काठमाडौं । प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डले गएको २०८० भदौ अन्तिम साता अमेरिको भ्रमणमा निस्किएका थिए । त्यसपछि उनले उतैबाट चीनको समेत भ्रमण गरेका थिए । उक्त भ्रमणमा जानु अघि प्रधानमन्त्री प्रचण्डले तीनजना सहसचिवहरूलाई महत्वपूर्ण जिम्मेवारी दिनेगरी मन्त्रिपरिषल बैठकबाट निर्णय गराएका थिए । त्यसले कर्मचारी प्रशासनमा भने खलबल मच्चाएको छ ।
परराष्ट्र मन्त्री नारायण प्रसाद साउदको सहमति नलिई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कार्यरत रहेकै अवस्थामा महानिर्देशक तारानाथ अधिकारीलाई भारतको दिल्लीस्थित दूतावासमा मिनिष्टर इकोनोमी र सहसचिव सुरेश राउतलाई चीनस्थित छिन्दुको महावाणिज्यदूत बनाउने गरी परराष्ट्र मन्त्रालयमा सरूवा गरेका थिए ।
त्यसैगरी, एक वर्षे अध्ययन विदामा चीनमा पढ्न गएका कार्यक्षमता अति कमजोर रहेका सहसचिव पुष्ष बहादुर शाहीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारीमा सरूवा गरेर निजामती प्रशासनको खिल्लाी उडाउने काम गरेको आरोप छ ।
नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव उद्योग मन्त्री हुँदा शाही मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका थिए । त्यसपछि बालकृष्ण खाण गृह मन्त्री हुँदा उनी त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको प्रमुखको जिम्मेवारीमा पुगेका थिए ।
अध्यागमन कार्यलयमा कार्यरत रहँदा कार्यशैलीका कारण बदनाम हुन पुगेका थिए । दुई नम्बरी काम गर्ने व्यवसायीहरूसँग उनको सम्बन्ध निकै घनिष्ठ बनाएको भनेर आलोचित हुन पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्ड र सचिवालयमा स्वकीय सचिव रहेकी छोरी रेणु दाहाललाई खुसी बनाएर विभागको नेतृत्वमा पुग्न सफल भएको चर्चा प्रधानमन्त्री कार्यालयमा चल्ने गरेको छ ।
यसैगरी सहसचिव सुरेश राउतले रामेश्वर राय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुँदा उनको निजी सचिव भएर काम गरेका थिए । त्यहीबेला उनको सहसचिवमा बढुवा भएपछि करिब तीन महिना जति तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई खुसी बनाएर महानिर्देशक बन्न पुगेका थिए ।
तर, जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मन्त्री यादवलाई हटाएर नेता इश्तियाक राईलाई मन्त्रीको जिम्मेवारीमा पठाएका थिए । राईले मन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै राउतलाई प्रदेश सचिवमा सरूवा गरेका थिए ।
उनै राउतलाई अहिले अर्थमन्त्री डा. कृष्णहरि पुस्कर र केही मधेशवादी दलका नेताहरुको दवावमा विशेष सर्त स्वीकारेर छेन्दुमा पठाउने गरी परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ । भारत निकट रहेका राउतलाई चीनको छिन्दुको महावाणिज्यदूत बनाएर चीनमा जासुसी गर्न पठाएको चर्चा पनि बाहिर आएको छ ।
(साँघु साप्ताहिक, २०८० असोज २२)



