काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कैयन् स्मार्ट कर्मचारी छन् । तर त्यहाँका कर्मचारीले नभएर मन्त्री पार्वत गुरुङको सचिवालयमा गोरखापत्र संस्थानकी एक महिला कर्मचारी झिकाइएको छ ।
गोरखापत्र संस्थानको ८ औं तहमा कार्यरत वविता कार्कीलाई २०७७ माघ १२ गतेदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रीको सचिवालयमा काज किन तानिएको होला भनेर गोपमा चर्चा हुन थालेको छ । । मन्त्रालयबाट काजमा पठाइदिने व्यहोराको पत्र प्राप्त भएपछि कार्कीलाई सोही अनुसार सञ्चार मन्त्रालयमा पठाइदिएको स्रोतले बताएको छ । उनले २०७७ माघ ११ गते आइतबारदेखि नै मन्त्रालयमा काम थालेकी छन् । कमजोर ‘पफमेन्स’ र दिइएको जिम्मा अनुसार काम संस्थान व्यवस्थापनलाई चिढाउँदै आएकी रूपकी धनीलाई उल्टै मन्त्रीको च्याम्बरमा भित्र्याइएपछि त्यहाँका कर्मचारी तीनछक परेका छन् ।
‘ट्रयाक रेकर्ड’मा निकै कमजोर र संस्थान व्यवस्थापनले कारबाहीको तयारी गरिरहेको कर्मचारीलाई सञ्चार मन्त्रीको सचिवालयमा तानिएको सूचना पाएपछि साँघुले मन्त्रालयमा यसबारे बुझ्ने प्रयास गरेको थियो । यस क्रममा के पत्ता लाग्यो भने कार्कीले उल्टै संस्थान व्यवस्थापनले काम नदिएको गुनासो मन्त्रीका नजिकका मान्छेसँग गरेकी रहिछन् । काम नपाएको गुनासो पछि कार्कीलाई काजमा गोरखापत्रबाट तानिएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए । तर गोरखापत्र संस्थानको उनको ‘ट्रयाक रेकर्ड’ हेर्दा भने उनले दाबी गरेजस्तो देखिएन ।
संस्थानका लागि योजना बनाएर त्यसलाई कार्यान्वयनका लागि काम गर्ने महत्वपूर्ण शाखाको जिम्मेवारी दिँदासमेत उनले काम नगरेको प्रमाण साँघुलाई प्राप्त भएको छ । साँघुलाई प्राप्त प्रमाणअनुसार, उनलाई योजना तथा तालिम शाखाको काम गर्ने जिम्मेवारीसहितको पत्र १ वर्षअघि २०७६ माघमा संस्थान व्यवस्थापनले दिएकोमा उनले उक्त पत्र नै बुझ्न इन्कार गरेकी थिइन् । जिम्मेवारी दिइएको पत्र कार्कीले बुझ्न इन्कार गरेपछि संस्थानका तत्कालीन लेखापाल दशरथ लामिछानेले ०७६ माघ २४ गते उक्त पत्र बुझाउन नसकिएको व्यहोरा व्यवस्थापनलाई दिएका थिए ।
संस्थान व्यवस्थापनले दिएको काम नगरी अर्घेल्याइँ गर्ने कार्कीसँग मन्त्रालयमा नै लैजानुपर्ने क्षमता नभएको गोपका कर्मचारीहरू बताउछन् । कार्कीसँग औसत क्षमतासमेत नरहेको उनीनिकट बताउँछन् । उदेकको कुरा त आठौं तहकी प्रबन्धक कार्कीसँग कम्प्युटरको सामान्य नलेजसमेत छैन । यति मात्रै होइन, कार्यालय समयमा समेत उनको अधिकांश समय टिकटक बनाएर र अन्यको टिकटकमा प्रतिक्रिया जनाउने फजुल काम गरेरै बित्ने गरेको कर्मचारीहरू बताउछन् ।
क्षमतामा कमजोर कार्कीलाई अहिले सुनपानी छर्किएर शालीन, भद्र र केही गरौं भन्ने हुटहुटी भएका इमान्दार मन्त्रीको च्याम्बरमा किन लगियो ? रहस्यको पहेँली बनेको छ । संस्थानका एक उच्च अधिकारी संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र मन्त्रीबीचको दूरी कायम गर्ने उद्देश्य राखेर उनलाई मन्त्रालयमा काज पठाइएको हुनसक्ने आशंका गर्छन् । ‘जिम्माको काम नगर्ने कार्कीलाई मन्त्रालयमा तान्नुपर्ने कुनै क्षमता छैन,’ ती अधिकृतको दाबी छ, ‘मन्त्री र संस्थानका कार्यकारी अध्यक्षको दूरी बढाउने अभिप्रायः राखेर त्यहीभित्रका संस्थानको भलो नचाहनेको योजनामा उनलाई काज पठाइएको हो ।’ कारबाही गर्नुपर्ने कर्मचारीलाई पुरस्कृत गरेपछि आफू निकै निराश भएको गुनासो पनि ती कर्मचारीले गरे ।
हुनलाई कार्कीसँग केही गर्विलो विगत नभएको होइन । संस्थान सेवामा प्रवेशअघि उनी कलाकारितामा थिइन् । कैयन् म्युजिक भिडियोमा अभिनयसँगै उनले हास्यव्यग्य कलाकारिताका लेजेन्ड मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्माण गरेको ‘जलपरी’ टेलिशृंखलामा ‘लिड’ रोल निर्वाह गरेकी थिइन् । पानी किफायतीसम्बन्धी जनचेतनामूलक सिरियलसहितका विभिन्न भिडियोमा अभिनय गरेकी उनी माओवादीको सिफारिसमा संस्थान सेवामा प्रवेश गरेकी थिइन् ।
क्रान्तिकारी पार्टीको सिफारिसमा जागिरे बने पनि उनको सोच र रवाफ भने राणा, शाह खान्दानको जस्तो छ । दिइएको जिम्मेवारी पूरा नगर्ने मात्रै होइन, उनले आफूभन्दा तलका पौरखी कर्मचारीलाई हियाउने तथा सताउने गरेको गुनासो पनि सुनिन्छ । उनको शाखामा कार्यरत एक महिला कर्मचारीले सन्तानलाई स्तनपान गराउन नदिएको विषयमा अहिले पनि चित्त दुखाउने गरेकी छिन् । तर उनै पीडक र सामन्ती सोचकी कार्कीलाई समृद्ध नेपाल निर्माण गर्ने सपना बोकेका मन्त्रीकै च्याम्बरमा लैजाँदा अलिक नजँचेको टिप्पणी कर्मचारीहरूले गर्न थालेका छन् ।



