‘वैशालीकी नगरवधू’ राजनीतिमा सिर्जित हुने घात–प्रतिघात र अनेकौं रहस्यले भरिपूर्ण एक बुद्धकालीन ऐतिहासिक उपन्यास हो ।
अम्बपाली बैशाली राज्यको राजप्रासादको पश्चितर्फमा रहेको वनको रेखदेखमा खटिएका नायक महनामनले एउटा आपको रूखमुनी सेतो वस्तुले वेरेर फालिएको नवजात शिशुकोरूपमा भेटेकी बच्चि थिईन । बैशाली गणतन्त्रमा एउटा विचित्रको क़ानून थियो । जुन कन्या सर्वाधिक सुन्दरी हुन्थिन, उनी कुनै एक पुरूषकी पत्नी नभएर ‘नगरबधू’ घोषित हुन्थिन् । उसमाथि सम्पूर्ण नागरिकको समान अधिकार हुन्थ्यो ।
उनलाई ‘जनपद- कल्याणी’ को उपाधी प्राप्त हुन्थ्यो । अम्बपालीको बढ्दो अप्रतिम सौन्दर्य माथि कसैको दृष्टि नपरोस् र उनले नगरवधूको जीवन काट्नु नपरोस् भनेर महानामनले शहरको वैभव तथा सुरक्षित जीवन छाडेर अम्बपालीलाई लिएर दुर्गम गाँउमा गएर जीवन गुजारा गर्दै थिए । यस्तैमा अम्बपालीको उमेरसँगै आवस्यकताको माग बढेपछि पुन: दरवार फर्कनु परेको र अम्बपालीले ‘नगरबधू’ बनेर बस्नुपरेको बीरहपूर्ण कथाले भरिएको छ यो उपन्यास ।
अम्बपालीको कारणबाट भएको युद्धले बैशालीको साम्राज्यलाई नै ध्वस्त भएको परिदृश्य छ यसमा । अम्बपालीको प्रण नै थियो ‘जहा स्त्रीको स्वाधिनता माथि हस्तक्षेप हुन्छ, त्यस जनपदलाई जतिछिटो रगतमा डुबाईन्छ त्यति नै राम्रो ।’
अम्बपालीमा केन्द्रित भए पनि ‘वैशालीकी नगरवधू’ अनेकौं उपकथामा उनिएको छ । तत्कालीन उत्तर–भारतको समग्र राजनीति यसमा प्रतिविम्बित छ । तत्कालीन राजनीतिको केन्द्रमा आर्यहरू छन् । आर्यहरूले राजनीतिमा हिंसालाई प्रशस्त स्थान दिएका छन् । राजनीतिमा शक्ति संघर्षमा अपनाइने अनेकौं दाउपेचले कथा भरिएको छ ।
आचार्य चतुरसेनले विदुडभमार्फत आर्यको विरोधमा वर्णसंकर र दासहरूको पक्ष लिएका छन् । ‘वैशालीकी नगरवधू’ आर्य साहित्यको गह्रौं भारीले थिचिएर अव्यक्त रहेका वर्णसंकर र दासहरूको पक्षमा लेखिएको साहित्य हो । सन् १९४९ मा उपन्यासको भूमिकामा आचार्य चतुरसेनले इतिहासकारहरूले नदेखेको तर मिश्रित जातिले आर्यको धर्म, साहित्य, राजसत्ता र संस्कृतिमाथि विजय प्राप्त गरेको प्रगतिशील संस्कृति उजागर गरेको स्विकारेका छन् । राजा प्रसेनजितको सुरक्षा दिएका हुन्छन्— वीर बन्धुलले । लामो संघर्षपछि सोमप्रभले बन्धुलको हत्या गरेर विदुडभलाई राजा बनाउँछ ।
अम्बपालीको प्रथम प्रेमी हर्षदेव व्यापारीको भेषमा चर्चित हुन्छ । उसले वैशालीमाथि बदला लिने प्रण गरेको हुन्छ । उसले मगध सम्राट् बिम्बसार र अम्बपालीको भेट गराउँछ । अम्बपाली मगधको भावी सम्राट्की माता बन्ने सर्तमा बिम्बसारसँग प्रणयसम्बन्ध राख्न मञ्जुर हुन्छिन् ।
मगधले वैशालीमाथि आक्रमण गर्छ । आक्रमणको प्रतिरोधका लागि पूरा तयारी गरेर बसेको हुन्छ वैशाली । तर, वैशालीभित्रैबाट मगधलाई सहयोग मिलिरहेको हुन्छ । अम्बपालीको आवासगृहले गुप्त रूपमा मगधलाई सहयोग गर्छ । मगधको सैन्य नेतृत्व आर्य मातंगीका पुत्र सोमप्रभले गरेको हुन्छ । भीषण युद्ध हुन्छ । युद्धका समयमा राजा बिम्बसार बेपत्ता हुन्छ ।
युद्धको खास उद्देश्य नगरवधूलाई राजमाता बनाउने हो भन्ने थाहा पाएपछि सोमले युद्ध अन्त्य गर्छ । सोमले सम्राट् बिम्बसारलाई पक्राउ गरी कैद गर्छ । पछि आर्या मातंगीले सबै रहस्य खोलिदिन्छिन् । थाहा लाग्छ, सोमप्रभ सम्राट् बिम्बसारको छोरा हुन्छ । अम्बपाली उसकी बहिनी हुन्छे । तर, अम्बपालीको पिता वर्षकार हुन्छ । यसरी उपन्यासको पूर्वार्द्धमा अम्बपालीको जन्मको रहस्य पटाक्षेप हुन्छ ।
