🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारत–नेपाल सम्बन्धमा फेरि चिसोपनको संकेत : विक्रम मिस्रीको काठमाडौं भ्रमण रद्द ?

काठमाडौं, १७ वैशाख । भारत–नेपाल सम्बन्धमा पछिल्लो समय सुधारको संकेत देखिएको भनिए पनि नयाँ घटनाक्रमले फेरि कूटनीतिक चिसोपन बढ्ने संकेत गरेको छ । भारतीय विदेश सचिव विक्रम मिस्रीले यही २०८३ वैशाख २८–२९ गते नेपाल भ्रमण गर्ने तयारी भएको समाचार सार्वजनिक भएको थियो । तर, नयाँ दिल्लीस्थित स्रोतका अनुसार, विकसित पछिल्लो परिस्थिति पछि मिस्रीको प्रस्तावित काठमाडौं भ्रमण हालका लागि स्थगित भएको छ ।

सार्वजनिक विवरणहरूमा मिस्रीको भ्रमण प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारसँग भारतको पहिलो उच्चस्तरीय कूटनीतिक सम्पर्क हुने बताइएको थियो । केही भारतीय र नेपाली सञ्चारमाध्यमले मिस्री काठमाडौं आएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिने तयारी भएको उल्लेख गरेका थिए । सो भ्रमणका क्रममा प्रधानमन्त्री शाह, प्रमुख मन्त्रीहरू र नेपाली समकक्षीसँग भेटवार्ता हुने बताइएको थियो ।

तर, साँघु न्यूज डटकमको न्यू दिल्ली स्रोतका अनुसार, प्रधानमन्त्री शाहले भारतीय विदेश सचिवसँग औपचारिक भेटवार्ता गरी निम्तो ग्रहण गर्ने, भारत भ्रमणको मिति तय गर्ने र त्यसलाई तत्काल अघि बढाउने विषयमा सकारात्मक संकेत नदिएपछि मिस्रीको काठमाडौं भ्रमण रोकिएको हो । स्रोतको दाबी अनुसार, दिल्लीले प्रधानमन्त्रीस्तरको भ्रमणका लागि वातावरण बनाउन खोजे पनि काठमाडौंको राजनीतिक नेतृत्व तत्काल भारत भ्रमणको तालिका बनाउन तयार देखिएको छैन ।

भारतीय पक्षले मिस्रीको भ्रमणलाई सामान्य कूटनीतिक अभ्यासका रूपमा अघि बढाउन खोजेको बुझिएको थियो । तर, प्रधानमन्त्रीस्तरको सम्भावित भ्रमणसँग जोडिएका विषयमा स्पष्टता नआउँदा विदेश सचिव तहको भ्रमण नै अनिश्चित बनेको स्रोत बताउँछ । यसबारे नेपाल र भारत दुवै पक्षबाट औपचारिक पुष्टि भने भइसकेको छैन ।

मिस्रीको भ्रमणलाई भारतले आफ्नो ‘नेबरहूड फर्स्ट’ नीतिअन्तर्गत नयाँ सरकारसँग सम्बन्ध मजबुत बनाउने अवसरका रूपमा हेरेको थियो । भारत, चीन र अमेरिकाबीच नेपालमा बढ्दो कूटनीतिक सक्रियताबीच मिस्रीको प्रस्तावित भ्रमणलाई विशेष अर्थका साथ हेरिएको थियो । भारतीय सञ्चारमाध्यमहरूले पनि नयाँ सरकार गठनपछि भारतले काठमाडौंसँग उच्चस्तरीय संवाद अघि बढाउन लागेको उल्लेख गरेका थिए ।

स्रोतहरूका अनुसार, दिल्लीले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नयाँ राजनीतिक समीकरणपछि दुई देशबीच विश्वास पुनर्निर्माण गर्ने अवसरका रूपमा लिन चाहेको थियो । सीमा, व्यापार, ऊर्जा, पूर्वाधार, सुरक्षा चासो, हवाई मार्ग, जलस्रोत तथा आपसी विश्वासका प्रश्न लामो समयदेखि द्विपक्षीय सम्बन्धका संवेदनशील एजेण्डा रहँदै आएका छन् । यस्तो अवस्थामा भारतीय विदेश सचिवको भ्रमणले प्रधानमन्त्रीस्तरको भ्रमणको आधार तयार पार्ने अपेक्षा गरिएको थियो ।

