सामाजिक सञ्जालको समयरेखामा नजर दौडाउँदै जाँदा किबोर्ड कर्सर सामुदायिक विद्यालयका एक प्रधानअध्यापकको स्टेटसमा पर्यो । पछिल्लो पटक सार्वजनिक यौन हिंसा तथा बलात्कारका मुद्दामा उनले बनाएको धारणा पढेपश्चात केही क्षण सोंचमग्न बने । ‘हाम्रा छोरीचेलीमाथि आँखा लगाउने र इज्जत लुट्नेहरूलाई त्यतिकै नछाडौं ।’ उनको स्टेटसको अन्तर्य थियो यो ।
सतही रुपमा यस स्टेटसले बलात्कारीलाई सजाय दिनुपर्ने कुराको वकालत गरेको जस्तो देखिएता पनि यस स्टेटसले बलात्कारलाई महिलाको इज्जत लुट्नेदुष्कर्मको रुपमा मात्र परिभाषित गर्दछ । हुन त बलात्कृत हुनु भनेको इज्जत लुटिनु हो भन्ने सामाजिक मनोविज्ञानको पेरिफेरीमा रुमलिइएका अधिकांशलाई यस वक्तब्यको पछाडि पितृसत्ताको हैकमवादी मानसिकताको ज्ञान नहुनु अस्वभाविक होइन, तर बलात्कारविरुद्ध लागेका भनिएका अध्ययनशील व्यक्ति र नारीवादीहरू समेत ‘इज्जत लुट्न पाइँदैन’ भन्दै जब सडक सङ्घर्षमा देखिन्छन्, तब हाम्रो सोच्ने प्रणालीमै गड्बडी छ भन्ने प्रमाण मिल्छ ।
बलात्कार हुनु भनेको महिलाको अस्मिता लुटिनु हो भन्ने परम्परागत स्त्रीद्वेषी अवधारणालाई प्रश्न गर्दै भारतीय नारीवादी लेखक कमला भसिन भन्छिन्, ‘नारीको इज्जत कसले यौनीमा राखिदिएको छ बलात्कार हुनासाथ लुटिने ?’ कमला भसिनको यस प्रश्नले वास्तवमा हामी सबैको मस्तिष्क डाम्नुपर्ने हो ।
फलतः ‘मैले फलानीकी छोरी ठोकिदिएँ’ भन्दै खुलेआम घोषणा गर्ने पुरुषलाई हिंस्रक हुने प्राधिकार प्रदान गरेर समाजले बलात्कारी उत्पादनमा उत्प्रेरकको भूमिका निर्वाह गर्दै आएको छ ।
नारी वा समाजका जोसुकै व्यक्तिको इज्जत उसको कार्यशैलीमा निर्भर गर्दछ, कुनै अङ्गमा होइन भन्ने कुरा बुझ्न हामीले जति जति ढिला गर्दै जान्छौँ, सोही अनुपातमा महिलामाथि पितृसत्ताका आधारमा हुने विभेदजनित भाष्यहरू पनि थप पुनरोत्पादन हुने प्रक्रियाले निरन्तरता पाउँदै जानेछ ।
यस किसिमको सामाजिक मनोविज्ञानका कारण हिंसा पीडित नारीहरू समेत कथित इज्जत जाने डरका कारण बलात्कारविरुद्ध बोल्न डराउँछन् । गुपचुप त्यसलाई सहन्छन् र भित्रभित्रै मानसिक र शारीरिक जलनको भुंग्रोमा आफै डढ्दै खरानी खरानी हुँदै जान्छन् ।
२०७८ पौषमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघठन गरेपश्चात आलोचकहरूले उनले संविधानको बलात्कार गरेको भन्ने किसिमको तुच्छ अभिव्यक्ति दिए । यसलाई थप पुष्टि गर्न उनीहरूले उन(प्र.मं.)ले संविधानको इज्जत लुटेको र यसले संविधानकै अस्मितामा गंभीर प्रश्न चिन्ह खडा गरेको भन्ने किसिमको अभिव्यक्ति दिए ।
देशका विद्वान कानून वयवसायीहरूबाट आएको यस्तो अभिब्यक्तिले पहिलो त बलात्कारको सामान्यिकरण गरिरहेको त थियो नै दोस्रो बलात्कार र इज्जत लुटिनुलाई प्राययको रुपमा ब्याख्या गरिरहेको थियो ।
ओलीको सर्वसत्तावादी राजनैतिक घटनाक्रमलाई बलात्कार जस्तो जघन्य अपराधसंग तुलना गरेर अपराधको घनत्व कम गर्न र बलात्कार पीडितहरूलाई थप मर्माहत पार्न यस्ता अभिव्यक्तिहरूको महत्वपूर्ण भूमिका रहन्छ ।
दलित बालिका अङ्गिरा पासीमाथि बलात्कार भएपश्चात वडा अध्यक्षहरूकै मिलेमतोमा उक्त कुरा गुपचुप राखियो र मिलापत्र गराउने पर्यत्न गरियो । जब उनकी आमाले आफ्नी छोरीको इज्जत लुटिएकोले उसलाई कसैले पनि विवाह नगर्ने बताएपश्चात जनप्रतिनिधिहरूको सहमतिमा बलात्कारीसंग विवाह गराइयो, तब अङ्गिरा पासी झुन्डिएर आत्महत्या गर्न पुगिन् । यसका पछाडि तत्कालीन जातवादी संरचना त जिम्मेवार थियो नै, बलात्कारलाई नारी अस्मिता हरणसंग तुलना गर्ने सामाजिक मनोविज्ञानको पनि उतिकै भूमिका छ ।
