काठमाडाैं । दुलहीको टुंगो नलाग्दै हतारमा जन्ती बोलाएजस्तो गरी राष्ट्रिय भेला आयोजना गर्दा नेकपा माओवादी केन्द्रनिकट वाईसीएलमा गाईजात्रा भएको छ ।
यही गर भनेर यकिन निर्णय नदिने, स्वतन्त्र ढंगले काम गर्न पनि रोक्ने माओवादी केन्द्रका नेताहरूको अनौठो हर्कतले योङ कम्युनिस्ट लिग (वाइसीएल) को नेतृत्व चयन अप्ठ्यारो मोडमा पुगेको हाे ।
यही ०७८ भदौ १२ गते सुरु बासीएलको राष्ट्रिय भेला त्यसको भोलिपल्ट ०७८ भदौ १३ मा सकिनुपर्ने थियो । तर भेला उद्घाटन भएको तीन दिन गुज्रिसक्दा पनि अहिलेसम्म नेतृत्व चयनको विषय टुंगिन नसक्दा अन्योल बढेको छ । नेताहरूले स्वतः स्फूर्त नेतृत्व चयन गर्न पनि नदिने र आफू पनि यही गर भनेर डिसिजन नदिएपछि कोरोना महामारीबीच देशभरबाट काठमाडौं आइपुगेका झण्डै ७०० प्रतिनिधि अलपत्र परेका छन् । ‘जन्ती बोलाइसकेर दुलाही खोज्न हिँडेजस्तो हस्ल्याङे शैलीले रनभुल्लमा परिएको छ,’ प्रदेशबाट प्रतिनिधित्व गरेर काठमाडौं आइपुगेका एक वाईसीएलका प्रतिनिधिले भने ।
वाईसीएलका प्रतिनिधिले भनेजस्तै वाईसीएलका नेताहरू अहिले सम्मेलनमा छलफल नगरेर दुलही खोज्न नेताको दैलो चहारिरहेका छन् ।
वाईसीएलका नेताहरूले आफ्नो निर्णय आफैं लिन नसकेपछि सम्मेलनस्थल छाडेर सबै नेता–कार्यकर्ता लाखापाखा लागेका छन् ।
दुई भाइमा जुटेन सहमति
अहिलेका वाइसियल अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) अर्को कार्यकाल नदोहोरिने भएका छन् । लामो समयदेखि वाइसीएलको नेतृत्वमा रहेका उनले नेतृत्व हस्तान्तरण गर्न चाहेका छन् ।
सापकोटा बिदा हुने भएपछि सुमन देवकोटा, सुरज सिंह, यशोदा न्यौपाने र सुवोध सेर्पालीले बाईसीएलको नेतृत्वमा रुचि देखाएका छन् । देवकोटा, सिंह र न्यौपाने हाल उपाध्यक्ष छन् भने सेर्पाली महासचिव हुन् । यी चारमध्ये देवकोटा र सेर्पालीलाई बलियो दाबेदारका रूपमा हेरिएको छ ।
उनीहरूलाई माओवादीका विभिन्न नेताहरूले पुठ दिँदै आएका छन् । हालका अध्यक्ष सापकोटा स्वयं देवकोटालाई आफ्नो उत्तराधिकारी बनाउन चाहन्छन् । अन्य नेताहरूको पनि आ–आफ्नै छनौट रहेको बताइन्छ ।
एक पदका लागि आवश्यकताभन्दा धेरै आकांक्षी हुँदा समाधानको सूत्र निर्वाचन हुनसक्थ्यो । तर माओवादीका प्रचण्डलगायत नेता कस्ता भने निर्वाचन हुन पनि नदिने, यसैलाई अध्यक्ष बनाऊ भनेर निक्र्योल दिन पनि नसक्ने ।
वाईसीएलका नेताहरू प्रचण्डलाई भेट्न उनको खुमलटारस्थित निवास पुगेका छन् ।



