भुस्वर्गराज्य गाउ“को कथा समेटिएको ‘प्रपञ्च’ उपन्यासको विषयबस्तु पञ्चायतकालीन समयमा न्यायको सिद्धान्त कस्तो थियो भनेर अहिलेको युवा पुस्तालाई जानकारी दिने एउटा ऐना हो । त्यस समयमा प्रधानपञ्चले गर्ने नियानिसाफ नै कानून हुने र उनीहरूको बोलीका अगाडि अरु कसैको कुनै जोर नचल्ने कुरालाई यस उपन्यासले दर्शाउन खोजेको छ । भद्र भलाद्मीको सभादेखि समाजमा घट्ने अनेकौं घटनाको छिनोफानो उनीहरूको मुखबाट नै हुने गर्दथ्यो ।
यस उपन्यासको परिवेश सिन्धुली, रामेछाप र मन्थलीको वरपर घुमेको छ । मुख्य विषयबस्तुको रूपमा प्रेमलाई जोड दिइएको छ । त्यो कतै विद्यार्थी वयको प्रेममा झा“ग्गिएको छ भने, कतै गुरु शिष्यबीच मौलाएको छ । यही आञ्चलिकताका कारण कतै रोमान्चकता थपिएको छ भने कतै घृणाको दुर्गन्ध फैलिइएको छ । समग्र उपन्यासले प्रेमको जिवन्तालाई जोड दिएपनि कतै त्यो असफलताको खाल्डोमा गाडिएर आत्महत्याको बाटोसम्म रोज्न पुगेको छ । कतै बिर्सौ वर्ष आफूले चाहेको मानिस पाउनका लागि गरिएको त्याग देखाइएको छ । यो त्रिकोणात्मक तवरले चलिरहेको प्रेमको रितलाई चाहेर वा नचाहेर अगाल्न विवश छन् पात्रहरू ।
बाल्यकालमा नजानिकन गरिएको प्रेमको सन्दर्भ र समाजले हेर्ने गरेको दृष्टिकोणले आङ्सिरिङ्ग हुन्छ । जहा“ प्रेम, विवाह र यौवनको केही जानकारी नभएको अवस्थामा देखिएको बालसुलभ आकर्षणमा समाजले हेरेको आ“खा घिनलाग्दो तरिकाले चित्रण गरिएको छ । त्यो अज्ञानतावस नभएर प्रपञ्च रचिएको पुष्टि हुन्छ । त्यही भएर त अञ्जली र पुष्पप्रसादको विवाहलाई पनि अञ्जलीले फसाएकी हो भनेर नारीमाथि दोष थोपरिएको छ । यसले पनि त्यो समयमा पुरुषकै बोलवाला रहेको कुराको पुष्टि गर्छ ।
रामबाबु नाम गरेको शिक्षकले उजेलीमाथि गरेको अन्यायका कारण उजेलीले आत्महत्या गरेको देखाएर समाजका नारीको अस्तित्व कमजोर देखाइएको छ । यही अपराध गरेको आरोपमा रामबाबुलाई भने चारपाटा मोड्ने आदेश पञ्चहरूबा भएको छ । यहा“ नारीको कुराको सुनुवाइ कम देखिन्छ । सभा र निर्णयमा पनि पुरुषमात्र भएर निर्णय गरेका छन् । यो कुराले नारीमाथि अन्याय भएको विचार प्रस्तुत गरिएको छ । यसका मुख्य खलपात्रको रूपमा चन्द्रकला र पुन्यप्रसादलाई देखाइएको छ । उनीहरू अञ्जलीको प्रेमप्रति इष्र्यालु तरिकाले प्रस्तुत भएका छन् । उनीहरूले अरुको चियोचर्चो र खराब कुराको अफवाह फैलाउनमा समय खर्चिएकाछन् ।
प्रेमका विषयस“ग औ“सी र चन्द्रमाका प्रसङ्ग जोडिएर आएका हुनाले पनि प्रकृति, सृष्टिचक्र र मानवताको संयोजन कसरी हुन्छ भन्ने कुरालाई देखाएर सृष्टि र प्रकृतिको नियमको संतुलनता खोजिएको छ । प्रेमले जितेर पनि हार्छ र हारेर पनि जित्छ भन्दै समय र प्रेमको तुलना गरिएको छ । यस उपन्यासको अभागी पात्रको रुपमा निलिमालाई चित्रण गरिएको छ । जो बिस वर्ष पर्खेर पनि आफूले चाहेको पुरुषस“ग विवाह गर्न सकेकी छैन । आफू बुढी हु“दै गएपनि विवाहको कुनै मेसो मिलेको छैन । तरपनि अझैं प्रेमीको प्रतिकृया पर्खेर बसेकी छे । प्रेम प्राप्ति नभएपनि त्याग हो भन्ने कुरा उसले पुष्टि गरेकी छे ।
कथानकको बहाव आकारका हिसाबले राम्रो देखिएको छ । यसले विषयबस्तुको लागि पूरा न्याय गरेको पाइन्छ । पात्रहरूले देखाएको भूमिका र कथाको परिवेशले सन्तुलन कायम गरेर कथानक अगाडि बढेको छ । यसले उपन्यासको अघिल्लो कथानकसम्म पुग्नका लागि पाठकलाई हौस्याउ“दै तानिरहन्छ । यो उपन्यासकारको खुवी हो । यसको प्रशंसा गर्न जरुरी छैन ।
कथाको प्रसंग ल्याउने कुरामा कतै गौढ प्रवृत्ति पनि राखिएको छ । त्यो पाठकको जिज्ञासालाई बढाउनका लागि हो भन्ने कुरा उपन्यासको अन्त्यतिरमात्र खुल्छ । नत्र यो भ्रम हो भन्ने पाठकको मनमा परिरहेको हुन्छ ।
छोरीहरूले बाबुको विवाहको लागि गरेको तारतम्यताले पुरुषले बुढो भएपनि एकल बस्न नहुने कुरालाई देखाएको छ । यसले मृत्यु संस्कारमा श्रीमती चाहिन्छ भन्ने कुराको बोध गराउन खोजेको देखिन्छ । सिन्धुलीको गोलन्जोर वरपर विताएका युवा उमेरका प्रकाश कोइरालाले लेखेको यो उपन्यास एउटा अनुभवी लेखेकको साधनाभन्दा कम छैन । आफूले सुनेको कुरालाई स्थान र परिवेशका आधारमा आमाको सहयोग लिएर तयार पारेको कुरा स्वःघोषणा गरेका कारण आमालाई पनि यो विषयले छोएको थियो भन्ने कुरा पुष्टि हुन्छ । यो सबै उमेर समूहका पाठकको लागि उत्तिकै रुचिकर र पठनीय रहेको छ ।
कविताका घुमिरहेको कलम एकाएक उपन्यासमा गएर चट्टानी बाटो छिचोलेर अगाडि बढेकोमा मुरिमुरि बधाई । यो यात्रा निरन्तर जारी रहोस् । हार्दिक शुभेच्छा प्रकाश ।