बलात्कारमा पर्ने युवतीको नभै बलात्कार गर्ने व्यक्तिको बेइज्जत हुनुपर्ने भाष्य समाजमा स्थापित हुँदो हो त १४ वर्षको कलिलो बालापनमै अङ्गिराले मृत्युलाई अङ्गाल्न विवस हुँदिनथिन् । बलात्कारलाई नारी अस्मिता लुटिएको अर्थमा ब्याख्या गर्ने सामाजिक संरचनाले बलात्कारी पुरुषको इज्जतबारे भने कुनै प्रश्न तेस्र्याउँदैन ।
फलतः ‘मैले फलानीकी छोरी ठोकिदिएँ’ भन्दै खुलेआम घोषणा गर्ने पुरुषलाई हिंस्रक हुने प्राधिकार प्रदान गरेर समाजले बलात्कारी उत्पादनमा उत्प्रेरकको भूमिका निर्वाह गर्दै आएको छ ।
पितृसत्तात्मक समाजले महिलालाई मान्छे नभै सम्पत्तिको रुपमा नियाल्छ । एउटी नारी बाल्यकालमा पिताको, बयस्कमा पतिको र बृद्धावस्थामा पुत्रको निगाहमा बस्नुपर्छ भन्ने मनुस्मृतिलगायतका हिन्दु विधिशास्त्रको मतलाई आधार मान्ने हो भने पनि परम्परागत धर्मशासनदेखि नै नारीलाई पूर्ण मान्छे नठानिएको पुष्टि हुन्छ ।
अझ जीवनसंगीनीलाई अर्धाङ्गिनीको रुपमा अर्थ्याउन थालिन्छ, तब महिला आफैमा आधा अङ्ग मात्र रहेको र पुरुष बिना उसको पूर्ण शरीर समेत बन्दैन भन्ने पितृसत्तात्मक मनोविज्ञानको पुनरोत्पादन भएको छताछुल्ल हुन्छ ।
सम्पत्तिको भोगाधिकार र स्वामित्व क्रमश पुरुष पुस्तामा सर्दै जाने कुरालाई मनुस्मृतिकृत उक्त आदेशसंग तुलना गर्ने हो भने पनि महिला अस्तित्वलाई पुरुषनियन्त्रित सम्पत्तिको रुपमा धर्मसत्ताले बुझ्दै आएको थियो भन्ने छर्लङ्ग हुन्छ ।
जब महिलालाई मान्छे ठानिदैन, तब उसका पीडाहरूलाई पनि मान्छेले पाउने पीडाको घनत्वसंग दाँजिदैन । जसरी पशुबध गर्ने क्रममा एउटा पशुले पाएको पीडामय छटपटीलाई सामान्य ठानिन्छ, महिलामाथि यौन हिंसाका आधारमा भएको प्रताडनालाई नियाल्ने चस्मा समेत त्यही हुन पुग्दछ ।
फलतः बलात्कारबाट महिलाले भोग्ने मानसिक यातनाको जोड घटाउ र गुणनतर्फ हाम्रो मस्तिष्क चल्दैन बरू एउटा कथित मर्द पुरुषको सम्पत्ति अर्को पुरुषले लुटिएको अर्थमा बलात्कारको अनर्थ लगाउन पुगिन्छ ।
महिलालाई कुनै घरको इज्जत धानिदिनुपर्ने ठेक्का दिइन्छ र उमाथि यौन हिंसा हुँदा समाजले आत्मानुभूति गर्नुको सट्टा इज्जत धान्न नसकेको बात लगाइ उसलाई आत्महत्यासम्मको स्थितिमा पु¥याउँछ । लेखक तथा कवि सरिता तिवारीको कवितांश सापट लिने हो भने एक थान यौनी र एक जोडा स्तन बोकेको अपराधमा पितृसत्ताले एउटी महिलालाई मृत्युदण्डको सजाय दिन्छ ।
महिलामाथि हुने बलात्कार र यौन जन्य दुव्र्यबहारलाई जब नारी अस्मितामाथिको प्रहार वा इज्जत लुटिएको अर्थमा ब्याख्या गर्न थालिन्छ, तब हाम्रो विचारशैलीमा नै सङ्कट उत्पन्न हुन थाल्दछ । । सोचाई र चिन्तनप्रणालीमै विकृत धब्बायुक्त गडबढी देखा पर्न थाल्दछ । अन्ततः त्यसबाट पीडित व्यक्ति झन पीडाको अनन्त कस्टमय भूमरीभित्र हेलिनुपर्ने बाध्यता सिर्जना हुन थाल्दछ ।
यसर्थ कमला भसिनले भनेजस्तै यस्ता परम्परागत भाष्य खारेज गर्दै बलात्कारपीडितको नभै बलात्कारीको बेइज्जत हुनुपर्ने वा यस्तै किसिमका बलात्कारपीडित महिलालाई हिंसाविरुद्ध बोल्न प्रेरित गर्ने मानक र भाष्यहरू अविलम्व निर्माण गर्न आवश्यक छ ।



