काबुल, २६ मङ्सिर (रासस/सिन्ह्वा) । अफगानिस्तानको राजधानी काबुलमा मंसिर २६ गते सोमबार अज्ञात बन्दुकधारीले चिनियाँ व्यवसायीको लोकप्रिय होटलमा आक्रमण गरेका छन् ।
काबुलको लोङ्गान होटेलबाट धुवाँको मुस्लो निस्किेको घटनास्थलबाट बाहिरिएको तस्बिरमा देखिएको छ । घटनापछि तालिवान सुरक्षा बल घटनास्थलमा पुगेको होटललाई छिमेकसँग सिल गरेको छ ।
गत वर्षको अगष्टमा सत्तामा आएयता तालिवानले सुरक्षामा सुधार गरेको दाबी गरे पनि त्यहाँ थुप्रै बम विष्फोट र आक्रमण भएको इस्लामिक स्टेट समूहको स्थानीय च्याप्टरले दाबी गरेको छ ।
काबुल प्रहरीका एक प्रवक्ताले पत्रकारहरूसँग कुरा गर्दै उक्त आक्रमण ‘शरारती तत्वहरू’ले गरेको बताएका छन् ।
ह्वाट्सएप सामाजिक सञ्जाल समूहसँग कुरा गर्दै उहाँले भन्नुभयो, “सुरक्षा बल त्यस क्षेत्रमा पुगिसकेको छ र आक्रमणकारीलाई हटाउने काम भइरहेको छ ।
एएफपीका संवाददाताहरूले शहर–ए–नाउको एक व्यापारिक र आवासीय इलाकाको घटनास्थल नजिकै धेरै विस्फोट र गोलीबारीको आवाज सुनेका बताएका छन् भने स्थानीय सञ्चारमाध्यमले पनि यसको पुष्टि गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् बाहिरिएको र सबैतिर फैलिएको एक भिडियोमा मानिसहरु भवनको तल्लो तलामा रहेको झ्यालबाट बाहिर निस्किरहेको देखिन्छ, जसमा होटलको साइन बोर्ड अङ्ग्रेजी र चाइनिज भाषामा स्पष्ट देखिन्छ । त्यसैगरी अर्को एक भिडिओमा धुवाँको बाक्लो मुस्लोसहित अर्को भागबाट ठूलो आगोको ज्वाला निस्केको देखिन्छ ।
घटनापछि एउटा हेलिकप्टरले त्यस क्षेत्रको धेरै निकासहरूमा अनुगमन गरिरहेको देखिएको थियो ।
यो होटल उच्च जोखिम तर सम्भावित आकर्षक व्यापारिक सम्झौताहरूको खोजीमा तालिबानको फिर्तीपछि अफगानिस्तानमा आएका चिनियाँ व्यापारिक आगन्तुकहरूको लागि लोकप्रिय आश्रयस्थल मानिन्छ ।
अफगानिस्तानसँग ७६ किलोमिटर (४७ माइल) लामो सीमा जोडिएको चीनले आधिकारिक रूपमा तालिबान सरकारलाई मान्यता दिएको छैन । तर विश्वको दोस्रो शक्तिशाली अर्थतन्त्र मानिने चीन त्यहाँ पूर्ण कूटनीतिक उपस्थिति कायम गर्ने थोरै देशमध्ये एक हो ।
–––