भीषण युद्धको एक वर्षपछि गौतम बुद्ध वैशाली आउँछन् । वैशाली सुनसान हुन्छ । अम्बपालीको महलको दैलो बन्द भएको एक वर्ष भइसकेको हुन्छ । उनले गोप्य रूपमा बालकलाई जन्म दिन्छिन् । त्यो बालक बिम्बसारको पुत्र हुन्छ । बालक भावी मगध सम्राट्को रूपमा मगध पठाइन्छ । बुद्ध–आगमनको खबर सुन्नासाथ अम्बपाली बुद्धको दर्शन गर्न जान्छिन् । बुद्ध ८० वर्ष पुगिसकेका हुन्छन् । अम्बपालीले भोजनको निमन्त्रणा गर्छिन् । लिच्छवीहरूले पनि बुद्धलाई भोजनको निमन्त्रणा गर्छन् । बुद्धले अम्बपालीलाई भोजनका लागि आउने वचन दिइसकेको बताउँछन् । लिच्छवीहरूले फेरि एकपटक अम्बपालीसँग हार महसुस गर्छन् ।
आफ्नो विशाल महलमा बुद्ध र समस्त भिक्षुहरूलाई भोजन गराइसकेपछि अम्बपालीले बुद्धसँग कुनै भिक्षुको उत्तरीय (काँध ओढ्ने वस्त्र) माग्छिन् । भिक्षु आनन्दले दिन्छन् । अम्बपाली भित्र जान्छिन् । आउँदा उनले केवल उत्तरीय मात्र बेरेकी हुन्छिन् । न कुनै आभूषण, न कुनै वस्त्र । बुद्धसँग उनी प्रव्रज्या माग गर्छिन् ।
कुनै बेला आफ्नो रूप र यौवनले संसार जितेकी, धन, सम्पत्ति, सेना, कुनैमा कमी नभएकी अम्बपाली केवल भिक्षा मागिएको उत्तरीयमा बेरिएर बुद्धको शरणमा जान्छिन् । कथाको अन्तिममा थाहा लाग्छ, अम्बपालीलाई मौन प्रेम गर्ने सोमप्रभ भिक्षु भइसकेको हुन्छ । यसरी एक नगरबधू पनि बुद्धको शिक्षा लिएर मुक्तिको बाटोमा प्रवेस गरेको सुनौलो आध्यात्मिक निस्क्रमण पनि चाख लाग्दो छ ।
समकालीन राजनीतिमा अनेकौं उतारचढाव आइरहँदा आचार्य चतुरसेनको पुनः स्मरण हुन्छ । ‘वैशालीकी नगरवधू’ मार्फत उनले सामन्ती राजनीतिको अनकौं जालझेल चित्रण गरेका छन् । आधुनिक राजनीति पनि जालझेल, कपटभन्दा पर छैन । उसो त जिज्ञासाको हत्या उतिबेला पनि र अहिले पनि नाजायज ठहरिन्छ ।
एउटा सन्दर्भमा आचार्य शाम्बव्य सोमप्रभसँग भन्छन्, ‘राजनीतिमा अति कौतूहल जायज हुँदैन ।’ यही वाक्यले समकालीन नेपाली राजनीतिमा छाएको मूढताको बाक्लो बादल बुझ्न सघाउँछ । आखिर हाम्रो दाशता र मौनता पनि यसरी नै सिर्जना गरिएका त हुन् !
आचार्य चतुरसेनले उपन्यासलाई घटनाप्रधान बनाउँदा–बनाउँदै पनि कैयौं ठाउँमा जादुयी यथार्थवादको भरपूर प्रयोग गरेका छन् । विषयलाई अतिशयोक्ति बनाउन पनि कुनै कसर बाँकी राखेका छैनन् । बुद्धको अन्तिम धर्मचक्र प्रवर्तनमा २ लाख मानिसको उपस्थिति र मगध–वैशाली लडाइँमा दस दिनमा ९६ लाख नरसंहारको आँकडा अपत्यारिलो लाग्छ ।
बुद्ध र महावीर जैनले तत्कालीन समाजको धर्म, संस्कृति र राजनीतिमा सुधारका लागि गरेको हस्तक्षेपको चित्रणले हाम्रो वर्तमान सभ्यता इतिहास पुरानो अनेकौं द्वन्द्वको प्रतिफल हो भनी स्विकार्न करै लाग्छ । बन्धुल श्रीमती रोहिणीको मुखबाट आचार्य चतुरसेनले दासप्रथाको विरोध गरेका छन् ।
‘वैशालीकी नगरवधू’ ले हामीलाई हाम्रो भूगोलको सुदूर विगत प्रतिविम्बित गर्छ भने त्यसको आलोकमा वर्तमान राजनीतिका उतारचढाव, घात–प्रतिघात र रहस्य महसुस गर्न सघाउँछ ।
जीवनमा ३२ उपन्यास र १५० भन्दा बढी कृति लेखेका लेखक आचार्य चतुरसेन (१८९१-१९६०) स्वयमले यस कृतिका बारेमा भनेका छन् -“म अब आफ्ना सबै रचनाहरूलाई रद्द गर्छु र ‘वैशालीकी नगरबधू’लाई आफ्नो एक मात्र रचना घोषित गर्छु ।”
रोशन दाहालले नेपालीमा अनुवाद गरेको यो ५९९ पृष्ट लामो उपन्यास २०७७ भाद्रबाट नेपालीमा प्रकाशन भएको छ र यो पढ्न निक्कै उत्तम पुस्तक रहेको मेरो ठम्याई छ ।



