सुनसरी, २०७९ श्रावण २१ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरा स्थितमा सोही स्थानका लक्ष्मण बि.क.को औलिया ज्वलर्समा सुनचाँदी चोरी गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अनिल बराइली रहेकाे प्रहरीले बताएकाे छ ।
साउन २० गते राति १ तला भएको पक्की घरमा रहेको औलिया ज्वेलर्समा घर पछाडी काठको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदी चोरी भएको सूचना पाए लगतै ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटि गएको थियो ।
घटनाको सुक्ष्म अनुसन्धान थालेको प्रहरी चोरी भएको २४ घण्टा नबित्दै हिजो दिउँसो साँढे २ बजे चोरीमा सम्लग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।
अनुसन्धान गर्ने क्रममा शंकास्पद रहेका अनिल बराईलीको घरकोठा भित्र खानतलासी लिदाँ दराज पछाडी कालो झोलामा लुकाई छिपाई राखिएको चोरीको सुनका गरगहनाहरु ६ तोला ८३ लाल र चाँदीको गरगहनाहरु २९७ तोलाको अन्दाजी १० लाख ४० हजार ५९० बराबरको गरगहना बरामद भएको हो ।
चोरीएका सुनको गरगहनाहरु बरामद भए सगै अनिल बराईलीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएकाे छ ।



