काठमाडौँ, १८ मङ्सिर (रासस) । पछिल्लो समय बौद्ध, जोरपाटी क्षेत्रका चार सहकारी संस्थाले वचत फिर्ता गर्न नसकी कार्यालय बन्द गराएका छन् ।
काठमाडौँ महानगरपालिका वडा नं. ६ बौद्धमा कार्यालय रहेको सुमो वचत तथा ऋण सहकारी संस्था, गोकर्णेश्वर–६ मा कार्यालय रहेको मुक्ति वचत तथा ऋण सहकारी संस्था, गोकर्णेश्वर नगरपालिका वडा नं. ५, जोरपाटीमा रहेको मञ्जुश्री वचत तथा ऋण सहकारी संस्था र गोकर्णेश्वर–५ मै कार्यालय रहेको स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले वचतकर्ताको वचत फिर्ता गर्न नसकी कार्यालय बन्द गरेका हुन् । स्वर्णलक्ष्मी सहकारीले त बोर्ड पनि हटाएको प्रहरी बिट जोरपाटीले जनाएको छ ।
गोकर्णेश्वर–६ मा रहेको मुक्ति सहकारी संस्थाका वचतकर्ताले संस्थाका पदाधिकारी र सञ्चालकलाई वडा कार्यालयमै लगेर पैसा फिर्ता गर्ने सहमति गराएका छन् । सहमति गराउन वडा अध्यक्ष नवराज लामाले पनि सहयोग गर्नुभएको वचतकर्ताले जनाएका छन् । तर वडा अध्यक्ष लामाले भने मञ्जुश्री सहकारीबाट लिएको ऋण १० वर्ष पूरा हुँदा पनि नतिरेको भनी नाम सार्वजनिक भएको छ ।
मञ्जुश्री सहकारी कार्यालयअघि मोबाइल पसल सञ्चालन गर्नुहुने कविन्द्र अधिकारी पैसा तिर्ने प्रतिबद्धता जनाउने तर कार्यालय नखोल्ने गर्दा शङ्का लाग्ने अवस्था आएको बताउनुहुन्छ । दैनिक कार्यालय खोलेर सहकारीमा भइरहेका गतिविधिका बारेमा वचतकर्तालाई जानकारी गराए समस्या समाधानमा सहजता हुने उहाँले बताउनुभयो ।
वचत फिर्ता गर्न नसकी समस्यामा परेका सहकारीका पदाधिकारी, सञ्चालक र कर्मचारीलाई फोन गर्दा उठ्न छोडेको छ । जसले गर्दा खाइनखाई दुःख परेका बेलाका लागि वचत गरेका वचतकर्ता तनावमा छन् । सहकारीमा नियमन र अनुगमन नहुँदा वचतकर्ता तनाव रहनुपर्ने अवस्था आएको वचतकर्ता श्याम लामाले बताउनुभयो ।
मञ्जुश्रीले पटकपटक दिएको म्यादमा पनि वचत फिर्ता गरेन
मञ्जुश्री सहकारी तीन महिनादेखि बन्द भएको भन्दै वचतकर्ताले आपत्ति जनाएका छन् । वचत झिक्न जाने वचतकर्तालाई सहकारीले साउन २५ गतेदेखि निरन्तर सूचना टाँस गरी म्याद बढाउँदै आएको छ । तर आजसम्मको म्यादमा पनि उसले वचत भने फिर्ता गरेको छैन ।
पटकपटक दिएको म्यादको अन्तिम दिन आज पनि वचतकर्ता सहकारी पुगे । तर कार्यालय खुलेन । वचतकर्ता जोरपाटी चोकको मूल सडकमै दुई घण्टा धर्ना बसे । सहकारीका अध्यक्ष इन्द्र लामालगायत पदाधिकारी एवं सञ्चालक सदस्यलाई फोन लगाए । कसैको पनि फोन उठेन ।
सहकारीले वचत फिर्ता गर्न छोडेको सात महिना भएको वचतकर्ता उमेश खतिवडाले राससलाई जानकारी दिनुभयो । पटकपटक दिएको समयसीमामा पनि सहकारीले वचत फिर्ता गरेको छैन । दशैँपछिदेखि त कार्यालय नै खुल्न छोडेको पनि उहाँले सुनाउनुभयो । सहकारीमा लाखौँ रुपैयाँ जम्मा गरेपनि आवश्यक पर्दा पाउन नसकेको भन्दै वचतकर्ताले सहकारी कार्यालय र अध्यक्षको घरमै पुगेर धर्ना दिएका हुन् ।
