काम गर्ने कालु मकै खाने भालु जस्तो चुनावी जनमत आयो । मुलुकको संघीय गणतन्त्र, संविधान, राजनीतिक र सामाजिक परिवर्तनमा भूमिका भएको एमालेलाई चौतर्फी घेरा हालियो । एमाले केही खुम्चियो । यद्यपि लोकप्रिय मत एमालेको आजपनि बढी छ । चुनावी परिणामले जनआन्दोलनमा अग्रिणी भूमिका र इतिहास भएका ठूला दलहरूनै आपसमा मिल्नुपर्ने समेतको बाध्यता ल्यायो । प्रतिगामी, राजावादी र परिवर्तन विरोधी खुद्रे, च्याँखे र जनविरोधीले लोकतान्त्रिक गणतन्त्रलाई ख्यालख्याल र हाँसी–मजाकको विषय बनाईरहेका छन् ।
जनताको संघर्षबाट आएको राजनीतिक परिवर्तनलाई उछित्तो काढ्दैछन् । परिवर्तन उल्टाएर यथास्थिति र प्रगिगमनतर्फ मुलुकलाई फर्काउने दुस्साहस गर्दैछन् । मुलुकमा स्वनामधारी स्वतन्त्र, एकसिटे, च्याँखे र विखण्डनवादीहरूको झुण्ड एकगट्ठा भए । गणतन्त्र र संविधान च्यात्न षडयन्त्रमा अनेकौं छद्म समूह र जनविरोधीहरू आफूलाई ‘स्वतन्त्र’ र ‘राष्ट्रवादी’ भन्दैछन् । राजनीतिक परिवर्तनका संवाहक काँग्रेस–एमालेनै मिल्नुपर्ने राष्ट्रिय आवश्यकता समेत देखापर्दैछ ।
जनताको आदेश
१३८ पु¥याउन ‘देउवा र ढेउवा’ समेतको गठबन्धलाई हम्मे परेको छ । एमाले र एमालेले समर्थन गरेको दल तथा समूहमा पनि त्यो दम भएन । संसदको अंकगणीत मिलाउदैमा र सरकारको खाँबो, टेको मिलाउदैमा पाँच वर्ष वित्लाजस्तो देखियो । जनमत नै यस्तो आयो कि अब कुनैपनि समूह र दलले सहजतापूर्वक आफ्नो कार्यक्रम, नीति, घोषणा र योजना लागू गर्नै सक्दैन । एउटै सरकारमा अनेकौं समूह, दल र चारतर्फ फर्केको नीति, विचार र दृष्टिकोण मिसाउँदा पहिलेको टालटुली बाटुली भन्दा दोब्बर टालाटुली र छेस्कामिचेरा, धुलो कसिंगर सबै मिसिएको धँसिगंरे सरकार बन्ने अवस्था आएकोले देशको निकास र स्थिरताको लागि काँग्रेस–एमाले फेरि मिल्नुपर्ने ठाउंमा देश पुग्दैछैन ?
