• शनिबार-श्रावण-१२-२०८१

तीन महिनासम्म तलब नपाउँदा पत्रकारको बिजोग  

 

काठमाडौं । नेपाल न्युज नेटवर्कद्वारा प्रकाशित अन्नपूर्ण राष्ट्रिय दैनिकमा कार्यरत पत्रकारले २०८० भदौ महिना कट्दासम्म तलव नपाएको तीन महिना पुगेको छ । लामो समयसम्म पारिश्रमिक नपाएपछि अन्नपूर्णका पत्रकार यता न उताको अवस्थामा छन् । तीन महिनासम्म तलव नपाएका कारण इन्तु न चिन्तुको अवस्था भएको भन्दै अन्नपूर्णको राजनीतिक व्युरोका एक पत्रकारले साँघुलाई बताए । ती पत्रकारका अनुसार कोरोना महामारीका बेलाको हालत दोहोरिएको छ । असारदेखिकै  तलव बाँकी रहेको बताइएको छ । तलव नपाउँदा समाचार सङ्कलन र सम्प्रेषणमा खटिनु त परै जाओस् कार्यालयसम्म पुग्न पनि पेट्रोल र गाडी भाराको समस्या भएको कार्यरत पत्रकार बताउँछन् । ‘भदौ सकिएको छ, २०८० असोज सुरु भएको छ । 

 


तर, तलव नपाएको तीन महिना भएको छ । असार यता पैसाको मुख देख्न पाइएको छैन,’ ती पत्रकारले भने । यही अवस्था केही दिन लम्बिए नेपाल पत्रकार महासंघ गुहार्न जाने मानसिकतामा पत्रकार पुगेको बताइन्छ । अन्नपूर्णमा कार्यरत पत्रकारको यतिबेला भात भान्सा चलाउनै हम्मेहम्मे परेको बताउछन् । दशैंको मुखैमा तलव नपाएका कारण दैनिक जीवन सञ्चालन गर्नै हम्मे भएको अन्नपूर्णमा कार्यरत अर्का पत्रकारको गुनासो छ । 

 


‘दैनिक भात, तरकारीकै समस्या हुने छाँट देखिइसक्यो । घरखर्च चलाएर बालबच्चा पाल्नको कठिनाइले गाउँफर्क अभियान होला जस्तो छ,’ ती पत्रकार भन्छन्, ‘लामो समयदेखि कोठा भाडा र खाद्यान्नको बाँकी तिर्न नसकेर मुख देखाउनै लाज हुने अवस्था छ । कोरोनाकालमा जस्तो तन्नम् अवस्थाबाट गुज्रिनुपरेको अवस्था हो ।’ पत्रकारले तलव नपाएको विषयमा अन्नपूर्णका सम्पादकले समाधानको पहल नगरिदिएको गुनासो कार्यरत पत्रकारको छ । ‘सम्पादक चाँडो हुन्छ, चाँडो हुन्छ मात्र भन्नुहुन्छ । तर, असोज सुरु भयो, कहिले हुन्छ भनेर ठ्याक्क भन्नसक्नुहुन्न । व्यवस्थापकसँग सहजीकरण गरेर समाधानमा जाने भन्दा आफ्नो जागिर लम्ब्याउनेतिर ध्यान भएको चाल बुझ्न सकिन्छ,’ ती पत्रकार गुनासो गर्छन् ।  

 


चरम गरिबीको चपेटामा परी पत्रकारको हालत खराव हुँदा पनि सम्पादकलाई किन श्रमजीवीको पक्षमा उभिन सकस भएको हो भनेर बुझिनसक्नु भएको दर्द समेत अन्नपूर्णका पत्रकार पोख्छन् । यद्यपि अन्नपूर्णका पत्रकारले सामुहिक रुपमा सम्पादक र व्यवस्थापकसँग खुलेर कुरा नगरेको बताइन्छ । अन्नपूर्णका पत्रकारका लागि श्रमजीवी पत्रकार ऐनले तोके अनुसारको सेवा, सुविधा र शर्तले काम नगरेको गुनासो समेत छ । (साँघु साप्ताहिक, असोज १)

प्रतिकृया दिनुहोस