तर, प्रधानमन्त्री शाहको तर्फबाट तत्काल भारत भ्रमण स्वीकार गर्ने स्पष्ट वातावरण नबनेपछि दिल्लीमा असहजता बढेको स्रोतको भनाइ छ । विशेषगरी, भारतीय प्रधानमन्त्री मोदीको निम्तो बोकेर आउने भनिएका विदेश सचिवसँग भेटघाट नै सुनिश्चित नहुने अवस्था बनेपछि भ्रमण स्थगित गर्नुपर्ने निष्कर्षमा भारतीय पक्ष पुगेको दाबी गरिएको छ ।

कूटनीतिक जानकारहरूका अनुसार, विदेश सचिव तहको भ्रमण अचानक स्थगित हुनु सामान्य घटना होइन । अझ, यदि भ्रमण प्रधानमन्त्रीस्तरको निम्तो हस्तान्तरण र उच्चस्तरीय राजनीतिक संवादसँग जोडिएको हो भने त्यसले सम्बन्धमा असहज सन्देश दिन सक्छ । यद्यपि, औपचारिक रूपमा भ्रमणको घोषणा नै नभएको अवस्थामा दुवै देशले यसलाई ‘तालिका मिलाउने प्रक्रियामा रहेको विषय’का रूपमा व्याख्या गर्न सक्ने सम्भावना पनि छ ।

नेपाल–भारत सम्बन्ध खुला सीमा, जनस्तरको सम्बन्ध, व्यापारिक निर्भरता, सुरक्षा चासो र ऐतिहासिक राजनीतिक सम्पर्कले अत्यन्त संवेदनशील छ । त्यसैले सानो कूटनीतिक संकेतले पनि काठमाडौं र दिल्ली दुवैमा ठूलो राजनीतिक अर्थ राख्ने गर्छ । मिस्रीको भ्रमण रोकिएको दाबीले अब प्रधानमन्त्री शाहको भारत भ्रमण, परराष्ट्रमन्त्रीस्तरीय संवाद र दुई देशबीचको आगामी उच्चस्तरीय सम्पर्कबारे थप अन्योल सिर्जना गरेको छ ।

यसअघि सार्वजनिक समाचारहरूमा भारतीय विदेश सचिव मिस्री वैशाख २८–२९ गते अर्थात् मे ११–१२ मा नेपाल आउने तयारी रहेको उल्लेख गरिएको थियो । भ्रमणका क्रममा द्विपक्षीय सम्झौताहरूको कार्यान्वयन प्रगति, प्रधानमन्त्रीस्तरको भ्रमणको तयारी र नयाँ सरकारसँग भारतको औपचारिक संवाद प्रमुख एजेण्डा हुने बताइएको थियो ।

नयाँ दिल्ली स्रोतका अनुसार, भारतले अझै संवादको ढोका बन्द गरेको छैन । तर, प्रधानमन्त्री शाहबाट स्पष्ट कूटनीतिक संकेत नआएसम्म विदेश सचिव तहको भ्रमण अघि बढाउनु उचित नहुने बुझाइ भारतीय पक्षमा बनेको छ । यसले नेपाल–भारत सम्बन्धमा फेरि ‘प्रतीक्षा र परीक्षण’को अवस्था सिर्जना गरेको छ ।

नेपालको नयाँ सत्ता समीकरण, प्रधानमन्त्री शाहको स्वतन्त्र राजनीतिक शैली र ठूला शक्तिहरूको बढ्दो कूटनीतिक सक्रियताबीच दिल्लीले काठमाडौंलाई नजिकबाट नियालिरहेको छ । यस्तो बेला मिस्रीको भ्रमण रोकिएको खबरले भारत–नेपाल सम्बन्धमा नयाँ चिसोपन सुरु भएको हो कि भन्ने प्रश्न उठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *