🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विकासको सिद्धान्त र मान्यता के हुन् ?

विकास र गरिबी एकअर्कासँग अन्तरसम्बन्धित अवधारणा हुन् । गरिबी, असमानता तथा सामाजिक विभेद तेस्रो विश्वको प्रमुख सामाजिक, आर्थिक तथा राजनीतिक समस्या हो । अफ्रिका, ल्याटिन अमेरिका र एसियन मुलुकहरूलाई तेस्रो विश्व भन्ने गरिएको छ । चीन, क्युवा जस्ता समाजवादी मुलुकहरूलाई दोस्रो विश्व तथा अमेरिका, युरोप, जापान, अष्ट्रेलिया, न्यूजल्याण्ड जस्ता विश्वका विकसित र सम्पन्न मुलुकहरूलाई पहिलो विश्व भनिने गरिएको छ । विकास, गरिबी र असमानतासँग मुलुकको राजनीतिक, सामजिक, आर्थिक, साँस्कृतिक पक्ष र कारणहरू जोडिएर आएका हुन्छन् । 

विकास मूलत: राज्यसँग गाँसिएर आउने हुन्छ भने गरिबी व्यक्तिसँग जोडिएर आउने गरेको छ ।  विकासमा मूलत: राष्ट्रिय कूल आय (नेशनल ग्रस इन्कम)लाई आधार मानिने भएपनि शिक्षाको अवस्था, रोजगारी, पूर्वाधार विकास, राजनीतिक प्रजातन्त्र, स्थायित्व जस्ता कुराहरूलाई आधार बनाइन्छन् । आयस्तर र गुणस्तरीय जीवन (क्वालिटी अफ लाइफ) विकासको मापन गर्ने अर्काे माध्यम हो ।यसरी समग्रतामा नाप्दा अमेरिकालाई विश्वको पहिलो नम्बरको विकसित मुलुक मानिएको छ भने दोस्रोमा चीन रहेको छ । विकास र समृद्धिको सूचीमा अमेरिका अगाडि रहेको भएपनि सुखीको विश्व मापदण्डमा युरोपका फिनल्याण्ड, न्यूजल्याण्ड, स्वीजरल्याण्ड जस्ता मुलुकहरू अग्रिणी रहेका छन् । 

विकास सम्बन्धी धारणा
विकास एउटा मानवीय तथा सामाजिक प्रक्रिया हो । विकास निर्माणात्मक (कन्ट्रक्ट्रीभ) तथा ध्वङ्सात्मक (डिस्ट्रक्ट्रीभ) अवधारणामा हुन्छ भन्ने मान्यता छ । मानव समाजको विकास र मानवीय विकास प्रायः निर्माणात्मकनै हुने गरेको देखिएको छ ।

ब्लाक ल डिस्नेरीले विकासलाई मानव निर्मित परिर्वतन र सुधार जसमा भौतिक संरचना, भवन, खानी, खनिजको उत्खनन् जस्ता कुराहरू पर्दछन् भनेको छ । विकास एउटा बहुआयामिक र व्यापक अवधारणा हो । मानिस र समाजका विविध पक्षमा निरन्तर आउने परिवर्तन विकास हो । संयुक्त राष्ट्र संघको राइट टु डिभलेपमेन्ट, १९८६ ले विकासमा सामाजिक–आर्थिक, भौगोलिक, राजनीतिक, प्रविधिगत, शैक्षिक, प्रशासनिक जस्ता पक्षमा प्रत्यक्ष प्रभाव पार्दछ भनेको छ ।

सो घोषणाको धारा १ ले विकास मानिसको आधारभूत मानवअधिकार हो  जसमा सबै मानव जातिको हक र अधिकार हुन्छ भन्दै त्यो सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक आदि पक्ष र क्षेत्रमा हुन्छ भनेको छ । राज्यले नागरिकका राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक अधिकारको सुरक्षा हुने गरी नीति लागू गर्नुपर्ने कुरामा सो घोषणाको धारा ३ ले जोड दिएको देखिन्छ । संयुक्त राष्ट्र संघको गठनको प्रमुख उद्देश्य पनि अन्तर्राष्ट्रिय शान्ति, अन्तर्राष्ट्रिय विवादहरूको शान्तिपूर्ण समाधान र विकास रहेको छ । 

