काठमाडौं । सशस्त्र प्रहरी बलले २०७४ साउन १९ गते गरेको ६६ एसपीहरूको सरुवामा आफैंले बनाएको नीति उल्लंघन गरेको छ । पाँच पटक कमाण्ड गरेकालाई पुनः इन्चार्ज नदिने, सीमा सुरक्षा कार्यालयबाट पुनः सोही कार्यालयको प्रमुख नबनाउने र गणको इन्चार्जबाट फेरि गण नै नदिने नीति सशस्त्र प्रहरी बलले बनाएको थियो । तर सशस्त्र प्रहरीका आइजीपी सिंहवहादुर श्रेष्ठले त्यो नीति उल्लंघन गर्दै सरुवा गरेका छन् ।
गणबाट गणमै सरुवा गरिएको छ । नीति एकातिर राखेर सशस्त्रमा आर्थिक लेनदेनका आधारमा सरुवा गरिएको चर्चा छ । सशस्त्र प्रहरीको नीति हात्तीको देखाउने दाँत सावित भएको छ ।
एसपी प्रेम पोखरेलको सरुवाले नै आर्थिक लेनदेनका आधारमा सरुवा भएको कुरालाई पुष्टि गरेको छ । एसपी पोखरेल बढुवा भएपछि ६ महिनाबाहेक सधैं सशस्त्रका कमाउ सीमा सुरक्षा कार्यालयको प्रमुख भएका छन् । बढुवा भएपछि रौतहट सीसुकाको प्रमुखमा पदस्थापन भएका पोखरेल त्यसपछि झापा सीसुकामा सरुवा भए । झापाबाट नवलपरासी सीसुकामा सरुवा भए । नवलपरासीबाट आकर्षक मानिने झापाको पाथीभरा गणमा गए । पाथीभरा गणबाट अहिले पुनः सीसुका रौतहटको प्रमुखमा सरुवा भएका छन् । सशस्त्रमा दोहोरिएर सीसुकामा प्रमुख हुने भाग्यमानीमा एसपी पोखरेल दरिएका छन् । उनी लगातार पाँचौं पटक इन्चार्ज भएका छन् । त्यो पनि आकर्षक मानिने सीसुका ४ पटक र एकपटक गण । एसपी पोखरेलमाथि सशस्त्रमा सीसुका बसेर तस्करी चम्काएको र दसौं करोड रुपैयाँ आर्जन गरेको आरोप खेप्ने अधिकृतमा पर्दछन् । त्यही रकम गृहमन्त्रालयदेखि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आर्थिक संकलन गर्न परिचालन गरेका दलाल रामचन्द्र भट्टलाई बुझाएर उनी दोहोरिएर रौतहट सीसुकामा सरुवा पार्न सफल भएको सशस्त्र स्रोतले बताएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु, गृहमन्त्री जनार्दन शर्माका बीचौलियादेखि भ्रष्टाचार आरोपमा मुद्दा खेपिरहेका पूर्वआइजीपी कोषराज वन्त र आइजीपी सिंहबहादुर श्रेष्ठले सशस्त्रका इन्स्न्पेक्टरदेखि एसपीहरूको सरुवामा आर्थिक लेनदेन गरेको आरोप छ । भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेका पूर्वआइजीपी वन्तले एक नम्बरमा डीआइजी बढुवा गरेकै कारण आइजीपी भएको गुन तिर्न सिंहबहादुर श्रेष्ठले उनको आदेश शिरोपर गर्दै उनका निकट दमन थापा, अरुणशंकर तिम्ला, राजु महर्जनहलाई राम्रो ठाउँ दिएका छन् । विगतमा सशस्त्रमा प्राविधिकलाई सीसुकादेखि गणको इन्चार्ज बनाएका कारण उनीहरूको लापरबाहीले कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित अधिकृतहरूको हत्या भएको थियो । तर टीकापुरकाण्डमा प्रहरीमाथि भाला बर्षाउँदा आक्रमणकारीबाट जोगाउनुपर्नेमा भाग्ने सशस्त्रका एसपी लक्ष्मण सिंहलाई सिंहबहादुरले गढीमाई गणको इन्चार्ज दिएर सम्मान गरेका छन् । लक्ष्मण सिंहसहित आठ प्राविधिक एसपीलाई इन्चार्ज बनाएर गाइजात्रा देखाएका छन् । ३ महिने तालिम लिएका प्राविधिकहरूलाई गणको इन्चार्ज दिनु नहुने आवाजलाई कुल्चिएर वन्तकै पालाको जस्तो प्रवृत्ति आईजीपी श्रेष्ठले पनि अपनाएका छन् ।
