भुटानी शरणार्र्थीको आवरणमा मुलुकमा मच्चिएको मानव तस्करको जालोमा
राजनैतिक तथा प्रशासनिक तहमा हँुडलिएको भ्रष्टाचारले
मुलुकको स्वतन्त्र वैदेशिक नीतिको क्षमतालाई लोप्पा ख्वाएको छ ।
यो जति गंभीर छ, त्योभन्दा पनि यसले खोलेका रहस्यहरु भयानक देखिंदै गएका छन ।
हामी हाम्रा छिमेकीहरुसित आफ्नै वैदेशिक नीतिहरुमा बेईमान भएका छौं ।
र, साथै हरामखोर पनि ।
अन्तराष्ट्रिय समुदायका बीच हामी यो प्रकरणमा एक तहको असम्बद्ध मुलुक हुन पुगेका छौं ।
आफ्नै देशका नागरिक शरणार्थीको भेषमा बसेका भुटानी भएको भनेर ।
भुटानी आवरणमा बस्ने नेपालीहरु भएको देश ।
योभन्दा भद्दा, गद्दारी सम्प्रभु भएको मुलुक कुन होला ।
आफ्नै देशका नागरिकलाई अरुको आवरण दिने राज्य संयत्र भएको मुलुक ।
चुपचाप आँखा चिम्लि दिउँ, सह्य होला ।
तर, यो मुलुकसित जोडिएको दावी गर्नेहरु सबले
आफ्नो राष्ट्रिय इकाईमा आफूलाई खोज्दा हुन्छ ।
अदालतले यी सब प्रकरणमा आफ्नो तहमा आई पुगेको मुद्दामा निर्णय सुनाउला ।
हामी चुपचाप चित्त बुझाउला पनि ।
चित्त नबुझेसम्म यसका उजुरी उपर छलफल पनि भई रहला ।
तर, हामीले यतिञ्जेल भुटानी शरणार्थीका सन्दर्भमा अपनाएका नीति र अख्तियार गरेका कदम
सबका सबलाई आफ्नै अनुहारमा दलिएको मोसो बनाइ दिएको छ ।
हामी छिमेकीहरुसित अपत्यारिला, बाईफाले र फरेबी देखिन पुगेका छांै ।
भुटानी शरणार्थीको मानव तस्करीको हाईप्रोफाइल संलग्नतामा
नेपाली समाजको आजको दिनको मनोदशा जसरी अघि बढ्दो छ ।
त्यसले अर्को पाटोमा पनि झापड ख्वाउन खोजेको देखिंदोछ ।
नेपाली बुद्धिजीवी तथा नागरिक समाजका अगुवाहरु
कानूनी राज्यको प्रतिष्ठापनमा संलग्न राज्य संयत्रहरुको क्षमतामाथि
संगठित संत्रास र अविश्वसनियता देखाउन खोजिरहेका छन् ।
तिनले छातिमा खबरदारीको ढाल प्ले कार्ड भलै बोकेका होलान ।
तर तिनीहरुभित्र लुकेर बसेको एक किसिमको ढुसी गन्ध छ ।
दुखी आत्माको ढुसी गन्ध ।
नेपालमा पुलिस संयत्रको क्षमतामा जत्ति नि प्रश्न उठाउन पाइन्छ ।
तर, आजको मितिसम्म पुलिस संयत्रलाई एकछानो बाससम्म दिन पहल गर्न नसक्ने
राज्य र तिनका पदाधिकारीको क्षमातामा कहिल्यै प्लेकार्ड नबोक्नेहरु
आँठो पर्ने विषय आउँदा एकाएक खबरदारीमा छातीमा प्लेकार्ड बोकेर देखा पर्दछन् नि
भन्नु पर्ने हुन्छ,
मुलुकका बुद्धिजीवी र अगुवाहरु भँड्खारोमा परुन् ।
पुलिसको क्षमतामाथि हरेक तहमा प्रश्न उठाउन सकिन्छ
तर, भुटानी शरणार्थीको आवरणमा भएको भ्रष्ट अभ्यासमा
उसले उठाउन भ्याएको जति कदमप्रति प्रशंसा गर्न चुक्यौं भने
मलाई लाग्दछ,
हामी पनि मानव तस्करका हिस्सा हौं ।
कहिले उच्च तहको गिरफ्तारीमा थपडी बजाएर र कहिले मज्जाले परपीडन हाँसोमा सामेल
भएर ।
यतिखेर आएर प्रहरीको कार्यवाहीमा कोई शंका पोख्दछ भने
त्यो लघु शंकाको सिकार मात्र हो, अर्थोक होइन ।
लघु शंकाको मानसिक विकार भएको जत्था ।
यो प्रकारणमा आजको दिनमा
सम्मानित अदालतको प्राङ्णमा ठूलो जमातले घेरा हाल्ने छ ।
त्यो पनि अकारण ।
भीड उत्तेजित भएर घेराउ गर्न आउने छ ।
त्यो पनि असम्बद्ध ।
भुटानी शरणार्थी प्रकरणमा संभाबित परिदृश्य कहाली लाग्दो छ ।
सबका सब यो प्रकरणमा हिस्सा हुन पुगेर ।
मलाई लाग्दछ,
संघीय शासन प्रणालीमा हामीले नै ठस्ठसी कन्ने विधायकहरु पठाएका हौं ।
तिनले नीतिगत तहमा टिकटक ट्रोल बनाउन सक्छन् ।
तर, तिनको क्षमताले तिनलाई विधान मस्यौदाकार बनाउन सक्तैन ।
न त नीतिगत हस्तक्षेपमा ती अब्बल बन्न सक्नेछन् ।
न कानूनी राज्य प्रतिष्ठापन गराउन खोज्ने संयत्रलाई बलियो बनाउने तिनको हुती नै छ ।
स्याल हुइँयामा सामेल हुन सजिलो छ ।
मुलुकलाई यतिखेर न स्याल चाहिएको हो न स्याल हुइँया †



