अहिले नेपालमा अमेरिका जान उत्सुक नेपाली नागरिकसंग तपाइंले यति पैसा खर्च गर्नुहुन्छ भने तपाइंलाई अमेरिका पठाउँछौं भनेर ठूलो धनराशि असुल गर्ने र नेपालीलाई भुटानी शरणार्थी हो भनेर नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न केही शक्तिशाली भ्रष्ट राजनीतिक नेताहरु तथा उनीहरुको परिवारका सदस्य र निकटका केही व्यक्तिहरु, नेपाल सरकारका बहालवाला सचिव र केही उच्च पदस्थ सरकारी अधिकारीहरुको एउटा गिरोहका विषयमा भइरहेको प्रहरी अनुसन्धान सर्वाधिक चर्चामा रहेको पाइन्छ ।
भनिन्छ र सुनिन्छ–भुटानबाट भागेर भारतको बाटो हुँदै नेपाल आएका भुटानी शरणार्थीलाई आश्रय दिने तत्परता देखाउंदै आएको संयुक्त राज्य अमेरिका स्वयंले पनि यस अनुसन्धानका विषयमा चासो प्रकट गरेर अनुसन्धान गर्न दवाव दिएको कुरा समेत सार्वजनिक भएको छ । अनुसन्धानको क्रममा पूर्व उपप्रधानमन्त्रीको नाममा पक्राउ आदेश जारी भएको, बहालवाला सचिव र पूर्व गृह मन्त्री पक्राउ परेको समाचारले नेपालबाट सबैप्रकारको भ्रष्टाचारको अन्त्य हुनुपर्छ भन्ने विचार राख्ने सामान्य नेपालीहरु समेतमा एकप्रकारको तरंग उत्पन्न भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको भण्डाफोरले सर्वसाधारण मानिसको एउटा हिस्सामा एकप्रकारको उत्साह समेत सिर्जना भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रशंसकहरु बढेका छन् र उनको लोकप्रियता समेत बढेको अनुमान गर्न सकिन्छ । यस प्रकरणमा कतिपयले प्रधान मन्त्री प्रचण्डको भूमिकाको पनि केही हदसम्म प्रशंसा गरेका छन् ।
प्रधानमन्त्रीको इच्छा विपरीत गएर नारायणकाजी एक्लैले मात्र शक्तिशाली नेताहरुमाथि कारवाही चलाउनेसम्मको काम गर्ने हिम्मत गर्ने थिएनन् भन्ने एकथरी विश्लेषकहरुको तर्कलाई आधारहीन भन्न सक्ने अवस्था छँदा पनि छैन । अर्कातिर, यस घटनाले नेपालमा शक्ति केन्द्रहरुको स्वीकृतिमा नेताहरुले भ्रष्टाचार गर्दा पनि केही कारवाही हुँदैन भन्ने आम मानिसको अहिलेसम्मको सामान्य अनुमान वा सोंचलाई केही हदसम्म खल्बल्याइदिएको पनि छ र समाजमा अब भ्रष्टाचारीहरुलाई कारवाही हुन सक्छ भन्ने आशा समेत केही हदसम्म उत्पन्न भएको छ । यसको निम्ति वर्तमान गृहमन्त्री र प्रधानमन्त्री दुवै केहीहदसम्म धन्यवादको हकदार समेत भएका छन् ।
तर, सरकार र गृहमन्त्रीले सबै प्रकारका भ्रष्टाचार र दुष्कृत्यको निम्ति जिम्मेवार व्यक्तिहरुमाथि कारवाहिको डण्डा चलाउन खोजेका छन् कि एउटा निश्चित उद्देश्य राखेर पैसा खाएर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न व्यक्तिहरुमाथि मात्र डण्डा चलाउन थालेका हुन् भन्ने कुराको समेत सचेत नेपाली नागरिकहरुले अवलोकन र मूल्यांकन गरिरहेका छन् ।
