काठमाडौँ, फागुन २१ गते । एमाले निकट अनेरास्ववियुका अध्यक्ष नवीना लामा प्रतिनिधिसभाको समानुपातिक सांसद भएर सपथ समेत लिइसकेकी छिन् । उनी अब संसदमा सत्तापक्षको बेन्चमा बस्ने भएपछि विद्यार्थी संगठनको नेतृत्व लिएर आन्दोलनमा उत्रिन नमिल्ने भएकाले अखिलको नेतृत्व पुनर्गठन हुने भएको छ । र, उनले २०७४ फागुन १३ को अखिलको स्थायी समिति बैठकमा विद्यार्थी इन्चार्ज रविन्द्र अधिकारीकै सामुन्ने अध्यक्षबाट विदा लिने घोषणा पनि गरिसकेकी छिन् ।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भइसकेकाले सबै जनवर्गीय संगठनका अधिवेशनहरु पार्टीले रोकिसकेको छ । लामा सांसद भएपछि तत्काल अखिलको पुनर्गठन गरी उपाध्यक्षमध्येबाट अध्यक्ष बनाउने तयारी रहेको बताइन्छ । अखिल पुनर्गठनमा अध्यक्ष हुनका लागि चार जना उपाध्यक्ष र महासचिव पनि दौडधूपमा छन् । उपाध्यक्षहरु महेश बर्तौला, रश्मी आचार्य, शैलेश लामा र सुनिता बराल अध्यक्षका लागि चर्को दौडधूपमा छन् । महासचिव ऐन महर पहिला आफू उपाध्यक्ष भइसकेकाले अध्यक्ष हुनुपर्ने दलिल पेश गरिरहेका छन् ।
अध्यक्षको दाबी गर्ने चार उपाध्यक्ष र महासचिव पार्टी अध्यक्ष केपी ओलीनिकट हुन् । अखिलमा उपाध्यक्षमध्ये जुनियर सुनिता बराल भने अध्यक्ष भन्दै महासचिव हुने दाउमा रहेको बताइन्छ । चार उपाध्यक्ष हुँदाहुँदै महासचिव महरलाई पुनर्गठनमा अध्यक्ष बनाउन सहज भने छैन ।
उनले पहिला उपाध्यक्षबाट महासचिव भएर पदीय आशक्ति देखाई गलत परम्परा बसालेको आरोप छ । अखिल स्रोत भन्छ, अहिले पुनः चार उपाध्यक्ष हुँदाहुँदै महासचिवले अध्यक्ष हुन खोज्नुले अर्को गलत परम्परा बस्नेछ । उनी पार्टी अध्यक्ष ओलीले आफूलाई नै अध्यक्ष बनाउने दाबी गर्दै हिंडेका छन् । उनको छवि जनमानसमा त्यति राम्रो नभएकाले पनि अखिलको नेतृत्व तहमा उनलाई ल्याउनु नहुने अध्यक्ष ओलीकै निकट नेताहरु छन् । उपाध्यक्षमध्ये महेश बर्तौला र रश्मी आचार्यमध्येबाट अध्यक्ष बनाउँदा बरिष्ठता र क्षमताको कदर हुने अपेक्षा विद्यार्थीहरुले गरेका छन् ।
उपाध्यक्ष बर्तौला २०५३ देखि विद्यालयस्तरदेखि नै अखिलमा संगठित हुँदै क्याम्पस, जिल्ला, अन्चल हुँदै अखिलको नेतृत्वमा आएका हुन् । मकवानपुर बहुमुखी क्याम्पसको २ पटक स्ववियु सभापति, मकवानपुर अखिलको २ पटक अध्यक्ष, अखिलको मध्यमान्चल क्षेत्रीय प्रमुख, नारायणीको उपाध्यक्ष भएका बर्तौला केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्य २ पटक भएर सचिव हुँदै अहिले उपाध्यक्ष भएका हुन् । उनी स्ववियु काउन्सिलका संयोजक हुन् । बर्तौलाले उपाध्यक्ष भएपछि स्ववियु चुनाव गराउनेलगायतका संगठनले दिएका सबै जिम्मेवारी कुशलतापूर्वक पूरा गरेकाले उनको प्लस प्वाइन्ट छ भन्छन् अखिलका केन्द्रीय सदस्यहरु । उनी पार्टीभित्र केपी ओलीका खम्बाका रुपमा चिनिन्छन् ।
शैक्षिक हिसाबले पनि उनी अगाडि छन् । उनले राजनीतिशास्त्र र ब्यवस्थापन बिषयमा स्नातकोत्तर गरेका छन् भने कानूनमा स्नातक गरिसकेका छन् । विद्यार्थी आन्दोलनलाई बहुआयामिक ढंगले लैजान, सरकारी क्याम्पसमा शैक्षिक वातावरण बनाएर विद्यार्थी आकर्षित गर्न पनि बर्तौला जस्तालाई अखिलको नेतृत्वमा लैजानुपर्ने पक्षमा अखिलभित्र ठूलो तप्का रहेको विद्यार्थी स्रोतको दावी छ ।
उपाध्यक्ष रश्मी आचार्य पनि अध्यक्षका सशक्त दाबेदार हुन् । उनी पनि बरिष्ठता र शैक्षिक क्षमताका हिसाबले अब्बल नै मानिन्छन् । तर उनमा नेतृत्वमा हुनुपर्ने निर्णय क्षमता कम रहेको अखिलभित्रै चर्चा गर्ने गरिन्छ । उपाध्यक्ष शैलेश लामा पनि अध्यक्षका सशक्त प्रतिस्पर्धी हुन् ।
अखिलको पुनर्गठनमा अध्यक्ष कसलाई बनाउने बिषय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको हातमा रहेको छ । तर, ओलीले अखिलका पूर्वअध्यक्षहरु खिमलाल भट्टराई, माधव ढुंगेललगायतसंग परामर्श गरी निर्णय लिने बताइएको छ ।
(हेर्नुस २०७४ फागुन २१ गतेको साँघु साप्ताहिक)