प्रतिगामी भूत
देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रतिगामी राजावादी भूतप्रेत र राजनीतिक संघर्षका तमासे हुर्दुङ्गाले पनि दरिलो जनमत पाए । लोकतन्त्रमा सबैलाई निर्वाचमा भाग लिन र जनमत पाउने हक भएपनि प्रतिगामीले टाउको उठाएर जनताको परिवर्तनलाई घाटा हुन्छ भने लोकतन्त्रवादी मिल्नुको विकल्प भएन । जनमत र चुनावी परिणामले त्यो संकेत गर्यो । कांग्रेस–एमालेले आपसमा धेरै हिलो छ्पाछ्याप गर्दा र आरोप–प्रत्यारोप गर्दा प्रतिगामी स्याल, भूतप्रेत र हुइयाँहरू आए । लोकतान्त्रिक गणतन्त्र र संघीय संविधानको रक्षाको लागि लोकतन्त्रवादी मिल्नुपर्ने वाध्यकारी अवस्था हो यो । राज्यको संविधान अनुसार पाएसम्म तर मार्ने, खाने, धोकर्ने अनि संघीयता र संविधानले देश डुब्यो भन्दै धिक्कार्ने प्रतिगामी भूतप्रेतले देशलाई पछाडि फकाउन शक्ति संचय गर्दैछन् । यसलाई चिर्नैपर्ने बाध्यता छ । यदि त्यो सम्भव नभए वामपन्थीको एकतामा पनि जानुपर्ने खाँचो परिस्थितिले ल्यायो ।
प्रचण्ड प्रधानमन्त्री
प्रतिगामी र पंचायती षडयन्त्र र संविधान विरोधी हर्कत बन्द गर्नु आजको अनिवार्य आवश्यकता भयो । यस्ता प्रतिगामी, पुनरउत्थानवादी र संविधानविरोधी हर्कत बन्द गर्नको लागि वामपन्थी एकता अर्काे आवश्यकता बन्यो । राजनीतिमा परिवर्तन र आवश्यकता अनुसार ‘टु स्टेप फरवार्ड वान स्टेप ब्याक’लाई लेनिनले नै आवश्यक माने । यस अर्थमा मुलुक, गणतन्त्र र संविधान रक्षाको लागि को सानो, को ठूलो भन्ने संकीर्ण भावना छाड्नु पर्ने देखियो ।
प्रचण्डलाई प्रधानमन्त्री बनाएर एमाले सहितको वामपन्थी र लोकतन्त्रवादी शक्तिको पावर सेयरिङमा सत्ता संचालन गर्नु पर्ने अर्काे उत्तम विकल्प हो । प्रतिगामी र राजावादी षडयन्त्र समेतलाई परास्त गर्दै मुलुकको वृहत् आवश्यकताको सम्बोधन गर्न प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न समेत एमाले हिचकिचाउन हुन्न । संयुक्त सरकार बन्ने भएकोले प्रचण्ड बन्दा उत्पात् र उल्का हुने होइन । वामपन्थी समेतको सामुहिक र औचित्यका आधारमा शक्तिको बाँडफाँड हुन्छनै । यसर्थ प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी अघि बढ्न पनि सक्नु अर्काे उत्तम बाटो देखियो ।
धमिलो रवि लामिछाने
हुर्दुङ्गा, उरन्ठेउला र राजनीतिक प्रणालीप्रति कुनै भूमिका तथा उत्तरदायित्व नभएका तत्व आफूलाई स्वतन्त्र भन्दैछन् । राजनीतिक इतिहास र संघर्ष भएका दललाई तथानाम गाली गर्ने र आफूचाहिँ जनताको लागि ‘स्वतन्त्र’ भन्ने नाममा ‘राजनीति नगर्ने र राजनीतिमा भाग नलिने’ बौलठ्ठीपूर्ण विधिबाट ‘राजनीति’ गर्दैछन् । यस्ता देशघाती र परिवर्तनको अपनत्व नभएका राजनीतिका धमिरा र धमिलो रवि लामिछाने टाइपका केही हिर्दाेक मान्छेहरू नेपाली राजानीतिमा पौडी खेल्दै पोखरीमा दिसा गर्दैछन् । यस्ता कुपात्रबाट मुलुकको राजनीति नै प्रदूषित बन्ने खतरा बढ्यो ।