प्रजातन्त्र, शान्ति, दिगोे विकास, समृद्धि, सुशासन, नागरिक अधिकार, सामाजिक विकास आदि सबै अन्तरसम्बन्धित विषयहरू हुन् । मानव विकास प्रतिवेदन, १९९५ ले विकास सबैलाई समान अवसर दिने माध्यम हो भनेको छ । विश्व बैंकले विकासका विभिन्न पक्ष हुने उ्रल्लेख गरेको छ । एसियाली विकास बैंकले आर्थिक बृद्धि गर्न, गरिबी निवारण गर्न, मानव विकासमा सहयोग गर्न तथा वातावरणको संरक्षण गर्ने नीति विकासमा हुनुपर्ने भनेको छ ।

अमेरिकी विद्वान् डेभिड कोर्टेन ( सन् १९३७) ले विकासलाई एउटा त्यस्तो अविछिन्न प्रक्रिया जसमा समाजका सदस्यहरूले तिनीहरूको व्यक्तिगत र संस्थागत क्षमता प्रयोग गर्दै प्राकृतिक र मानव निर्मित स्रोतको प्रयोग गरी आफ्ना लागि दिगो र सम्पन्न उत्पादनमा केन्द्रीत हुन्छन् भनेका छन् । बेलायती ह्युगो स्लीम (१९६१) ले डिभलोपमेन्ट इन प्राक्टिस (१९९५) मा विकासलाई परिवर्तनको प्रक्रिया हो जुन सधैँ जारी हुन्छ भनेका छन् ।

विकास हरेक मानिसको लागि आवश्यक कुरा हो । त्ससैले प्रत्येक सरकारको मूल मुद्दा विकास हुने गर्दछ । अर्थशास्त्री, नीति निर्माता र राजनीतिक नेतृत्वको लागि विकास एउटा गम्भीर र महत्वपूर्ण अवधारणा हुन पुगेको छ । जुनैपनि राज्य, शासन र प्रणालीको पहिलो आवश्यकता र प्राथमिकता विकास हुनुपर्दछ भन्ने मानिन्छ ।

विकास सम्बन्धि विभिन्न सिद्धान्त
दोस्रो विश्व युद्ध पछिको अविधिमा विश्वमा आर्थिक विकासलाई प्रमुख मान्न थालिएको हो । आर्थिक विकासबाटै राज्यहरूले पूर्वाधारको विकास, निर्माण, उत्पादनको क्षमतामा विस्तार जस्ता क्षेत्रमा लगानी गर्दै थप सम्पन्न हुन सकेका छन् । मानव स्रोतको विकास र विस्तार अर्काे महत्वपूर्ण सिद्धान्त र मान्यता हो । प्रत्येक विकासमा मूल रुपमा मानव नै क्रियाशील र सक्रिय हुने भएकोले पनि मानिसको आय बृद्धि तथा उत्पादनको क्षमता विस्तार हुनुपर्दछ भन्ने मानिएको हो । सामाजिक कल्याण र विकासलाई पनि महत्वपूर्ण मान्यता मानिएको छ । आधारभूत आवश्यकता पूर्तिको अवधारणाले मानिसमा दैनिक आवश्यकताका वस्तु तथा सेवाको विकास र विस्तार एवम् वितरणमा ध्यान दिनु पर्ने मान्दछ ।

हालैका दशकहरूमा मानव विकास सम्बन्धी अवधारणाले पनि महत्व पाएको छ । भारतमा जन्मेका अमेरिकी अर्थशास्त्री अमत्र्य सेन (१९३३) तथा पाकिस्तानको पंजाबमा जन्मेर अमेरिकालाई नै आफ्नो कर्मथलो बनाएका मोहबुब उल हक (१९३८–१९९८) आदिले यस सम्बन्धी विचारधारामा जोड दिएका हुन् । सेनले सन् १९९८ को अर्थशास्त्रको लागि नोबेल पुरस्कार पनि पाएका थिए । उनीहरूले विकासमा नागरिक सहभागितामा बढी जोड दिँदै नागरिकहरू स्वयम् विकासमा सहभागी हुन पाउनु पर्ने भन्दै शिक्षा, बृहत् अवसर, क्षमता बृद्धि तथा राजनीतिक स्वतन्त्रताको पक्षमा वकालत गरेका छन् । 

