झापा, १३ असोज । प्रतिबन्धित लागूऔषधसहित एक महिला र एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका वडा नं.४ घर बताउने २१ वर्षीय उत्तम दर्जी र इलाम जिल्लाको सुर्योदय नगरपालिका वडा नं.२ घर बताउने २० वर्षीय सन्ध्या बिश्वकर्मा रहेका छन् ।
मिति २०८० असोज १३ गते झापाको बिर्तामोड नगरपालिका वडा नं.५ स्थित त्रिवेणी होटल एण्ड लजमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले खानतलासी गरेको थियो ।
सोही क्रममा दर्जी र बिश्वकर्मा बसेको उक्त होटल लजको कोठा नं.१ को बेडमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर १ ग्राम ९०० मिलिग्राम र निजहरुको साथबाट नेपाली नगद रु.५,५००।–सहित मोवाइल सेट ३ थान बरामद गरेको छ ।
दुवै जनालाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