एमालेको भूमिका
लोकप्रिय र समानुपातिक मतमा मुलुुकको सर्वाधिक बलियो दल एमालेले आफ्ना नीति, कार्यक्रम, घोषणा, संगठन, व्यवहार, सोच, विधि, तरिका, प्रक्रिया तथा शैलीलाई टप टु बटम बदल्दै अघि बढ्नुपर्ने खाँचो चुनावी परिणामले दियो । आफ्ना राम्रा, प्रभावकारी र सफल कार्यक्रम, संगठन, कार्य र नेतृत्वलाई ‘लाइभ’ मार्फत प्रचार–प्रसार गर्न नसक्दा त्यसको फाइदा प्रतिगामी र हुर्दुङ्गाले लिए । काम गर्ने कालु मकै खाने भालु जस्तो भइदियो । जनताको समृद्धि, विकास, प्रगति तथा राजनीतिक अधिकारको लडाईँमा प्रत्यक्ष भूमिका एमालेको रह्यो । काँग्रेसको रह्यो ।
एकअर्थमा सशस्त्र संघर्ष गर्ने माओवादीको रह्यो । आज प्रतिगामी र हुर्दुङ्गा आफूलाई ‘स्वतन्त्र’ भन्दै राजनीतिक स्वतन्त्रताका संवाहकहरूलाई हिलो छ्याप्दैछन् । यस अवस्थामा एमालेको भूमिका र औचित्य थप बढेको छ । अब आफूलाई पूराका पूरा शक्तिका साथ अपडेट गर्दै हाइटेक, फाइटेक (फाइटर), लाइटेड (लाइट देखाउने) एवम् प्रभावकारी संगठन बनाउनु पर्ने अवस्था छ । मानको लागि मान दिन फलानो कमिटीको फलानो, चिलानो पद भन्दै ठूलो हुनुको औचित्य र अर्थ देखिन्न ।
कमिटीमा बस्ने प्रत्येकले आफूलाई अपडेट, अपग्रेड, अवेएर, अडिट, रिभाइव, रिथिङ्क तथा रिटेस्टेड गर्दै अघि बढाउनु पर्ने अवस्था छ । माओवादीले पहिले बनाएको ४ हजार सदस्यीय कमिटी जस्तो मानको लागि ठूला कमिटी होइन कार्यदक्षता, आवश्यकता, औचित्य, अर्थ, कार्य, प्रभावकारिता तथा व्यक्तिगत क्षमता र योग्यता समेतको आधारमा कमिटीमा मान्छे ल्याउने गर्नुपर्ने स्थिति आयो । कमिटीमा भएको ठूलो पदले मात्र केही नाप्ने रहेनछ भन्ने पुष्टि हुन अब के गर्नु पर्छ ? यसैले एमालेले व्यक्तिको इतिहास, क्षमता, दक्षता, ज्ञान, सीप, क्षेत्र, अवस्था, आवश्यकता तथा समग्र औचित्यको आधारमा कमिटीलाई पुनव्यवस्थित गर्दै अघि बढ्नु पर्ने खाँचो देखियो । मानको लागि राखिएका कमिटीले काम गरेनन ।
समग्रतामा मूल्यांकन गरिनु पर्दछ । सस्तो नारा लगाईए जस्तो ‘युवायुवा’ भन्ने पनि होइन । व्यक्तिमा कार्यक्षमता, इच्छा, पहलकदमी, चाहना, दृढता तथा राजनीतिक दृष्टिकोणप्रतिको प्रष्टता हेरेर जिम्मेवारी दिनुपर्ने आवश्यकता बढी भयो । मुलुकको चुनावी परिणामलाई ख्याल गर्दै आगामी निर्वाचन र समय हाक्न सक्ने खालको संगठनको व्यवस्थापन आजको आवश्यकता हो । आवश्यकता र औचित्यका आधारमा आफ्ना केन्द्रीय नीति, कार्यक्रम, कार्यनीतिलाई पनि लचिलो बनाएर अघि बढ्नुपर्ने अवस्था छ । यसरी अघि बढ्दा प्रचण्डलाई प्रधानमन्त्री दिने देखि लिएर काँग्रेसलाई समर्थन गर्ने सम्मका विकल्प खुल्ला गर्दै समयको माग अुनसारको रणनीति लागू गर्नुपर्ने भयो ।