अरु विभिन्न प्रकारका गैह्रकानूनी र भ्रष्टाचारजन्य कृत्यहरुतिर आँखा चिम्लने र नक्कली भुटानी शरणार्थी प्रकरणमा मात्र ध्यान दिएर त्यसैको सन्दर्भमा एक दुइवटा नेता र उनीहरुका आउरेबाउरे गिरफ्तार गर्ने गराउने काम गरेर त्यसैको प्रचारप्रसारमा मात्रै रमाउने र विगतका अर्बौं अर्बका भ्रष्टाचारका काण्ड सामसुम पार्ने काम प्रचण्ड सरकार, प्रधानमन्त्री, गृहमन्त्री र गृह प्रशासनले गर्न थाल्यो भने प्रधानमन्त्री, गृहमन्त्री र गृह प्रशासन, नेपाल प्रहरीको नेतृत्व र टीमको अहिलेको चुरीफुरीको पछिल्तिर कुनै रहस्य वा दवावले मात्रै त यो काम गरेको छैन भन्ने आशंका समेत उत्पन्न हुन सक्छ ।
नेपालका लागि भारतका पूर्व राजदूत रन्जित रेले आफ्नो पुस्तकमा नेता नारायणकाजी श्रेष्ठले आफूलाई बाहिर समाजको अघिल्तिर देखाउन खोज्ने व्यक्तित्व र व्यवहार उनको वास्तविक व्यक्तित्व र व्यवहारभन्दा फरक छ भन्ने टिप्पणी गरेको कुरा समेत एकपटक चर्चामा आएको थियो । रेको टिप्पणी सही हो भने उनको देखाउने व्यवहार र वास्तविक व्यवहारमा भिन्नता भएको दोहोरो व्यक्तित्व र व्यवहार त छैन भनेर विचार र मूल्यांकन गर्नुपर्ने पनि हुन सक्छ ।
गृहमन्त्री नारायणकाजीको वास्तविक चरित्र र उनले बाहिर देखाउने व्यवहारको बिचमा भिन्नता छैन भन्नेकुरा वास्तविक व्यवहारबाट प्रमाणित गर्नका निम्ति उनले अहिले राम्रो अवसर पाएका छन् । सरकारले र खास गरि गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा मात्र होइन, ललिता निवास प्रकरण समेतका भ्रष्टाचारका अन्य घटनाका दोषीहरुमाथि पनि कठोर कारवाही प्रारम्भ गर्न सके भने उनका विषयमा रेले गरेको भनिएको उक्त टिप्पणी आफै गलत प्रमाणित हुन जाने देखिन्छ ।
सबै प्रकारका भ्रष्टाचारका घटनाको निर्भिक भएर छानविन गर्न गराउन र दोषीमाथि कारवाही चलाउन एनके श्रेष्ठ(प्रकाश) अग्रसर भए भने नेपालको इतिहासमा उनले आफ्नो नाम सुनौलो अक्षरले लेखिने अवस्था सिर्जना गर्न सक्छन् र इतिहासलाई नै नयाँ दिशा दिन सक्छन् । अहिले नारायणकाजीले आफूलाई साँच्चै नै अरु नेताभन्दा फरक सावित गर्ने सुनौलो अवसर पाएका छन् र आशा गरौं, उनले यस अवसरको सदुपयोग गर्ने सफलता समेत पाउनेछन् । आशा गरौं, उनी पनि अरुजस्तै ‘राष्ट्रिय दाइ’ र ‘राष्ट्रिय भाउजु’का आज्ञाकारी भाइ र देवर भएर इतिहासको गर्तमा नहराउन् ।
जे होस्, नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने जस्तो निन्दनीय काम गरेर नेपाल र नेपालीको प्रतिष्ठामा आघात पु¥याउने राष्ट्र विरोधी गतिविधिमा संलग्न व्यक्तिहरुको पहिचान गरेर उनीहरुलाई दण्डित गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवर र यसको अनुसन्धानमा दत्तचित्त भएर लागेका नेपाल प्रहरीका वरिष्ठ र कनिष्ठ अधिकृतहरुले जुन प्रयास थालेका छन् त्यसको सबैले प्रशंसा गर्नुपर्छ र अनुसन्धानको क्रममा निर्दोष कसैलाई दोषी देखाउने र दोषी जतिसुकै शक्तिशाली भए पनि यो देश र व्यवस्थाकै धमिरा भएकाले जोकसैलाई उन्मुक्ति दिने काम हुन नदिनका निम्ति खबरदारी पनि गर्नुपर्छ । (साँघु साप्ताहिक, २०८० जेठ १)



