कोरोना भाइरसको संक्रमण फैलिएपछि गोरखापत्र दैनिकमा दुईबाट घटाएर एक पृष्ठ छापिन थालेको बहुभाषिक पृष्ठ कारोना सामान्य रहेको महिनौ बितिसक्दा पनि एक पेजमै सीमित छ । कोरोना भाइरसको निहुँमा बहुभाषिक पृष्ठलाई चोइट्याउने योजनामा गोरखापत्र संस्थान सफल भएको छ । कोभिडको कहर मुलुकमा छैन तर नयाँ नेपाल भनेर छापिने बहुभाषिक पृष्ठ भने अझै कोरोनामुक्त हुन सकेको छैन ।
बहुभाषिक पृष्ठलाई मारेपनि गोरखापत्र संस्थानले सञ्चार मन्त्रालयबाट नयाँ नेपाल नामले छापिने भाषाभाषी सामग्री छापिएबापतको बजेट भने पूरा नै उठाउँदैछ । झण्डै पाँच करोड रुपैयाँ वार्षिकरुपमा भाषाभाषी पृष्ठवापत पाउने संस्थानले कोरोना भाइरसको संक्रमण उच्च नहुँदै दुई पेजबाट एकमा सीमित ग¥यो र त्यो क्रम अहिले पनि जारी छ । गोरखापत्रको बोर्ड सदस्य समेत रहिसकेका एकजनाले भने ‘संस्थानले कौडी खर्च गरेर करोडौं कमाउने शीर्षक हो भाषाभाषीको पृष्ठ ।’ भनेका छन् ।
भाषा पेज काटेर खर्च बचाएपनि संस्थानले यल्लो प्यागोडादेखि रिसोर्टमा पुगेर भाषाभाषीको बजेट उडाउँदैछ । अरुबेला संस्थानको छलफल न्यु रोड, भूगोलपार्कस्थित संस्थानको कार्यालयको बैठक कक्षमा हुन्छ तर नयाँ नेपाल पेजको बजेट उडाएर मोजमस्ती गर्न रिसोर्टमा छलफल हुनेगरेको संस्थानका एकजना कर्मचारीले बताए । नयाँ नेपाल पृष्ठकै नगदले पछिल्लो पटक विभिन्न प्रदेशमा कार्यक्रम गरियो । ‘काठमाडौंमा भएका भाषा पृष्ठ संयोजकलाई जिल्ला लगेर कार्यक्रम गरियो, हाकिमहरु घुमे, बजेट सके’ प्रशासनका एकजना कर्मचारीले बताए । नयाँ नेपालको बजेट होटल, रेस्टुरेन्टमा खर्च भइरहँदा भाषा भाषी पृष्ठका संयोजक र सहसंयोजकहरुको बेहाल छ ।
न्यून पारिश्रमिकमा काम गरिरहेका उनीहरुले पटक पटक संस्थानको व्यवस्थापनलाई आफ्ना पीरमर्का जानकारी गराएपनि सुनुवाइ हुन नसकेको गुनासो गर्छन् । उनीहरुसँग न त संस्थानले कुनै करार, कन्ट्रयाक्ट गरेको छ न त उनीहरुलाई कुनै प्रकारको नियुक्तिपत्र नै दिइएको छ । यहाँसम्म कि नयाँ नेपालकर्मी भनेर परिचय पत्र समेत बनेको छैन ।
खासमा संस्थान नेतृत्वलाई भाषा भाषी पृष्ठसँग खासै मतलब हुन्न । तर उनीहरुको पेजमार्फत गतिलो बजेट संस्थानमा भित्रिन्छ त्यसैले मन नपर्दा पनि भाषाभाषी पृष्ठले निरन्तरता पाएको सम्पादकीय टोलीमा समेत एकजना गोरखापत्रकर्मीले सुनाए । कुमार विवेकानन्द मिश्रलाई संस्थानका तर्फबाट गोरखापत्रको संयोजक तोकिएपछि त्यहाँको बजेटले हाकिम रिझाउने काम भएको धेरै पत्रकारको बुझाइ छ । छलफलका नाममा कान्तिपथस्थित यल्लो पंैगोडा होटलमा रमझम, भोज गरेर सारा हाकिम र उच्चपदस्थ कर्मचारीलाई रिझाउने काम मिश्रकै नेतृत्वमा भएको बताइन्छ ।
नाम मात्रैको भाषा पृष्ठ अहिले हचुवाका भरमा छापिने गरेको छ । पहिला तालिका हुन्थ्यो, कुन भाषाको कुन पेज कहिले जाने त्यो पारदर्शी हुन्थ्यो । अहिले कुन भाषाको कहिले छापिने त्यो नयाँ नेपाल पृष्ठमा कामगर्ने कम्प्युटर अपरेटरको तजबिजमा छ । केही जानकारी माग्यो भने नयाँ नेपालको कम्प्युटर अपरेटर मञ्जु सापकोटा भाषा पृष्ठ संयोजन गर्नेहरुलाई थर्काउन पनि पछि पर्दिनन् । उनको छुचो व्यवहारबारे नयाँ नेपालकर्मीले सम्पादकलाई नै भेटेर पटक पटक गुनासो गर्दा पनि उनी भाषा पृष्ठमै ठीक छिन् भनेर जवाफ पाउने गरेका छन् ।