इन्चार्ज पाउने प्राविधिक एसपीहरूमा कालीदास धौबजी कालिन्चोक गण, कुमार न्यौपाने छिन्नमस्ता गण, भेषबहादुर शाह मोरङ सीसुका, मुरारी बस्नेत सीसुका महोत्तरी, प्रदीपकुमार पाल बडिमालीका गण, कृष्णराज पाठक सीसुका कन्चनपुर र विदुर खड्का पाथीभरा गण छन् ।
सिंहबहादुरले वन्तका पालामा पटक पटक अवसर पाएका भनेर विरोध भए पनि एसपी अरुणशंकर तिम्लालाई गुह््येश्वरी गणको प्रमुखमा पठाएका छन् । तिम्लामात्र होइन, सशस्त्रमा दुर्जकुमार राई आएपछि साइड लागेका वन्तको भ्रष्ट गिरोहलाई सिंहबहादुरले पुनः हावी गराएको आरोप छ । वन्तको पालामा धेरै बदनाम भएका कालीदास धौबजी, बजेटमा बसेका दमन थापा, श्यामकाजी कुँवर, राजु महर्जनलाई पुनः आकर्षक ठाउँमा ल्याइएको छ । वन्तको पालामा बजेटमा बसी अकूत सम्पत्ति आर्जन गरेको आरोप लागेका दमन थापा सप्तरी सीसुका, मनकामना गण तनहुँ हुँदै पुनः विपत् उद्दार गण एयरपोर्टमा सरुवा भएका छन् । विपत् उद्धार गण आकर्षक मानिन्छ । कुँवरलाई दक्षिणकाली गण र महर्जनलाई निलबाराही गणको प्रमुखमा सरुवा गरिएको छ ।
मध्यक्षेत्रका डीआइजी नगेन्द्र सिंहसँग मिलेर आचरण विपरीत काम गरी कारबाहीमा परेका पर्सा सीसुकाका रविन्द्र ठाकुरलाई सर्लाही सीसुका र रक्तकाली गणका भरतबाबु केसीलाई धनुषा सीसुकाको प्रमुखमा सरुवा गरिएको छ । दिउँसै मदिरामा मस्त हुने कार्यक्षमताशून्य भरत पनेरु र धर्मानन्द सापकोटालाई पनि कमाण्डर बनाएका छन् । पनेरु चितवन सीसुका र विन्दबासिनी गणको प्रमुख भएका छन् ।
सीसुका र गणको प्रमुख पाउने सशस्त्रका एसपीहरूमा आनन्द नेम्वाङ सीसुका रुपन्देही, रमेशकुमार सुवेदी सिसुका झापा, शान्तिकुमार कार्की सीसुका पर्सा, भगवान मल्ल कपिलवस्तु सीसुका, दिलिपकुमार शर्मा दाङ सीसुका, हृदयनारायण मण्डल सीसुका, बर्दिया, मधुकृष्ण गड्तौला सिन्धुपाल्चोक सीसुका, गोपालकुमार गुरुङ सीसुका, सिराहा, वीरेन्द्रराज श्रेष्ठ नवलपरासी सीसुका, श्याम कोइराला सीसुका, कैलाली, बेनुप्रसाद पाठक सिसुका बारा, रामआधार यादव सीसुका, सप्तरी छन् । त्यस्तै जनकबहादुर बोहरा उग्रतारा गण, गणेशबहादुर थापा सिद्धकाली गण, महेन्द्रविक्रम थापा त्रिपुरा गण, भीमबहादुर थापा कालिका गण, चन्द्रप्रसाद भट्ट मनकामना गण, नवराज अर्याल चण्डिका गण, पद्मसिंह ऐर शैलेश्वरी गण, टंकबहादुर खड्का दन्तकाली गण, जयबहादुर खड्का ज्वालामाई गण, प्रकाश श्रेष्ठ कंकालिनी माई गण, राजेश तण्डुकार बागेश्वरी गण, नेत्रबहादुर खत्री भद्रकाली गण, सुदेशकुमार गुरुङ रक्तकाली गण, संधैं आकर्षक सीसुका, र गणमा सरुवा हुँदैआएका खेलाडी एसपीका रुपमा चिनिएका सुवर्ण थापा मगर, वीरबहादुर श्रेष्ठ, सुदर्शनप्रसाद सिलवाल र राघवसिंह थापाले सिंहबहादुरको शासनमा भने किन मौका नपाएका हुन् भन्ने कुरा एसपीहरूबीच चर्चाको बिषय बनेको छ । सशस्त्रका इन्स्पेक्टरदेखि एसपीसम्मको सरुवामा आइजीपी सिंहबहादुरको तर्फबाट आर्थिक संकलन गर्ने काम एआइजी पुष्पराम केसीले गरेको समाचार छ । प्रधानमन्त्री देउवा पत्नी आरजुले रामचन्द्र भट्टमार्फत् सरुवाको डिलिङ गरेको स्रोतले बताएको छ ।



