काठमाडौं । भन्सार विभाग अन्तर्गतका प्रमुख भन्सार कार्यालयहरूमा कार्यरत प्राविधिक कर्मचारीहरूले सेटिङ मिलाएर आफू भने मालामाल हुँदै आएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालय, वीरगन्ज, भैरहवा, विराटनगर, काकरभिट्टा, नेपालगञ्ज र रसुवागढी भन्सार कार्यालयहरूमा वर्षाैंदेखि रहँदै आएका प्राविधिक कर्मचारीहरूले व्यापारीहरूसँग मिलेमतो र सेटिङ मिलाएर महंगो मूल्यका सामानलाई न्यून बिजकीकरण गराएर सरकारलाई नोक्सान पु¥याउने गरेको गुनासो विभाग हुँदै मन्त्रालयसम्म पुग्ने गरेको बताइन्छ । कर्मचारी कै कारण व्यापारीहरूले सस्तो मूल्यमा आयात गरेको विल पेश गरेर देखाउने, बढी सामान आयात गरेर राजस्व छल्ने गर्दै आएका छन् ।
यसैगरी, सुन, चाँदी, लागुऔषधि तस्करी गर्नेहरूले सेटि¨ मिलाएर विमानस्थल र भन्सार कार्यालयका सिसिटिभि फुटेजको क्यामेरा अफ गरेर, एक्सरे मेशिन र मेटल डिटेक्टर अफ गरेर, झोला चेक गर्दा नदेखेजस्तो गरेर सामान पास गराइ तस्करीलाई प्रोत्साहन दिने, राजस्व छलाउने र सरकारलाई राजस्व हानी नोक्सानी पु¥याउने काम गर्दै आएका छन् । प्राविधिक कर्मचारी सीमित हुने हुँदा जहाँ गएपनि उनीहरूले राजस्व जसरी पनि छल्ने सेटिङ मिलाउने गरेको स्रोत बताउछ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट २०७३ पुस २१ मा साँढे ३३ किलो सुन बरामद हुँदा एक्सरे टेक्निसियन राजकुमार ढकाल, भन्सारका रेडियो अपरेटर नासु श्याम च्यामु श्रेष्ठ, गंगा भुर्तेल, टेक्निसियन अधिकृत श्रीनारायण यादव समातिएका थिए ।
साथै प्रहरी प्रमुख एसएसपी श्याम बहादुर खत्री निलम्बनमा परेका थिए । केन्द्रीय अनुसन्धान व्युरोले यी सबैलाई तस्करलाई संरक्षण दिएको आरोप लगाउदै मुद्दा दर्ता गरेको थियो । व्युरोले अनुसन्धान गर्दा त्रिभुवन विमानस्थल भन्सारको एक्सरे मेशिनले किन सुनचाँदी देखाउदैन भन्ने अनुसन्धान गर्दै जाँदा ढकाल, श्रेष्ठ, भुर्तेल, यादवको फेसबुक मेसेन्जरमा कुन भरियाको नाम र राहदानी नम्वरमा आउँछ भन्ने कुराको म्यासेन्जरबाट ठुलो रहस्य खुलेको थियो ।
प्राविधिक कर्मचारीबाट हुने राजस्व चुहावटको सेटिङ तोड्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयको तत्कालीन प्रमुख सहसचिव नारायणप्रसाद सापकोटाले प्रयासका गरेका थिए । २७ वर्षसम्म एक कार्यालयबाट अर्काे कार्यालयमा सरूवा नभइ बसेका उनीहरूको सेटिङ भत्काउन ठुलै पापड बेल्नु परेको कर्मचारीहरू बताउँछ । सापकोटाको सक्रियतामा एक्सरे टेक्निसियन, रेडियो अपरेटर, मेटल डिटेक्टर तालिम राजश्वका कर्मचारीलाई दिलाएर धेरै प्राविधिक कर्मचारी उत्पादन गरेका थिए । त्यसपछि पुराना कर्मचारीलाई त्यहाँबाट अन्यत्रै सरुवा गरिएको थियो ।
झण्डै तीन दजर्न राजश्व समूहका सुब्बास्तरका कर्मचारीलाई नागरिक उड्डयन प्राधिकरण प्राधिकरण सहकार्य गरी तालिम दिइएको थियो । यसले गर्दा प्राविधिक कर्मचारीको अभावमा एकै व्यक्ति वर्षाैंसम्म एउटै भन्सार कार्यालयमा बसेर तस्करसँग मिलेर सेटिङ गर्ने प्रवृत्तिको अन्त गरिएको थियो । त्यसपछि नै एयपोर्टमा बर्षौंदेखि जरा गाडेर बसेको सेटिङ्ग भत्किएका कारण अवैध रुपमा भित्रिने गरेको सुन, चाँदी, लागु औषध धमाधम पक्राउ पर्न थालेको बताइन्छ । तर, अहिले विमानस्थल कार्यालय प्रमुख भंसार प्रशासक रहेका अरुण पोखरेल पुनः पुरानै कर्मचारीलाई खोजी खोजी सरुवा गरेर लैजान थालेको गुनासो बाहिर आएको छ ।
सेटिङ्गवाला कर्मचारीले रेड च्यानल देखाए पनि वेवास्ता गर्दै व्यापारीसँग मिलेमतो गर्ने गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ । पूर्व अर्थ मन्त्री जनार्दन शर्माका प्रिय पात्र वीरगंज भंसार कार्यालयबाट एयरपोर्टमा सिधै सरुवा भएर आएका पोखरेल कमाण्ड खुकुलो हुँदै गएकाले तस्करहरुको मनोबल बढेको गुनासो कर्मचारीले गर्दै आएका छन् ।