सहकारीका पदाधिकारी, सञ्चालक सदस्य एवं कर्मचारीको फोन पनि नउठ्ने, कार्यालयमा पनि नआउने भएपछि वचतकर्ताको समूह अध्यक्ष लामाको बौद्ध भुवालडाँडास्थित घरमै पुगे । ऋणीले लिएको ऋण नतिरेपछि वचतकर्तालाई पैसा फिर्ता गर्न नसकिएको उहाँको भनाई छ ।
“सहकारीले करिब रु ११ करोड वचत फिर्ता गर्नुपर्ने छ, बजारमा रु सात करोड ऋण लगानी छ, रु पाँच करोडको घर सहकारीका नाममा छ, शेयर सदस्यको शुल्क रु एक करोड गरी रु १३ करोडको पुँजी छ, यसैले वचतकर्तालाई पैसा फिर्ता गर्न समस्या छैन, अहिले बजारबाट ऋण नउठेकाले मात्र समस्या भएको हो, हामी वचतकर्ताको एक पैसा पनि खाँदैनौँ, सबैको पैसा फिर्ता गर्छौँ”–उहाँले भन्नुभयो ।
सहकारीमा लामा २०७५ देखि अध्यक्ष हुनुहुन्छ । त्यसअघि साम्देन लामाले सहकारीको अध्यक्ष भएर काम गर्नुभएको थियो । साम्देन लामाले विसं २०६३ मा सहकारी स्थापना भएदेखि २०७५ सालसम्म सहकारीको अध्यक्ष चलाउनुभएको हो ।
सहकारीको अहिले रहेको करिब रु सात करोड ऋणमध्ये करिब ९० प्रतिशतभन्दा बढी साम्देन लामा अध्यक्ष भएका बेलामा लगेको अभिलेख सहकारीमा रहेको प्रशासन प्रमुख विजय तामाङले राससलाई जानकारी दिनुभयो ।
“धेरै ऋणीका घरमा ऋण उठाउन जाँदा साम्देन लामासँग ऋण लिएको हो, उहाँसँग कुरा मिलाइसकेको छु भन्छन्, पूर्व अध्यक्ष साम्देन लामा कार्यालयमा आउँछु, सबै मिलाउँछु भन्नुहुन्छ, तर आउनुहुन्नँ”–उहाँले भन्नुभयो ।
सहकारीको ऋण उठ्न छोडेपछि सञ्चालकहरु एकले अर्कोलाई दोष देखाउन थालेका छन् । केही पदाधिकारी एवं सदस्यले भने राजीनामा दिइसकेको बताउँदै अब आफ्नो कुनै जिम्मेवारी नरहेको भन्दै पन्छने गर्न थालेको वचतकर्ताको गुनासो छ ।
सहकारीबाट राजीनामा दिइसकेको बताउनुहुने पूर्व सचिव अमरनाथ घिमिरे स्थापना कालदेखि नै अध्यक्षमुखी भएर सञ्चालन गरेका कारण यस्तो अवस्था आएको बताउनुहुन्छ ।
“सहकारी सबै सञ्चालक एवं शेयर सदस्यको सहकार्यमा चल्नुपर्ने हो, अरु सदस्यले पनि अध्यक्षको मात्र संस्थाजस्तो गर्ने र अध्यक्षले पनि व्यक्तिगत कम्पनीजस्तो गरी चलाउने गर्दा धेरै सहकारीमा समस्या आउने गरेको देखिन्छ, यसरी सञ्चालन गर्ने सहकारीको सिद्धान्त नै होइन”–उहाँले भन्नुभयो ।
सहकारीमा १४ वर्षदेखि खाता खोलेर वचत गर्दै आउनुभएका जोरपाटी माकालबारीमा फर्निचर सञ्चालन गर्नुहुने पन्नालाल ठाकुर आठ महिनादेखि सहकारीबाट वचत फिर्ता पाउन नसकिएको गुनासो गर्नुहुन्छ । करिब रु पाँच लाख सहकारीमा वचत गर्नुभएका ठाकुर दिनमा एक पटक सहकारी धाउने गरेपनि पछिल्लो समय खुल्न छोडेको बताउनुहुन्छ ।–––



