🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तथ्यांक संकलन कि मिथ्यांक संकलन ?

मोरङकी ईश्वरा शिवालाई बाह्रौ जनगणनाको तथ्यांक संकलनार्थ खटिएका गणकले कुन धर्म मान्नुहुन्छ भन्ने प्रश्न गरे । ईश्वरीय मान्यता र धर्ममा विश्वास नराख्ने भौतिकवादी उनले नास्तिक लेखिदिन गणकलाई अह्राईन । गणकले धर्मको महलमा नास्तिक लेख्नुअघि सुपरीवेक्षकको सल्लाह मागे । सुपरीवेक्षकले जिल्लासंग सल्लाह गरे । जिल्लाबाट आदेश आयो–धर्मको महलमा धर्म खुलाउनुपर्छ । नास्तिक लेख्न मिल्दैन ।  उनले आफू भौतिकवादी भएको भन्दै आफूले कुनै धर्म नमान्ने जिकिर गरिन । 

विश्वका सोह्र प्रतिशत मानिसहरू धर्मबाट अलग रहेको कुरा गरिन । तर, धर्म निरपेक्ष राज्यका उस्ताद तथ्याङ्कशास्त्रीले रटान लगाइरहे–माथिको आदेश छ, तपाइँले धर्म खुलाउनैपर्छ । आफ्नो कुनै जोर नचलेपश्चात ड्यास लगाउन आग्रह गरिन् । उनको सो आग्रह पनि गणकले नकारे । अन्त्यमा  अन्य लेखाउन विवश भईन् । । 

जनगणनाका प्रश्नावलीहरू लिएर गणकहरू हिजोआज घरदैलोमा पुगेका छन् । विगतका गणनाहरूमा जस्तो एउटा बैठकमा पुगेर गाउँभरीका सबै परिवारको तथ्याङ्क लिने र त्यसलाई काँटछाँट गरेर मनमौजी तथ्याङ्क भर्ने विगतको जस्तो प्रवृत्ति यस जनगणनामा त्यति देखा परेको छैन । यद्यपि गणकहरूले सम्बन्धित व्यक्तिलाई नसोधी प्रश्नको उत्तर लेख्ने क्रम यस पटकको जनगणनामा पनि रोकिएको छैन ।  धर्म सम्बन्धी विवरण गणकले सोद्धै नसोधी भरिदिने गरेको गुनासो धेरैले गरेका छन् । सामाजिक सञ्जालमा सचेत नागरिकहरूले प्रस्तुत गरेका अभिव्यक्तिहरूबाट समेत यसपालीको जनगणनामा पर्याप्त मिथ्याङ्कहरूको खेती गरिएको पुष्टि हुन्छ । 

राज्य धर्म निरपेक्ष छ । धर्म मान्ने वा नमान्ने स्वतन्त्रता नागरिकको हुन्छ । तर, धर्म निरपेक्ष राज्यका उस्ताद तथ्याङ्कशास्त्रीहरूले यस जनगणनामा समेत धर्म नमान्ने नास्तिक वा भौतिकवादीहरूको तथ्याङ्क संकलन गर्न चाहेनन् । आफूलाई कम्युनिस्ट र समाजवादी भन्ने दलहरू सत्ता सञ्चालनको चावी हातमा लिएर बसेका छन् । कम्युनिस्ट हुनु भौतिकवादी हुनु हो । विज्ञानको प्रयोगशालाबाट पुष्टि भएका र पुष्टि हुने संभावना रहेका लौकिक कुराहरूमा विश्वास गर्नेहरू मात्र कम्युनिस्ट हुन संभव छ । सत्ताधारीदेखि प्रतिपक्षी मैदानमा स्वघोषित कम्युनिस्ट नामधारीहरू छन् ।

उनीहरूका संगठित राजनैतिक सदस्यहरू चानचुन बिस लाख जति होलान्। कम्युनिस्ट वैचारिकी नबुझेका व्यक्तिहरू कम्युनिस्ट पार्टीको संगठित सदस्य हुँदैनन् भन्ने सैद्धान्तिक आधारलाई आत्मसात गर्ने हो भने पनि मूलधारको राजनैतिक दलसंग साइनो जोडेका पाँच प्रतिशत कार्यकर्ताहरू गैरधार्मिक हुनुपर्ने हो । यति महत्वपूर्ण हिस्सा ओगटेका नागरिकको विषयमा तथ्याङ्क संकलन गर्नुपर्ने कुरा धर्मलाई शोषणको औजार मान्ने कम्युनिस्ट भनिनेहरूले सोच्न सकेनन् । विचारधारामा देखिएको सैद्धान्तिक विचलनले संसदवादी कथित साम्यवादीहरू धर्मकै रछ्यानमा लुट्पुटिएको कुरा पुष्टि हुन्छ ।  

