नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले २०७८ साल असार ४ गते बैठक बसेर १४ आंै महाधिवेशनको समयतालिका परिवर्तन गरेको छ । केन्द्रीय कार्य समिति सयमतालिका परिवर्तन गरे अनुसार कांग्रेसको १४ औं महाधिवेशन अब २०७८ भदौको सुरु गतेबाट सुरु भएर भदौ १९ गते सम्पन्न हुनेछ । यो महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ कार्य समिति चयन गर्ने भएकाले केन्द्रीय कार्य समितिले महाधिवेशनको समयतालिका परिवर्तन गरेर नयाँ मिति निश्चित गरेको भोलिपल्ट नै अर्थात् २०७८ असार ५ गते कांग्रेस सभापति शेरबहादुर देउवाले अर्को चार वर्षको कार्यकालका लागि पनि आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् ।
सभापति देउवाले नेपाली कांग्रेसलाई १ नं. को पार्टी बनाउका लागि आफू दोहो¥याएर सभापति हुन लागेको मत पनि व्यक्त गरेका छन् । तर सभापति देउवाले नेपाली कांग्रेसलाई अन्य राजनीतिक दललाई पछाडि पार्दै १ नं.मा कसरी पु¥याउने भन्ने सम्बन्धमा भने कुनै कार्ययोजना सार्वजनिक गरेका छैनन् । १ नं.मा रहेको नेपाली कांग्रेसलाई सम्पन्न आम निर्वाचनको परिणामबाट १ नं.मा उक्लिएको नेकपा एमाले भन्दा धेरैपछि पु¥याएर प्राविधिक रुपले मात्र २ नं.को पार्टीको हैसियतमा झार्ने काम सभापतिको हैसियतले शेरबहादुर देउवाले नै गरेका थिए ।
आम निर्वाचनमार्फत् जनताले व्यक्त गरेको मतको आधारमा सम्पन्न आम निर्वाचनबाट नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको हैसियतमा पुगेको भएपनि सभापति देउवाले नेपाली कांग्रेसलाई अहिलेसम्म प्रमुख प्रतिपक्षको भूमिकाबाट बञ्चित राखेका छन् । कांग्रेसको कार्यशैलीलाई हेर्दा यो पार्टीलाई सरकारको सहयोगी पार्टीको रुपमा बुझ्नु पर्ने अवस्था केही दिन अगाडिसम्म कायम रहेको थियो ।
यसैगरी नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा २०७४ साल फाल्गुण ३ गते सरकार गठन भएसँगै नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले पनि आफ्नो नेतृत्वमा छायाँ सरकार गठन गरेका थिए । तर प्रतिपक्षमा रहेको कांग्रेसका सभापति देउवाको नेतृत्वमा गठन भएको छायाँ सरकारको गतिविधिका बारेमा कुनै पनि नेपाली जनता जानकार छैनन् । किनभने देउवा नेतृत्वको छायाँ सरकारले जनहितमा अहिलेसम्म कुनै गतिविधि गरेको छैन ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले १४ औं महाधिवेशनको मितिको अन्तिम टुंगो लगाएसँगै देउवाले दोहो¥याएर नेतृत्वमा पुग्नका लागि दोहो¥याएर सभपातिमा उम्मेदवारी दिने उद्घोष गरेको लगत्तै उपसभापति विमलेन्द्र निधिले पनि आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने उद्घोष गरेका छन् । यसैगरी १४ औं महाधिवेशनको अन्तिम टुंगो लागे सँगै संस्थापना इतर पक्षकी सुजाता कोइराला र संस्थापना पक्षका गोपालमान श्रेष्ठले पनि आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका छन् । तर अहिलेसम्म औपचारिक रुपमा सभापतिको उम्मेदवार हुने घोषणा नगरेपछि महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला प्रकाश मान सिंहदेखि कृष्ण सिटौला, वसन्त गुरुङले समेत आफूलाई सभापतिको उम्मेदवारमा उभ्याउनका लागि आवश्यक गृहकार्य र उच्चस्तरीय भेटद्दाट गरिराखेका छन् ।
साढे पाँच वर्ष अगाडि सम्पन्न भएको १३ औं महाधिवेशनमा तत्कालीन संस्थापना पक्षको तर्फबाट सभापतिको उम्मेदवार भएका रामचन्द्र पौडेल पनि विजयी भएर सभापति हुन कस्सिएका छन् । तर यो पटक रामचन्द्र पौडेल संस्थापना इतर पक्षको उम्मेदवार हुने सम्भावना अत्यन्त कम छ । शेरबहादुर देउवालाई चुनौती दिएर हराउनका लागि कोइराला परिवारकै सदस्यले सभापतिमा उम्मेदवारी दिनु पर्ने निष्कर्ष कोइराला परिवारका सदस्यहरूले निकालेका छन् । अहिले कोइराला परिवारका तीन सदस्य महामन्त्री शशांक कोइराला र दुई केन्द्रीय सदस्य शेखर कोइराला र सुजाता कोइराला सभापतिका लागि उत्सुक भएर आफ्नो चुनावी प्रचार प्रसार गरी राखेका छन् ।
