(नेपालीकोमात्र यस्तो हुन्छ वा विदेशीहरूको पनि यस्तै हुन्छ थाहा भएन तर अधिकांश गाडीलाइनमा आएका गुरुजीहरू पछुतो मान्छन् । किन आइएछ भनेर पो चित्त दुखाउँछन् । धेरैजसो युवाहरू रहरले यो लाइनमा हामफाल्छन् र फुर्सदमा पछुताउँछन् । त्यही फुर्सदमा पछुताउने युवामा पर्छन् ओखलढुंगाका रेखबहादुर बुढाथोकी । ३२ वर्षे यी युवाले गाडीलाइनमा समय बिताएको १९ वर्ष भइसकेको छ । यति लामो समयसम्म यही लाइनमा टिकेर पनि बुढाथोकीलाई त्यस्तो किन लाग्यो कि यो लाइन ठीक छैन । बा ४ ख १४५६ नम्बरको गाडीका चालक बुढाथोकीको यो यात्राका बारेमा साँघु प्रतिनिधिले सडक पाइलटसंगको अन्तरंगमा गरेको कुराकानीको यो मुख्य अंश–सम्पादक)
० कति भयो यो लाइनमा लागेको ?
–भयो १९ वर्ष ।
० कति वर्षको उमेरमा लाग्नुभयो ?
–३२ वर्षको भएँ । १३ वर्षको उमेरबाटै यो लाइनमा आएँ ।
० कति पढेर छाड्नु भयो ?
–८ कक्षा पढ्दै थिएँ साथीहरूको संगतमा परेर छाडिदिएँ ।
० अहिले पछुतो लाग्दैन ?
–लाग्छ नि । तर अहिले त पैसा कमाउन थालेपछि पढाई अगाडि बढाउने भन्ने सोच नै आएन ।
० पढ्न छाडेपछि के गर्नुभयो ?
–साथीसंग काठमाडौं आएँ ।
० भागेर ?
–हो । साथीसंग भागेर आएँ । अहिले दुवै जना यही गाडी लाइनमा छौं ।
० कसरी छिर्नुभयो गाडी लाइनमा ?
–ढोकामा बसें । साँढे ३ बर्षजति खलासी भएर काम गरें ।
० कस्तो हुँदो रहेछ खलासी बन्दा ?
–के हुनु नि सबैले गाली मात्रै गर्छन् । राम्रो व्यवहार गर्दैनन् । राम्रो व्यवहार नगरेपछि के राम्रो भन्नु । सम्मान भन्ने त एक रत्ति पनि नगर्ने । यात्रुले पनि गाली गर्ने ट्राफिक प्रहरीले पनि गाली गर्ने ।
० खलासीपछि के गर्नुभयो ?
–गाडी चलाउन थालें । मैले १५ वर्षबढी गाडी चलाएछु । ११ वर्ष गाडी चलाएर २६ महिना साउदीमा बसेर आएँ ।
० के गर्नुभयो साउदीमा ?
–त्यहाँ पनि गाडी नै चलाएँ । तर, कम्पनी खत्तम परेछ छिट्टै फर्किएँ ।
० कस्तो छ त्यहाँ गाडी चलाउन र यहाँ गाडी चलाउन ?
–आकाश पातालको फरक छ । त्यहाँ सिस्टम छ । यहाँ सिस्टम छैन । त्यहाँ ट्राफिक प्रहरीले सम्मान गर्छ । यहाँ ड्राइभरको सिटमा बस्नेलाई ट्राफिक प्रहरीले अपराधी झैं ठान्छ ।
० किन त्यस्तो भयो ?
–सिस्टम नभएर । कुनै दुर्घटना भयो भने हामीलाई अपराधीको दर्जाले हेरिन्छ । त्यहाँ सम्मानसाथ अनुसन्धान गर्छ ट्राफिक प्रहरीले । यहाँ त ट्राफिक प्रहरीले ठूलो गाडीका ड्राइभरलाई अपराधी बनाउँछ । यहाँ त सानो दुर्घटना हुँदा पनि ड्राइभरलाई ज्यान जोगाउन गा¥हो हुन्छ । भीडले हानेर मार्न बेर लगाउँदैन । गल्ती भयो भने त्यसै अनुसार कार्वाही हुनुपर्छ । कानून हातमा लिन पाइन्छ ?
० अनि ड्राइभरले जानीजानी दुर्घटना गरायो भन्छन् नि त ?
–त्यो अरोप गलत हो । कसैले आफ्नो ज्यान दाउमा राख्छ ? केही कमाइ हुन्छ भनेर यो लाइनमा लागिएको हो । अपराध गर्न होइन ।
० आजकालका युवाहरू बढी गाँजा खान्छन् र लापरवाही गर्छन् भन्छन् नि ?
–त्यस्ता पनि छन् । गाँजा खानेहरू बढी छन् । त्यो भन्दैमा हामीजस्ता निर्दोष सबैलाई एकै ठाउँमा मुछ्न त भएन नि । कार्वाही गर त्यस्ता गाँजा खानेलाई ।
० कस्तो रै’छ गाडीलाइन ?
–गाडी लाइन त खत्तमै छ । राम्रो छैन । कुनै कुराको ठेगान छैन । ज्यानको पनि ठेगान छैन । तर, यही काम गरेर अगाडि आइयो । कमाइ घट्यो ।
० विदेशबाट आएपछि गाडी किनेर चलाउँ भन्ने लागेन ?
–गाडीलाइन अब काम छैन । पैसा लगानी गर्ने त झन् वातावरण नै छैन । सिन्डिकेट हटेपछि त झन् बढी प्रतिस्पर्धा भयो । एउटै रुटमा धेरै गाडी । सुविधाजनक ठाउँमा मात्र बढी गाडी भए । सिन्डिकेट हटेर गाडी नपुगेका ठाउँमा गएन ।
० के रै’छ त ड्राइभरको जिन्दगी ?
–बेकार रहेछ हाम्रँे जिन्दगी † नसिकुञ्जेल र ड्राइभरको कुर्सीमा नबसुञ्जेल के के न हो जस्तो लाग्ने । तर, गाडी चलाउन थालेपछि खत्तम !
० अब के गर्ने सोच छ त ?
–फेरि विदेश जानुपर्ला । जाने खाडी नै हो । अन्त त कहाँ जान सकिन्छ र ?
० विदेश जान नसके ?
–विदेश जान नसके घरतिरै फर्किने हो ।
० सरकारले केही गर्छ कि ?
–सरकारले केही नगरेकैले त यो दुर्दशा आएको हो । सरकारले केही गर्ला भन्ने आशा छैन ।
० गाडी लाइन सुधार्न के गर्नुपर्ला त ?
–सोर्सफोर्स बन्द गर्नुप¥यो । नीतिनियमलाई सबैले पालना गर्नुप¥यो । सबैलाई समान नियम लगाउनु प¥यो ।