तथ्याङ्कशास्त्रीहरू सर्वगुणी हुँदैनन् । सबै विषयबारे जानकार हुनुपर्छ भन्ने पनि छैन । तर उनीहरूले संकलन गर्ने तथ्याङ्क विश्वसनीय र वस्तुनिष्ठ भने जरुर हुनैपर्ने हुन्छ । यसक्रममा उनीहरूले सरकारको सहयोग जरुर लिएको हुनुपर्छ । दुई तिहाईको वामपन्थी सरकारको पालामै धुमधामसंग सम्पन्न गरिएको जनगणनाको तयारीका निम्ति तत्कालीन सरकारले केन्द्रीय तथ्यांक विभागको सहयोगका निम्ति समाजशास्त्रीहररूलाई पनि खटाएको हुनुपर्छ । तर ठोरीका दशरथपुत्रको अलाप जपेर रामराज्य खडा गर्ने धार्मिक प्रोपोगाण्डाको आधारमा शासन सत्ता टिकाउन हमेसा चेष्टावान तत्कालीन सरकारले यसपालीको जनगणनामा भौतिकवादीहरूको तथ्यांक संकलन नगर्न उर्दी थमायो । अझ भनौ हिन्दुत्वको वर्चस्व देखाएर चुनाव जित्न बजाइएको एकतारे थियो सायद त्यो । 

विवाद धर्मको विषयमा मात्र छैन । जाति भाषा आदिको सन्दर्भमा समेत सही तथ्याङ्क नआउने लगभग निश्चित जस्तै छ । भाषाको महलको कोड नम्बर ४३ मा वाम्बुले हुनुपर्नेमा याम्बुले छ । बागलुङको  ढोरपाटन नगरपालिकाका कायत समुदायले   जनगणना बहिस्कार गर्ने निर्णय नै ग¥यो। आफूहरू जनजाति भित्रको जाति रहेको सो जाति समुदायले राज्यबाट बहिष्करणमा परेको महसुस गरेको छ  । सिसाकलम प्रयोग गर्न नपाइने र निलो मसीको प्रयोग गरी गणना गर्नुपर्ने तथ्याङ्क विभागको निर्देशिकालाई लत्याउँदै धमाधम सिसाकलमले तथ्याङ्क भरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भैरहेको छ । यसले वर्चस्वशाली समुदायले अल्पसंख्यकको तथ्याङ्कलाई तोडमोड वा केरमेट गरेर आफू अनुकूल विवरण तय गर्न खोजेको पो हो कि भन्ने आशंका आम जनमानसमा जन्माएको छ । 

 जनगणनाको प्रश्नावलीमा समावेश गरिएका प्रश्नहरू नसोधी अनुमानकारिता गर्ने गणकहरू समेत पर्याप्त भेटेको गुनासो पनि सुनिन्छन् ।  मेरो भाषा वा धर्म किन सोध्नुभएन भन्दा उनीहरूको बनावटी जवाफ हुन्छ–‘साँझ घर गएर भरिदिई हाल्छौंनि, वा तपाइँ फलानो धर्म मान्ने फलानो भाषी त हो नि ।’ अपाङ्गतालगायतका प्रश्नावलीमा गणकहरू प्रवेश नै नगरी स्वयम् तथ्याङ्क भरिदिएको अनुभव पंक्तिकारसंग पनि छ । अहिले जनगणनामा तथ्यांक संकलनका क्रममा देखा परेको विवाद सचेत नागरिकहरूले प्रश्न गरेका कारण सतहमा देखिएको आलम्ब मात्र हो ।  अझ आफ्नो आवाज राम्रोसंग राख्न समेत नसक्ने, युगौंदेखि दविएका भुँइमान्छेहरूको विषयमा गणकहरूले कुन हदसम्म मनमौजी गरे होलान् अनुमान गर्न कठिन छ ।