🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

करोडौँ खर्च भइसक्दा पनि जोमसोम कभर्ड हल निर्माण अधुरो, ६ वर्ष बित्दा पनि ४०% मात्रै प्रगति

मुस्ताङ, १७ वैशाख : यहाँको घरपझोङ गाउँपालिका-४ जोमसोममा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल दुई वर्षदेखि अलपत्र पर्दै आइरहेको छ । सरकारले दीर्घकालीन महत्वको ‘एक स्थानीय तह एक खेलग्राम’सहितको कभर्ड हल पूर्वाधारका लागि बहुवर्षीय आयोजना अघि बढाएको हो ।

हाल उक्त निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल बजेट विनियोजन नहुँदा अलपत्र परेको छ । आव २०७६/७७ मा जोमसोममा सुविधा सम्पन्न दुईतले बहुउद्देश्यीय कभर्ड हल निर्माण सुरु गरिएको थियो । सङ्घीय, प्रादेशिक र स्थानीय तहको संयुक्त लागत साझेदारीमा निर्माणाधीन जोमसोमस्थित बहुउद्देश्यीय कभर्ड हल विगत दुई वर्षदेखि रोकिएको छ ।

कभर्ड हलको लागत रु छ करोड ५८ लाख तय गरिएको छ । इनडोर खेलमैदानलगायत विभिन्न पूर्वाधारको व्यवस्थापन गर्ने गरी निर्माण थालनी गरिएको जोमसोमस्थित बहुउद्देश्यीय कभर्ड सङ्घ, प्रदेश र स्थानीय तहको टुक्रे बजेट र समयमा आवश्यक बजेट नहुँदा निर्माण सम्पन्न हुन बिलम्व भएको हो ।

समयमा बजेट सुनिश्चितता नहुने, विनियोजित रकम लागत अनुपातभन्दा न्यून बजेट हुँदा कर्भड हल निर्माणले गति लिन नसकेको घरपझोङ गाउँपालिकाका इन्जिनियर चक्र बमले जानकारी दिनुभयो । आयोजना सुरु भएको छ वर्ष बितिसक्दा यसको भौतिक प्रगति ४० प्रतिशत रहेको उहाँले उल्लेख गर्नुभयो । निर्माणाधीन कभर्डहल आयोजना कार्यान्वयनमा आएको पहिलो वर्ष सङ्घीय सरकारबाट रु ४० लाख, प्रदेशबाट रु ५० लाख र घरपझोङ गाउँपालिकाको समपूरक बजेट रु १५ लाख लागत साझेदारी गरिएको थियो ।

यसैगरी आव २०७७/७८ मा प्रदेश सरकारबाट रु २५ लाख र स्थानीय तहबाट रु १७ लाख गरी रु ४२ लाख बजेट विनियोजन भएपछि कभर्ड हल निर्माणलाई निरन्तरता दिइएको थियो । “आव २०७८/७९ मा सङ्घ, प्रदेश र स्थानीय तहबाट गरी रु ३२ लाख बजेट विनियोजन भएको थियो । आव २०८०/८१ मा पनि सङ्घीय सरकारबाट रु ३२ लाख र स्थानीय तहको समपूरक बजेट रु २० लाख गरी रु ५२ लाख बजेट परेको थियो”, इन्जिनियर बमले भन्नुभयो । पछिल्लो समय घरपझोङमा निर्माणाधीन कभर्ड हलमा रु दुई करोड बढी बजेट खर्च भइसकेको उहाँले जानकारी दिनुभयो ।

निर्माण सुरु भएको छ वर्ष पुग्दा कभर्ड हलमा दर्शक बस्नका लागि प्यारापिट र भुइँतला ‘स्टे«क्चर’ निर्माण भएका छन् । समग्रतामा कभर्ड हलको दुई तला स्टक्चर उठिसकेको छ । हलको भित्र र बाहिरका कभर्डमा विभिन्न कक्षको कोठाका संरचना तयार भएका छन् । कभर्ड हलमा फलामे ढोका पनि जडान गरिएको छ ।

जोमसोम खेल मैदानमा ७०० देखि ८०० दर्शक अट्ने गरी निर्माण भइरहेको इन्जिनियर बमले जानकारी दिनुभयो । दुई तले कभर्ड हलको नमूना डिजाइन प्रदेश सरकारले पठाएपछि घरपझोङ गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको थियो ।

उहाँका अनुसार यसको लम्बाइ ४५ मिटर र चौडाइ २५ मिटर हुनेछ । जोमसोममा निर्माणाधीन दुई तले कभर्ड हलमा इन्डोर भलिबल खेल मैदान, अफिस कोठा, परिवर्तन कक्ष (चेन्जिङ रुम), प्यारापिट, भिआइपी कक्ष, मेडिकल हल, शौचालयलगायत पूर्वाधार निर्माण हुने योजना छ ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले कभर्ड हल निर्माण सम्पन्न गर्नका लागि सङ्घीय र प्रदेश सरकारसँग बजेट माग गरिए पनि पछिल्लो समय बजेट विनियोजन हुन नसकेका बताउनुभयो । स्थानीय तहले चाहेर पनि कभर्ड हल निर्माण सम्पन्न गर्न नसक्ने भएकाले उपल्लो निकायको ध्यानाकर्षण गराउँदै आइएको उहाँको भनाइ छ ।

मुस्ताङका पाँच स्थानीय तहमा सुविधा सम्पन्न इन्डोर खेल मैदान (कभर्ड हल) नहुँदा यहाँ विभिन्न खेलकुदकम कार्यक्रम आयोजना गर्न निकै कठिनाइ हुँदै आएको थियो । समुद्री सतहबाट दुई हजार ७०० मिटर उचाइमा अवस्थित मुस्ताङको जोमसोममा दिउँसो १२ः०० बजेपछि बेजोडले हावाहुरी चल्ने हुँदा यहाँ आउट डोर खेल सञ्चालन गर्न कठिन हुन्छ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *