काठमाडौैँँ, १३ जेठ। बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंमा कार्यरत नायव सुब्बा जुनेस सापकोटाले घुस असुलेको आरोपमा पक्राउ परेका छन्।
J.U.C International प्रा.लि. नामक एजेन्सी नविकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगालबाट खटिइ गएको टोलीले पक्राउ गरेको हो ।
निज सुब्बालाई रु.१०,०००/–(दस हजार) घुस वापतको रकम लिएको अवस्थामा निजकै कार्यालय परिषरबाट २०७५ जेठ १३ गते नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको अख्तियारका सहसचिव कालीप्रसाद पराजुलीले जानकारी गराएका छन्। ]
यस्तै आयोगले यातायात व्यवस्था कार्यालय महाकालीका तत्कालीन निमित्त कार्यालय प्रमुख हेमन्तबहादुर सिंहसमेत १० जनाविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
लिलाम सवारी साधन दर्ता गर्ने क्रममा व्यापारीसँगको मिलेमतोमा निमित्त कार्यालय प्रमुख सिंह, मेकानिकल इञ्जिनियर दीपक थापा, नायब सुब्बा नरेन्द्रराज जोशी, महादेव भट्ट, तारादत्त भट्ट, केशवदत्त बडु, खरिदार श्यामकृष्ण ओझा, सवारी कारोबारी गोकुलप्रसाद श्रेष्ठ, दिनेश बम, करण भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
–––



