काठमाडौं, ३० असार : बेल्जियमले विश्वकप फुटबलमा इतिहास रचेको छ । दोस्रो पटक विश्वकपको तेस्रो स्थानका लागि भिडेको बेल्जियमले दोस्रो पटकमा उक्त लक्ष्य पूरा गरेको हो । शनिबार राति भएको विश्वकपको तेस्रो स्थानको खेलमा इंगल्याण्डमाथि २–० को जित निकाल्दै बेल्जियमले उक्त कीर्तिमान रचेको हो ।
सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको खेलमा चौथो मिनेटमै बेल्जियमले अग्रता लिएको थियो । थोमस मेनियरले गोल गर्दै अग्रता दिलाए । मध्यान्तरसम्म उल्लेख आक्रमण नगरेको इंगल्याण्डले मध्यान्तरपछि निकै प्रयास गर्यो । तर गोल गर्न सकेन । ८२ औं मिनेटमा बेल्जियमकै एडन हजार्डले गोल गर्दै बेल्जियमलाई जिताए ।
समूह चरणको खेलमा पनि बेल्जियमले इंगल्याण्डलाई हराएको थियो । उपाधि भिडन्त आइतबार राति हुँदैछ । फ्रान्स र क्रोएसिया भिड्दै छन् । क्रोएसियाले जिते विश्वकप फुटबलको नयाँ च्याम्पियन टिम हुनेछ ।



