१) केही अपवाद छाड्ने हो भने अहिले भारतीय पत्रपत्रिका र संचार माध्यमहरु एक स्वरले नेपालको र खासगरी बालेनको विरुद्धमा लागेका छन् । तिनले भारतले आफ्नो संसद भवनमा अखण्ड भारतको नाम दिएर इतिहास तोडमरोड गरेको कुरा गर्दैनन् । अखण्ड भारतको नक्साको सन्दर्भमा त्यो नक्सा कहिलेको हो भन्नेकुरा लेखिएको छैन भन्नेकुरा पनि उनीहरुले अर्थात ती एकपक्षीय नेपाल विराेधी भारतीय मिडियाले उठाउँदैनन् । तर, बालेन शाहले आफ्नो कार्यकक्षमा विशाल नेपालको नक्सा राखेको कुरामा भने उनीहरु आक्रोस प्रकट गर्छन् । अखण्ड भारतको नक्सामा देखाइएका छिमेकी मुलुकहरुका भूभागहरु भारतले बल प्रयोग गरेर आफ्नो कब्जामा लिनुपर्छ भनेर समेत उनीहरु भन्छन् ।
अर्कातिर, भारतले नेपालको भुभागलाई अखण्ड भारतको नक्सामा देखाउँदा पनि नेपालका कथित ठूलो लगानीका कथित ठुला मिडियाहरु धेरैजसोले भारतले ज्यादती गरेको ठान्दैनन्, बालेनले कार्यक्षेत्र नाघेर विशाल नेपालको नक्सा राखेको भनेर बालेनको विरोधमा अनर्गल प्रचारबाजी र "स्टन्ट" गर्न रुचाउँछन्। लाग्छ, नेपालमा देशलाई मायाँ गर्नेहरुले ठुला भनिने मिडिया चलाउन सकेका वा पाएका छैनन् । रवि लामिछानेले १२ भाइ भनेर किन भने भन्नेकुरा खासै स्पष्ट भएको छैन तापनि १२ भाइ भनिनेहरुमध्ये धेरैजसोको निष्ठा देशप्रति होइन, देशलाई कमजोर पार्न चाहने वा अरुको गुलाम बनाउन चाहने शक्तिहरुप्रति रहेको जस्तो डरलाग्दो अवस्था अहिले मुलुकमा विद्यमान रहेको विश्लेषकहरुको मत छ।
२) हालै भारतीय फिल्म "आदिपुरुष" मा सीता भारतकी छोरी हुन् भनेर नेपालको सार्बभौमसत्ताको अपमान गर्न खोजेको भनेर काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन शाहले उक्त फिल्मबाट सीता भारतमा जन्मेकी हुन् भन्नेकुरा नहटाएसम्म फिल्मलाई काठमाण्डौं महानगरभित्र चल्न नदिने घोषणा र निर्णय गरेका थिए ।
फिल्मले उक्त बाक्याँश हटाउन अस्वीकार गरेपछि बालेनले उक्त सिनेमा चलाउन नदिने निर्णय गरे । आदिपुरुषका निर्माता मनोज मुंतशिरले नेपाल सन् १९०३ सम्म भारतकै भूभाग थियो भनेर नेपाल र नेपालीको थप अपमान गरे । बालेनले काठमाण्डौंमा हिन्दी फिल्म चलाउन नदिने निर्णय गरेपछि अदालतमा मुद्दा पर्यो र अदालतले हिन्दी फिल्म नरोक्न आदेश दिने निर्णय गर्यो ।
अदालतको आदेशबाट देशभक्त नेपालीहरु आश्चर्यचकित भए । नेपालमा हिन्दी फिल्म नचल्दा नेपालमा हिन्दी फिल्ममार्फत भइरहेको सांस्कृतिक अतिक्रमण कमजोर भएर राष्ट्रलाई फाइदा पुग्ने अवस्था थियो । तर, अदालतले नेपालमा हिन्दी फिल्म चल्न दिनुपर्छ भनेछ। भारतीय मिडिया र भारतीय फिल्म एवं भारत सरकारको चाहना अनुसारको निर्णय नेपालको अदालतबाट हुन पुग्यो।
अर्कातिर नेपालको सेन्सर बोर्डले त आदिपुरुषको प्रदर्शन गर्न दिने निर्णय नै गर्यो। सरकारी अधिकारीहरुले नेपालको हित र नेपालीको चाहना अनुसार सीता भारतकी छोरी हुन् भन्नेकुरा नराखीकन भारतमा उक्त फिल्मको प्रदर्शन भइरहेको छ भन्नेकुराले नेपालको सेन्सर बोर्डलाई असर पारेन। सेन्सर बोर्डले भारतीय फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेकोमा बालेनप्रति नै असन्तुष्टि प्रकट गर्यो ।
