सिन्धुपाल्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिकाको गुफाडाँडामा २०७५ सालमा उद्घाटन गरेको जलवायु सम्मेलनको हिसाब किताब अहिलेसम्म पनि जिल्ला समन्वय समितिले पारदर्शी नगरेको समाचार छ । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको आयोजनामा भएको उक्त सम्मेलनको हिसाब किताब पारदर्शी गर्नुपर्ने माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । २०७७ फागुन १४ गते दर्ता भएको उजुरीको दर्ता नं. सी–२५४८० हो । सिन्धुपाल्चोक जिससका प्रमुख कृष्णगोपाल तामा¨ले जलवायु सम्मेलनको नाममा जम्मा भएको रकम अनियमितता गरेको उजुरीमा उल्लेख छ । जलवायु सम्मेलनको सह–आयोजकमध्ये एक संस्था र जिससका कर्मचारीले अख्तियारमा उजुरी दिएका हुन् । जलवायु सम्मेलनमा ५० लाख रुपैयाँ संकलन भएको थियो ।
जलवायु सम्मेलनमा विभिन्न संघसंस्था आयोजक थिए । देशभरका जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको सम्मेलनमा प्रत्येक जिससबाट रकम संकलन गरिएको थियो । स्थानीय सह–आयोजकले पनि सम्मेलनमा लाखौं रुपैयाँ आयोजकलाई दिएका थिए । तर उक्त रकमको अहिलेसम्म पारदर्शी हिसाबकिताब सार्वजनिक गरिएको छैन । कार्यक्रम सम्पन्न भएलगत्तै हिसाब किताब पारदर्शी गर्न माग गरेपनि प्रमुख तामाङले २ वर्षसम्म गरेका छैनन् ।
जलवायु सम्मेलनको आर्थिक व्यवस्थापनको जिम्मा पनि प्रमुख तामाङले नै लिएका थिए । उक्त सम्मेलनमा जिल्लाका विभिन्न निकायलाई पनि रकम जम्मा गर्न लगाइएको थियो । सम्मेलनको सम्पूर्ण आम्दानी प्रमुख तामाङले दुरुपयोग गरेको अख्तियारमा दर्ता गरिएको उजुरीमा उल्लेख छ । यसैगरी सभापति तामाङले जिल्लाका विभिन्न ढुंगाखानी, नदीको बालुवा प्रशोधन तथा उत्खनन गर्नेहरूसँग पनि दररेटअनुसार राजश्व नउठाई व्यक्तिगतरुपमा लाभ लिने गरेको उजुरीमा उल्लेख गरिएको छ ।
जिल्लाका विभिन्न नदीमा स्काभेटर प्रयोग गरी बालुवा निकाल्न छुट दिइएको छ । जुन सरासर गैरकानूनी कार्य हो । इन्द्रावतीलगायतका नदीहरूबाट प्रमुख तामाङको संरक्षणमा नदीजन्य पदार्थ दोहन हुँदै आएको छ । प्रमुख तामाङले कार्यालयका विकास निर्माणका काम तेस्रो पक्षलाई ठेक्का दिई ठेकेदारले भवन हस्तान्तरण नगर्दै जिससको प्रमुखको नाममा मर्मत तथा विभिन्न शीर्षकमा रकम निकासा गराई अनियमितता गरेको उजुरीमा उल्लेख छ । तामाङले असुली भएको राजस्व समेत दुरुपयोग गर्ने गरेको आरोप छ ।
प्रमुख तामाङले जलवायु सम्मेलनमा गरेको अनियमितता र ढुंगा गिट्टी अवैधरुपमा उत्खनन गर्न दिएवापत लिएको घुसको रकमले काठमाडौंको कागेश्वरी मनहरा पेप्सीकोला नजिक २ करोड रुपैयाँमा घर किनेका छन् । सिन्धुपाल्चोककै केशव बोहराको उक्त घर प्रमुख तामाङले भ्रष्टाचारको रकमबाट किनेको अख्तियारमा दर्ता गरेको उजुरीमा उल्लेख छ । कुनै रोजगार नभएका प्रमुख तामाङले ३ वर्षमा तलबभत्ताले २ करोडमा घर कसरी खरिद गरे भन्ने उजुरीमा उल्लेख छ । सभापति तामाङ काठमाडौंको जोरपाटीस्थित चामुण्डा माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष पनि रहेका छन् ।
उक्त विद्यालय भूकम्पपछि पुनर्निमाण भइरहेको छ । उक्त विद्यालय निर्माण गर्ने ठेकेदारसँग पनि प्रमुख तामाङले घुस मागेर हैरान बनाएको आरोप छ । विद्यालय भवनको निर्माणमा मापदण्डअनुसारको सिमेन्ट, बालुवा र छड नहाले पनि हुन्छ तर आफूलाई १० प्रतिशत घुस दिनुपर्छ भन्दै ठेकेदारलाई सताउने गरेको गुनासो छ । ठेकेदार भने प्रमुख तामाङको माग पुरा गर्दा पुनर्निमाण प्राधिकरणको अनुमगनमा आफूलाई अप्ठेरो र कालोसूचीमा पर्ने त्रासमा छन् ।



