काठमाडौं, माघ १० \\ आज बिहान सबेरैदेखि आकासमा बादल छाएको थियो। काठमाडौंमा बिहान ७ वजेदेखि नै सीमसीम पर्नथालेको पानी, पछि माघेझरीकै स्वरुपमा ११ वजेसम्म परिरह्यो।
देशका अरु धेरै ठाउँमा पानी परेको छ । पश्चिमी वायुको प्रभावले मौसमी बदली भएको र अब एक दुई दिन हिउँदे वर्षा हुने सम्भावना रहेको मौसमविद विभूति पोख्रेलले जानकारी दिइन् ।
पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम र पश्चिमका क्षेत्रमा बुधबार तुलनात्मक रुपमा पानी बढी पर्ने देखिएको मौसमविद पोख्रेलले जानकारी दिइन् ।
डडेलधुरामा हिउँ परेको छ भने अछामसहितका जिल्लामा असिना र पानी परेको छ । यस्तै पोखरामा पनि पानी परेको छ । पश्चिमी वायु विस्तारै मध्य हुँदै पूर्व तिर जाने भएकाले बुधबार दिनभर देशभरको मौसम बदली हुनेछ ।
पूर्वी क्षेत्रमा पनि दिउँसो वा बेलुकादेखि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बेलुका काठमाडौंको तापक्रम केही घटे पनि हिउँदे पानी परेको बर्षा थामिएपछि दिन-दिनै तापक्रम बढ्दै जाने अनुमान छ।
आजको माघेझरीले कृषकहरु हर्षित् छन्।



