सिरहा जिल्लाको सिरहा नगरपालिका ७ स्थित शिवचोकबाट साउन १७ गते सशस्त्र प्रहरीले करिब १८ लाख ७५ हजार रुपैयाँ बराबरको एक सय कार्टुन अवैध कुखुराको चल्ला र बलेरो पिकअप गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिएकाे छ ।
सोही जिल्लाको गोलबजार नगरपालिका १० धरमपुर बस्ने २० वर्षीय पवन सदाय र १८ वर्षीय लजे मुखियालाई सदरमुकाम सशस्त्र प्रहरी बलकाे सुरक्षा वेश सिरहाले नियन्त्रणमा लिएको हो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स १ च १६८४ नम्बरको बलेरो पिकअप गाडीमा राखी ल्याउँदै गरेको उल्लेखित मूल्यको ५ हजार वटा कुखुराको चल्ला सहित उनीहरुलाई नियन्त्रणमा लिईएको बताएकाे छ । सशस्त्र प्रहरीका अनुसार, उनीहरु उक्त गाडीको चालक तथा सहचालक रहेका छन् ।
नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद चल्ला तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय माडर सिरहामा बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।
तस्करीका मोबाईलका कभर तथा एक्ससेरिज बरामद
रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका ४ बसन्तपुर बाईपास रोडबाट २०८० साउन १७ गते सशस्त्र प्रहरी बलले करीव ५ लाख ४२ हजार ४ सय रुपैयाँ बराबरको आईफोन मोबाईलका कभर तथा एक्ससेरिजहरु बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा प्रस्तावित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीले सोही ठाउँमा रहेको एक स्थानीयको घरको सटरमा तीनवटा कार्टुनमा राखिएको उल्लेखित सामान फेला पारेको हो । बरामद तस्करीका सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको सशस्त्र प्रहरी बलले जानकारी दिएकाे छ ।
तस्करीका विभिन्न सामानसहित ट्याक्टर नियन्त्रणमा
झापा जिल्लाको कचनकवल गाउँपालिका १ स्थित पथरीयाबाट करीव १० लाख ३ हजार रुपैयाँ बराबरको विभिन्न सामान तथा ट्याक्टर सशस्त्र प्रहरीले साउन १६ गते नियन्त्रणमा लिएको छ ।
मे १ त ७२८९ नम्वरको ट्याक्टरमा प्रस्तावित सीमा सुरक्षा गुल्म घेराबारीले शंका लागि जाँच गर्दा हार्डवेयरका सामान, टनेलपाल तथा प्लाष्टिकका बट्टाको विलविजक नभएको पाईएपछि नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिईएको सामान तथा ट्याक्टर आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय चन्द्रगढी झापामा बुझाईएको सशस्त्र प्रहरी बलले जानकारी दिएकाे छ ।



