काठमाडौं । सरकारमा मन्त्रीहरुको हेरफेरको दबाब माओवादी केन्द्रमा पनि व्यापक रुपमा परेको छ । माओवादी केन्द्रका नेताहरु एउटा पंक्ति अहिलेका मन्त्रीहरुलाई फिर्ता बोलाएर अर्को टीम पठाउनुपर्ने तर्क गरिरहेका छन् । अध्यक्ष प्रचण्डलाई उनीहरुले निरन्तर दबाब दिइरहेका छन् । स्रोतका अनुसार, त्यसरी सरकारबाट मन्त्री फिर्ता बोलाउनुपर्छ भन्नेमा वर्षमान पुन अनन्तको टीम सबैभन्दा बढी रहेको छ ।
पुनको टीममा शक्तिबहादुर बस्नेत पनि रहेका छन् । कृष्णबहादुर महरा पनि मन्त्रीहरुको सेट परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा उभिएका छन् । त्यसैले, अहिले मन्त्री बन्ने चाहना राख्नेको टोलीका कारणले पनि प्रचण्डलाई दबाब बढ्न थालेको माओवादी स्रोतको दाबी छ ।
बर्षमान पुन भने पहिला गृह मन्त्री हुन खोजेका थिए । त्यतिबेला जनार्दन शर्माले पनि गृहमन्त्रालय नै ताकेका कारण पार्टीभित्रको विवाद मिलाउनका लागि रामबहादुर थापा बादललाई गृहमन्त्री बनाउने निर्णय भएको थियो । अहिले फेरि अर्थमन्त्रीबाट शर्मालाई फिर्ता बोलाएर आफू चुनावी गृहमन्त्री बन्ने ध्याउन्नमा पुन लागेको स्रोत बताउछ ।
पुनलाई महरा, बस्नेतलगायतका वरिष्ठ नेताहरुले साथ दिएका छन् । चुनावी गृहमन्त्रीको चाहना राखेका पुनलाई पार्टीभित्रै रोक्नका लागि शर्माको टीम पनि सक्रिय रहेको स्रोतको दाबी रहेको छ । अर्थमन्त्री पुनलाई फिर्ता बोलाउँदा माओवादीबाट अर्थमन्त्री हुने अर्को व्यक्ति नभएको र प्रधानमन्त्री देउवा र आरजुले अर्थमन्त्री आफ्नो ‘एसम्यान’ बनाउन चाहेका कारणले पुनको नजर गृह मन्त्रालयमा परेको हो । तर, प्रधानमन्त्री शेवहादुर देउवाका लागि भरपर्दो खम्बा गृह मन्त्री बालकृष्ण खाणलाई निर्वाचनसम्म कुनै पनि हालतमा नछुने अवस्था रहेको छ । त्यसैले गृह मन्त्रीमा खाण बाहेक अरू कसैले सपना नदेखे पनि हुन्छ भन्छ, कांग्रेस सूत्र ।
केपी ओली प्रधानमन्त्री भएको बेलामा पुन उर्जामन्त्री भएका कारण उनलाई फेरि दोहो¥याएर तेहेर्याएर मन्त्री बनाउन नहुने पक्षमा पनि माओवादीका धेरै नेताहरु रहेकाे स्राेत बताउछ । स्राेतका अनुसार, अहिले पुन चाहिं आफू मन्त्री नभएको अवस्थामा श्रीमती ओनसरी घर्तिलाई मन्त्री बनाउन पनि चलखेल गरिरहेका छन् ।
माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, रेखा शर्मा, हरि अधिकारी, सुरेश राई, सुदन किराँती, राम कार्की, अञ्जना विशंखे, जयपुरी घर्ति, अमृता थापा, अमनलाल मोदीलगायतका सांसदहरु मन्त्रीको दौडमा रहेका छन् । माथि उल्लेखित मध्ये हरि अधिकारी, सुरेश राई, अञ्जना विशंखे, सुदन किराँती, अमनलाल मोदी र अमृता थापाहरूले एक पटक पनि अवसर नपाउने त भन्ने दवाव प्रचण्डमाथि परेकाे स्राेत बताउछ ।
त्यसो त, नारायणकाजी श्रेष्ठलाई परराष्ट्र मन्त्री बनाउने कुरा भएपनि उनलाई रोक्न गोरखाकै हरि अधिकारीको नाम अगाडि सारिएको छ । स्रोतका अनुसार, गोरखाकै सांसद चुडामणि खड्काहरुको टोली श्रेष्ठलाई रोक्न अधिकारीको नाम अगाडि सारिएको हो । यद्यपि मन्त्री हेरफेर भएको अवस्थामा श्रेष्ठको समूहबाट एकजना मन्त्री बनाउन भने अध्यक्ष प्रचण्ड सहमत रहेको पनि माओवादीमा चर्चा रहेको छ ।
अघिल्लोपटक पूर्व जनमोर्चाको टीमबाट शशी श्रेष्ठलाई मन्त्री बनाएको भए पनि उनी हाल श्रेष्ठ समूहमा भने नरहेकाे स्राेत बताउछ ।
श्रेष्ठले आफ्नो समूहबाट अञ्जना विशंखेलाई मन्त्री बनाउने प्रयास गरेका थिए । अहिले मन्त्रीहरु हेरफेर भएको अवस्थामा भने श्रेष्ठ र विशंखेमध्ये एकजनालाई मन्त्री बनाउन प्रचण्ड सहमत रहेको पनि चर्चा माओवादीभित्र हुने गरेको छ ।



