(वैंशमा होस हुँदैन भन्छन् । जब वैंश ढल्किन थाल्छ तब युवा ब्यूँझिन्छन् र फुर्सद निकालेर पछुतो गर्न थाल्छन् । जवानी फर्किने भए अहिले विश्वमा कोही पनि वृद्धवृद्धा देखिने पनि थिएनन् होला । त्यही वैंश घर्केपछि पछुतो मान्दै जीवनलाई अगाडि बढाइरहेका सडक पाइलट हुन् विनोद बराइली । ४० वर्षे धराने बराइलीले जवानीमा के के गरे र त्यसपछि कसरी जीवनमा संघर्ष गरिरहेका छन् त ? कहिले उतार र कहिले चढावको जिन्दगीको लट्टाँइमा पिङ खेलिरहेका बा २ ह ४२५५ नम्बरको ट्याम्पुका चालक विनोद बराइलीसंग साँघु प्रतिनिधिले सडक पाइलटसंगको अन्तरंगमा लिएको कुराकानीको यो मुख्य अंश –सम्पादक)
० गाडी हाँक्न थालेको कति भयो नि ?
–२१ वर्ष भयो ।
० उमेर अनुसार त बढी समय नै भएछ त ?
–भयो नि । ४० वर्षको भएँ । १९ वर्षको उमेरदेखि ट्याम्पु चलाउन थालेको । अहिलेसम्म यही ट्याम्पुको साथ छ ।
० कसरी आउनु भयो त यो लाइनमा ?
–पहिले फिल्महलमा काम गरियो त्यसपछि यता आइयो ।
० कति कक्षा पढेर छाड्नु भयो ?
–पढ्न त जम्मा ५ कक्षा ।
० अनि त्यसपछि ?
–धरानमा ५ कक्षा पढेर छाडेपछि फिल्महलमा काम गरें । १३ वर्षको उमेरदेखि हलमा काम गर्न थालेको । सानो उमेरमै हातमा पैसा प¥यो । कहिले हाकिमलाई चिया नास्ता खुवाउने त कहिले टिकट बेच्ने काम गर्थें ।
० हलमा काम गरेपछि मोजमस्ती बढी नै भयो हो हगि ?
–हो, मोजमस्ती त बढी नै भयो । नपुग्दो केही भएन । पैसै पैसा । जे गरे पनि भयो । भिसीआरमात्र थियो । फिल्म जति हेरे पनि भयो । मस्ती पनि गरियो ।
० पैसा त बचाइयो होला नि ?
–त्यही त पछुतो छ । वैंशमा पैसा खब उडाइयो । पैसा कमाइयो तर चिन्न सकिएन । केही बचाइएन ।
० कहिले चिन्नुभयो त पैसाबारे ?
–ढिलो चिनियो नि । पैसाको महत्व चिन्दा ढिला भैसकेको थियो । २८ वर्षको उमेरमा बल्ल पैसाबारे चिनियो ।
० त्यतिन्जेल हलमै काम गर्नुभयो ?
–हैन नि । १९ वर्षको उमेरसम्म हलमा काम गरें । आफैले मन पराएको केटी बिहे गरें । त्यसपछि हलमा काम गर्न मन लागेन । अनि ट्याम्पु चलाउन थालें ।
० एकैपटक ट्याम्पु ?
– के गर्नु त । २ वर्षसम्म लाइसेन्स बेगर धरानमा ट्याम्पु चलाएँ । त्यहाँ कसले के गर्नु । ०५६ सालमा लाइसेन्स लिएर काठमाडौं छिरें । त्यसपछि यही ट्याम्पु नै चलाइरहेको छु ।
० ट्याम्पु आफ्नो कि साहुको ?
–साहुको नि । आफ्नो पैसा भएर वैंशमा पैसा चिनेको भए त अहिलेसम्म के के किनिन्थ्यो के के नि ।
० पैसा त अहिले पनि कमाइन्छ होला नि ?
–के कमाउनु नि । ड्राइभरको जिन्दगी भनेको दुई छाक मीठो खाने, रमाउने, परिवारसंग रमाउने । पैसा चाहिं कमाउन सकिएन । पैसा नै बच्दैन कसरी जोगाउने खोइ ?
० परिवार कति छ नि ?
–दुई छोरा एक छोरी ।
० सन्तान पनि सडक पाइलट बन्लान् र ?
–खोइ नबन्लान् । जेठो छोरो गाडी चलाउँथ्यो । विदेश पो हान्नियो । तीन वर्ष दुबई बसेर आउने रे ।
० तपाई नगएको विदेश ?
–विदेशमा गएर अर्कालाई कमाइदिने ? अर्काको देश बनाउने ? गएर हन्डर खाएर फर्केको ।
० कहाँ नि ?
–मलेसियामा तीन वर्ष बसेर आएको हुँ । स्वदेशकै दुःख ठीक भनेर फर्केर फेरि गाडी चलाउन थालेको हुँ ।
० छोरालाई किन पठाएको त ?
–उसले पनि बेलैमा चेतोस् भनेर पठाएको । कम्तीमा उसलाई पनि थाहा हुन्छ नि । दुःखमा नपरी मान्छेले चेत्ने रहेनछ । ५ महिना भयो गएको राम्रो छ भन्दै थियो । उसलाई पनि हाम्रा बाले दुःख गरेर यहाँसम्म आएका रहेछन् भन्ने होस् भनेरै पठाएको ।
० अब भोलिका दिनमा के गर्ने विचार छ त ?
–कमाइ घट्यो गाडी बढे । पहिला कमाउने दुई हात थिए । अहिले चार हात छन् । पैसा बचाउन सकियो भने आफै गाडी किनिन्छ कि भन्ने आशा छ । सानो गाडी हटाउने भन्छ सरकारले । जनताको गरिखाने बाटो बन्द गर्ने रे † यसरी हटाउन नहुने हो । हामीलाई बेरोजगार बनाउन पनि नहुने हो नि ।
० सरकारले राम्रो गर्न खोजेको होला नि त ?
–के गर्दथ्यो । राजनीति सद्दे भए पो सरकार राम्रो हुन्थ्यो । नेताहरू कसैबाट पनि केही राम्रो आशा छैन ।
० साँच्चै आजकल मोज कत्तिको छ ?
–कहाँबाट मोज हुनु नि । वंैशमा मोज, जवानी घर्केपछि पैसाको खोज । जाँडरक्सी खान छोडेको पनि ६–७ वर्ष भइसक्यो । १८–१९ वर्षको जवानी खोजेर कहाँ पाइन्छ अब †



