काठमाडौं । चीनबाट दशैं तिहारका लागि सामान लोड गरी भित्रिएका १५ सयभन्दा बढी ट्रक रसुवा भन्सार कार्यालयमा थुप्रिएका छन् । न्यून बिजकीकरण गरी भन्सार छुटाउन भन्सार कार्यालय रसुवाले नमानेपछि एक महिनादेखि ती ट्रक अलपत्र परेका छन् । महंगा सामान ल्याए पनि ब्यापारीले बच्चाका सामान ल्याएको भन्दै भन्सार छली गरी भित्र्याउने गरेका छन् । सानातिना ब्यापारीले पूरा भन्सार शुल्क तिरेर ल्याएका १५ वटा ट्रक राजस्व अनुसन्धान विभागले २०७४ भदौ ९ गते शुक्रबार समातेर विभागमा ल्याएर ठूला ब्यापारीलाई तर्साएर बार्गेनि¨ सुरु गरेको बताइन्छ । साना ब्यापारीले दशंैका लागि ल्याएका सामानको एक ट्रक बराबर १५ लाख भन्सार शुल्क तिरेको भए पनि राजस्वले दुःख दिने नियतले ती ट्रक समातेको छ । तर ठूला ब्यापारीका १५ सयभन्दा बढी ट्रक टिमुरे र केरुङमा लाम लागेका छन् । ठूला ब्यापारीले कम्तीमा १५ लाख रुपैयाँ भन्सार महसुल तिर्नुपर्ने सामानको न्यून बिजकीकरण गरी ५ लाख तिरेर ल्याउन खोजेका कारण भन्सारले रोकेको छ । विगतमा यसैगरी न्यून बिजकीकरण गरी सामान भित्र्याउँदैआएकोमा यो पटक रोकिएको छ । ठूला ब्यापारीहरूले भन्सार कार्यालय र राजस्व अनुसन्धान विभागसंग सेटिङ गरी सामान छुटाउन पहल गरिरहेका छन् । तर, रस्वा भंसार डेग चलेको छैन ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक भूपाल बरालको घर धुम्बाराहीमा ब्यापारीहरूको टोलीले सामान छुटाउनका लागि मोलमोलाई गरिरहेको चर्चा ब्यापारीहरूले गरेका छन् । महानिर्देशक बरालले महानिर्देशक बन्नका लागि भेट गरेको असुली गर्नका लागि १५ सय ट्रक रोकेको आरोप छ । बरालले तिनै ट्रकबाट एकै पटक लगानी असुली गर्ने रणनीति अख्तियार गरेको विभागभित्रै चर्चा हुने गरेको छ । उनले प्रतिट्रक १ लाख रुपैयाँका दरले माग गरेको गुनासो सुनिदैछ । राजस्व अनुसन्धान विभाग, भन्सार कार्यालय, भन्सार अधिकृत, जाँचकीदेखि दस्तुरीसम्म गर्दा रु. २ लाख २५ हजार बुझाएर ५ लाख महसुल तिरी सामान छुटाउने खेलमा लागेका ब्यापारीहरू भन्सार विभागका महानिर्देशक रामशरण चिमौरियाले पनि भाग खोजेपछि २०७४ भदौ ११ गते सामान छुटाउन सकेनन् । चिमौरियाले राजस्वले १५ लाख महसुल तिर्ने ब्यापारीका १५ वटा ट्रक बरामद गरेर दुःख दिएको स्मरण गराउँदै ५ लाख मात्र तिराएर ट्रकहरू भित्रिए भन्सार विभागले नछोड्ने बताएपछि ब्यापारी–राजस्व सेटिङअनुसार भदौ ११ गते आइतबार सामान छु्ट्न नसकेको समाचार छ । स्रोतका अनुसार, अनुसन्धान विभाग र भन्सार विभागका चिमौरियालाई समेत भागबण्डा मिलाएर सामान छुटाउन ब्यापारीहरू दौडधूपमा छन् ।