नेपालको सेन्सर बोर्डलाई फिल्ममार्फत नेपालको स्वाभिमानमाथि भएको वैदेशिक प्रहारले कुनै असर पारेन। नेपालको सेन्सर बोर्ड र सो बोर्डमा रहनेहरूलाई नेपाल र नेपालीको प्रतिष्ठाभन्दा भारतीय प्रतिष्ठा र चाहना ठूलो लाग्यो ।
अदालत र सेन्सर बोर्ड वा सरकारबाट भएका यी निर्णयहरुलाई भारतीय दलालहरुले मात्र गर्न सक्ने र गर्ने निर्णय भनेर जनस्तरमा आलोचना समेत भयो । बालेनले पनि आफू राष्ट्रहितको विपक्षमा नउभिने घोषणा गरे । फलस्वरुप बालेन राष्ट्रहितको पक्षमा उभिएको मन नपराउने बर्ग वा पक्षले उनका विरुद्धमा मानहानीको मुद्दा दायर गरेको कुरा समेत सार्बजनिक भएको छ।
३) भारतले संसद भवनमा नेपाली भूभागलाई समेत अखण्ड भारतभित्र पारेर नक्सा प्रकाशित गरेको कुराबाट नेपालका प्रधानमन्त्रीको चित्त अलिकति पनि दुखेन । प्रधानमन्त्री र उनका समर्थकले भारतीयहरुकै भाषा बोलेर साँस्कृतिक नक्साको नामबाट अखण्ड भारतको नक्साको बचाउ गरेर आफूलाई भारतीय भन्दा पनि बढी भारत भक्त प्रमाणित गर्ने प्रयत्न गरिरहेका छन् ।
सरकार घुमाउरो पाराले राष्ट्रिय हितको विपक्षमा उभिंदा पनि सत्तारुढ दलका नेता र दलको असन्तुस्टी प्रकट भएको छैन । रवि लामिछानेले समेत बालेन एउटा भारतीय फिल्म निर्माताको पछि लाग्न नहुने अर्ती बालेनलाई दिएर आफ्नो कित्ता स्पष्ट पार्ने प्रयास गरेको बालेन पक्षधर देशभक्त समुदायको बुझाइ रहेको देखिन्छ। प्रमुख प्रतिपक्षी दल एमाले पनि खरो रुपले बालेनको देशभक्तिपुर्ण अडानको पक्षमा उभिन सकेन ।
५) एकपटक मानिसहरुले विप्लवलाई वैकल्पिक नेतृत्वको रुपमा हेर्न थालेका थिए । यस पंक्तिकारले समेत उनलाई देशको वृहत्तर हितलाई आधार बनाएर युद्धको बाटो नसमातेर शान्तिपूर्ण राजनीतिक बाटो अबलम्बन गरेर अघि बढ्न आग्रह गरेको थियो । अहिलेसम्म आइपुग्दा विप्लवमा पटक पटक परीक्षण भइसकेका पुरानै नेताहरुसंग मिलेर अघि बढ्ने रुचि देखा परेको छ।
यसबाट विप्लवलाई मुलुकको वैकल्पिक नेतृत्वको रुपमा हेर्न थालेको जनमत पनि अहिले बालेन, हर्क साम्पाङ्ग, रवि लामिछाने, राजेन्द्र लिङ्गदेन आदितिर फर्किन थालेको पाइन्छ । पछिल्लो समयमा बालेनप्रतिको जनविश्वास ह्वात्तै बढेको देखिन्छ।
६) कुनै मान्छे नयाँ आँट र कार्यक्रम लिएर अघि बढ्न थाल्यो भने यथास्थितिवादीहरुले उसको खुट्टा तान्ने प्रयास थाल्छन् नै ! नेपालको हकमा त कसैले राष्ट्रको बृहत्तर हितको एकमात्र उद्देश्य राखेर हिंड्न थाल्यो भने पनि उसलाई रोक्न खोज्ने जमात नै देखापर्छ । बालेनको विरुद्धमा पनि देशभित्र र बाहिर यस्तो शक्ति तयार भएको देखिन्छ। यस्तो अवस्थामा बालेनले आवेशमा आएर र पद त्यागेर होइन, संयमित भएर आफ्ना कामको प्रभाव र परिणामको विश्लेषण गरेर कदम चाल्नु जरुरी हुन्छ। बालेनमाथि जनताको ठूलो आशा छ, जनतालाई निराश हुन नदिन पनि बालेन थप सतर्क हुनुपर्छ।
कुनै काम गर्न खोज्दा कानुनी वा अरु अड्चन खडा गरेर काम गर्न नदिने प्रयत्न कसैबाट हुन थालेमा सो काम गर्ने वैकल्पिक तौरतरिकाको अबलम्बन गर्ने विषयमा समेत बालेनको टिमले ध्यान दिन जरुरी छ।



