काठमाडौँ, १ फागुन। २०७५ वैशाख ११ गते स्थापनाको नवौं वार्षिकोत्सव तयारी गरिरहेको नेपाल रिपब्लिक मिडियाका पत्रकार माझ यतिबेला एउटा फरक विषयको चर्चा छ। कार्यकारी निर्देशक समृद्धि ज्ञवालीले रेडियो नागरिक/नागरिक/रिपब्लिका अनलाइन सम्पादक श्रीराम पौडेललाई अश्लील गाली गरेको विषयले नागरिक र रिपब्लिकाका पत्रकारबीच चर्चा पाएको छ ।
ठूलो उत्साहसाथ अनलाइनको जिम्मेवारी सफलतापूर्वक सम्हालिरहेका पौडेल आफूभन्दा कम उमेरकी युवतीबाट अश्लील गाली खानु परेपछि भाउन्न भएर खिस्रिक्क परेको चर्चा छ। त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक समेत रहेका पौडेलले सहकर्मीकी माता वितेको समाचार पोष्ट गर्दा अश्लील गाली खप्नु परेको बताइन्छ ।
केही समयअघि रिपब्लिकाको अनलाइनमा विगत पाँच वर्षदेखि काम गर्दै आएका कुलचन्द्र फोम्बोकी माता बितेको समाचार पौडेलले अनलाइनमा प्रकाशित गरेका थिए। सो विषयमाथि समृद्धिले गम्भीर आपत्ति जनाउँदै अभद्र शैलीमा सम्पादकलाई अश्लील गाली गरेकी हुन्। ''कर्मचारीहरुका बुवाआमा बितेको समाचार प्रकाशित गर्न कसले अनुमति दियो'' भनेर उनले सम्पादकलाई करीब दश मिनेटसम्म ¥याख¥याख पारेकी थिइन्। रत्न राज्यलक्ष्मी क्याम्पसस्थित पत्रकारिता कक्षामा समाचारका मूल्य/मान्यता पढाउने पौडेलले ‘एफ वर्ड’ गाली खाइसकेपछि ‘ओके—ओके’ भन्दै समाचार हटाएको एकजना पत्रकारले बताए ।
९ वर्षअघि कान्तिपुरबाट फुटेर आएका पत्रकारहरुले नागरिकमा पनि सुरुदेखि नै समाचार प्रकाशित गर्ने यस्तै चलन बसाएका थिए। तर पछिल्लो समय कम्पनीमा समृद्धि हावी हुँदै जाँदा नेपाल रिपब्लिक मिडिया सामाजिक मूल्य मान्यता गुमाउँदै नांग्लो पसलजस्तो बन्न पुगेको आरोप त्यहाँ कार्यरत पत्रकारले लगाएका छन् ।
पौडेल सम्पादक बनेर आएपछि अनलाइन र्यांकिंगमा पनि उल्लेखनीय सुधार भएको छ। त्रिविका उपप्राध्यापक पौडेल दिनरात अनलाइनमा खटिरहेका थिए। निर्देशकको गालीपछि भने उपप्राध्यापक पौडेल निरास भएर हच्किएको पत्रकारहरु बताउछन।



