काठमाडौँ, २९ बैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अखण्ड समृद्ध र सशक्त नेपाल बनाउने सबै नेपालीको आकांक्षालाई भारतले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री मोदीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा भारतको साथ र सहयोग रहने बताए ।
आफ्नो सरकारले भारतमा विकासका लागि ‘सबका साथ सबका विकास’ को नारा अघि सारेको र नेपालमा पनि प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा अघि सारेको उल्लेख गर्दै उनले दुवै नारा एकअर्काका परिपूरक भएको टिप्पणी गरे ।