१३ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि सम्पन्न भएको निर्वाचनमा सदस्यमा सर्वाधिक मत ल्याएका शेखर कोइराला अहिले पनि कोइराला परिवारतको तर्फबाट सर्वाधिक लोकप्रिय अवस्थामा छन् भने उनले नै शेरबहादुर देउवालाई चुनौती दिने सम्भावना पनि बलियो छ । अर्थात् शेरबहादुर देउवा र शेखर कोइरालाका बीचमा सभापतिका लागि भिडन्त भयो भने त्यो भिडन्तलाई पुरानो र नयाँ पुस्ता बीचको नेतृत्वको लागि भएको भीडन्त मान्नु पर्ने हुन्छ । यो स्थितिमा शेखर कोइरालाले सभापति देउवालाई गम्भीर चुनौती दिने सम्भावना रहेको छ । शेखर कोइरालाले सभापति देउवालाई चुनौती दिँदै १४ औं महाधिवेशनको क्रममा नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा पराजित गरे भने नेपालको राजनीतिमा नै अर्को हलचल उत्पन्न हुने सम्भावना देखिन्छ ।
किनभने नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चासँगै नेकपा एमालेको सानो झुण्ड, र जनता समाजवादीको एउटा झुण्ड कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन कस्सिएको मात्र छैन कि यो गठबन्धनलाई आगामी आम निर्वाचनसम्म निरन्तरता दिने रणनीतिमा पनि रहेको छ । यदि नेपाली कांग्रेसको सभापतिमा देउवालाई पराजित गरेर डा. शेखर कोइरालाको समूह विजयी भयोभने निश्चित रुपमा आगामी आम निर्वाचनमा गठबन्धन गरेर उम्मेदवारी दिने पाँच दलको अहिलेको योजनामा धक्का लाग्न सक्दछ । डा. शेखर कोइरालाले आगामी आम निर्वाचनमा पुरानो पुस्तालाई विस्तापित गरेर नयाँ पुस्ता नेतृत्वमा पुगेको अनुभूति समेत आम जनतालाई दिनु पर्ने हुन्छ ।
नेपाली कांग्रेस पराजित भएर प्रतिपक्षमा पुगेको भएपनि यो पार्टीले अवलम्बन गरेको राजनीतिक विचार र कार्यदिशासँगै मुलुकको राजनीतिक परिवर्तनमा निर्वाह गरेको भूमिकाको कारण नेपाली कांग्रेसले राष्ट्रियसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चा र उत्सुकता पाउने गरेको छ । त्यसमाथि नेपाल कम्युनिष्टमय भइराखेको र कम्युनिष्ट शक्तिलाई चुनौती दिन सक्ने सम्भावना भएको राजनीति दल नेपाली कांग्रेस भएको कारणले गर्दा पनि यो पार्टीको गतिविधिदेखि नेतृत्व चयनप्रति समेत खासगरी पश्चिमा मुलुकका साथै अन्य अन्तर्राष्ट्रिय जगतको समेत चासो रहने गर्दछ ।
अहिलेको कांग्रेसको नेतृत्व सम्पन्न निर्वाचनमा पराजित भएसँगै मनोबल गिरेको अवस्थाबाट गुज्रिराखेको छ र आफूलाई पराजित गर्ने कम्युनिष्ट शक्तिको काँध चढेर अहिले कांग्रेस सभापति देउवा सबभन्दा ठूलो कम्युनिष्ट पार्टीका अध्यक्षलाई विस्थापित गरेर प्रधानमन्त्री हुने कसरतमा लागि परिराखेका छन् । कम्युनिष्ट शक्तिलाई उपयोग गरेर कम्युनिष्ट प्रधानमन्त्रीलाई नै किनारा लगाई आफू प्रधानमन्त्री हुनु देउवाका लागि ठूलो उपलब्धि ठहरिन सक्दछ । तर कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुँदैमा मुलुकबाट कम्युनिष्ट शक्ति किनारा लाग्छ भन्ने स्थिति नभएको उनको गतिविधिले नै देखाएको छ ।
नेपालका कम्युनिष्ट नेताहरू कांग्रेस सभापति देउवालाई प्रतिद्वन्द्वी नेता होइन सहयोगी नेता मान्ने गर्दछन् । यही मान्यता भएकै कारणले गर्दा अहिले केपी ओली विरोधी केही कम्युनिष्टहरूले देउवालाई प्रधानमन्त्री बनाउने कसरत गरिराखेका छन् । अविश्वसनीय कम्युनिष्टको यो गतिविधिले देउवालाई राजनीतिक फाईदा पुगेपनि नेपाली कांग्रेसले भने जनताको समर्थन थप गुमाउने अवस्था आउन सक्ने सम्भावना रहेको छ ।
यस कारणले गर्दा समेत १४ औं महाधिवेशनको क्रममा सभापतिको लागि हुने निर्वाचनमा कांग्रेस मतदाताले पाको पुस्ताका देउवालाई किनारा लगाएर पछिल्लो पुस्ताबाट सभापति चयन गर्न सक्ने स्थिति देखिएको छ । अर्थात् अबको ५५ दिन पछि सुरु हुने कांग्रेस महाधिवेशनले पार्टीलाई पुस्ता हस्तान्तरणको ऐतिहासिक अवस्थामा समेत पु¥याउन सक्दछ ।



