको छ ।


यस्ता कर्मचारीविरुद्धमन्त्री अनिता, सहसचिव सुमन दाहाल,सचिव विनोद प्रकाश सिंहले यस्तो प्रवृत्ति, सोच राख्ने रैथाने कर्मचारीको सेटिङ भत्काउनेतर्फ कुनै ध्यान नदिएको गुनासो मन्त्रालयभित्र व्याप्त रहेको छ। बिना घुस र मन्त्रीको पावर बिना सामान्यबाट अन्तर मन्त्रालय,पायक पर्ने निकाय र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा हुन निकै कठिन रहेको भुक्तभोगी कर्मचारीहरू बताउछन् । (साँघु साप्ताहिक, २०८० मंसिर ११)
 

प्रतिकृया दिनुहोस