काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती मन्त्रालयभित्रका कमजोरी सुधार गर्ने बताइरहेका छन् । सार्वजनिक खपतका लागि उनले प्रशस्त निर्णयदेखि अभिव्यक्ति समेत दिइरहेका छन् । तर, उनका कतिपय काम आफैमा बाझिन भने थालेका छन् ।
हतारमा निर्णय गर्ने शैलीले मन्त्री किराँती आफै अप्ठ्यारोमा पर्न थालेका छन् । कर्मचारीको नेतृत्वमा पर्यटन र रैथाने विश्वविद्यालयमा बनाउने निर्णय गरेर आलोचनामा परेका किराँतीले नेपाल वायुसेवा निगमसम्बन्धी दुईवटा निर्णय पनि त्यस्तै विवादमा देखिएका छन् ।
निगमको सुधारका लागि सुुझाव समिति गठन गरेपछि निगमका कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधे अनि निगमले जहाज किन्ने निर्णय लिए ।
पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा सुुझाव समिति गठन गरेपछि मन्त्री किराँतीले दुर्गम क्षेत्रमा उडान गर्ने भनेर साना जहाज खरिद गर्ने निर्णय गरे । यही विषयमा संयोजक क्षेत्रीले मन्त्री किराँतीमाथि प्रश्न उठाएको स्रोतको दावी छ ।
संयोजक क्षेत्रीले एकातिर सुधारका लागि सुुझाव दिने भनेर कमिटी बनाउने अनि जहाज किन्ने निर्णय पनि गर्ने ? भनेर प्रश्न उठाएका थिए । स्रोतका अनुसार, उक्त प्रश्नपछि मन्त्री किराँतीले उक्त निर्णय गलत भएको भन्दै माफी पनि मागेका थिए । समितिले सुझाव नदिएसम्म उक्त निर्णय कार्यान्वन नगर्ने र अहिलेलाई मुल्तवीमा राख्ने बताएका थिए ।
मन्त्री किराँतीलाई निगमका लागि अति आवश्यक जहाज किन्ने निर्णय गराउने भूमिका भने प्रधानमन्त्री प्रचण्डले बनाएको पनि उड्डयन क्षेत्रका जानकार बताउँछन् । उनीहरुको अनुसार प्रचण्डले सुरुवातदेखि नै जहाज खरिदमा चासो देखाएका थिए । अनि, मन्त्री किराँतीलाई सुुझाव पनि दिएका थिए ।
त्यसै अनुसार किराँतीले निर्णय लिएको पनि बताइन्छ । जी टु जी नीतिमा जहाज खरिद गर्ने भनिए पनि कुनै हवाई माफिया सक्रिय भइरहेको छ कि भन्ने चाहिँ कुरा खोजीको विषय बनेको छ ।
(साँघु साप्ताहिक, २०८० वैशाख १८ गते)