अधिकारमा आधारित मान्यताले मानिसमा आधारभूत मानवअधिकार र विकासलाई निकटको सम्बन्ध हुन्छ भन्ने मान्यता राख्ने गरेको छ । यो मान्यताको वकालत गर्नेहरूले अन्तर्राष्ट्रिय र राष्ट्रिय कानून र  संविधानहरूले उल्लेख गरेका सबै अधिकारहरूमाथि कुनै पनि संस्था र व्यक्तिले हस्तक्षेप गर्न नहुने भन्ने गरेका छन् । विकासको लागि नागरिक अधिकारको वहाली, सहभागिता, स्वतन्त्रता, विभेदको अन्त्य, पछि परेका समूदाय, वर्ग र क्षेत्रको उत्थान र विकासमा राज्यले लगानी र सुरक्षा गरिदिए विकासको वातारण बन्ने मान्दछ । 

मानव विकास प्रतिवदेन, सन् २००६ ले पनि विकासको लागि समाजमा रहेका विभेदको अन्त्य हुनुपर्ने भनेको छ । व्यक्तिगत स्वतन्त्रता र सुरक्षामा कतैबाट धम्की हुनु नहुने, सबै खालका हिंसा हुन नहुने, बोल्ने–लेख्ने जस्ता प्रजातान्त्रिक अधिकारको हनन हुन नहुने, सामाजिक विभेद र अन्याय हुन नहुने आदि पक्षलाई विकासको आधार मानेको देखिन्छ । 

सहशताब्दी विकास लक्ष्यले पनि विकासको लागि गरिबी र भोकमरीको अन्त्य, शिक्षा, लैङ्गिक समानतामा हटाउन जोड, बालमृत्युदरमा कमि तथा विकासमा सहभागिता बृद्धि गराउनु पर्ने जस्ता विषयलाई विकासको लागि आधारभूत वातावरण हो भनेको छ ।

विकासमा मूलत: तीन खालका हुन्छन् । आर्थिक विकास, सामाजिक विकास र मानव विकास । विकासमा तीनवटा मूल मूल्य (कोर भ्यालु) हरूमा आधारभूत आवश्यकताको आपूर्ति, छनौटको स्वतन्त्रता र व्यक्तिको क्षमता विकास पर्दछन् । आर्थिकमा औद्योगिकीकरण, रोजागारीमा बृद्धि, आय बृद्धि, आधारभूत आवश्यकताका वस्तुको सहज र सरल आपूर्ति र पर्याप्त मात्रामा पूर्वाधारको विकास र विस्तार पर्दछन् ।

सामाजिक पक्षमा विभिन्न विभेदहरूमा कमि, असल शासन, न्याय, सुशासन, स्वतन्त्रता, सुरक्षा, समता, समानता, सामाजिक कल्याण जस्ता कुराहरू पर्दछन् । मानव विकास पक्षमा जीवन बाँच्ने दरमा बृद्धि, बालमृत्युदरमा कमि, सुखी जीवन जस्ता कुराहरू हुन्छन् । त्यसैगरी सामान्य पक्षहरूमा प्रतिव्यक्ति आयमा बृद्धि, राष्ट्रिय आयमा बृद्धि, मानवीय आवश्यकताका वस्तुहरूको उपलब्धता जस्ता कुराहरू पर्दछन् । 

सारमा,
विकास सम्बन्धीसबै मान्यताको निचौढ भनेको फेरिपनि आर्थिक विकास, सामाजिक विकास र मानवीय जीवनमा समृद्धि, सुखी तथा सम्पन्नता ल्याउने तर्फ नै रहेको देखिन्छ । भौतिक साधन–स्रोत बढी हुनु मात्र पनि विकास होइन । विकासमा राज्य प्रमुख शेयरहोल्डर हो तर सम्पुर्ण शेयरहोल्डर होइन, हुन सक्दैन। नागरिकहरू विसकाका शेयरहोल्डर सदस्य हुन् । तसर्थ उनीहरूको सार्थक सहभागिता र अपनत्व कसरी हुन सक्दछ त्यो नै दिगो विकास हुन्छ ।