काठमाडौं । विभाजित सत्तारूढ दल नेकपाको केपी शर्मा ओली पक्षले पनि प्रचण्डको कार्यकारी अध्यक्षको जिम्मेवारी खोसेको छ । बिहीबार बालुवाटारमा बसेको ओलीपक्षीय केन्द्रीय सदस्यको बैठकले प्रचण्डको जिम्मेवारी खोस्ने निर्णय गरेको हो ।
नेकपाका महासचिव विष्णु पौडेलले प्रचण्डलाई दिइएको कार्यकारी अध्यक्षको जिम्मेवारी बदर गरिएको जानकारी दिए । तर अध्यक्षबाट भने हटाइएको छैन ।
नेकपामा एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने क्रम चलिरहेको छ । मंगलबार मात्रै ओली पक्षले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएको थियो । प्रचण्ड–माधव नेपाल समूहले पनि केपी ओलीमाथि अनुशासनको कारबाही गर्दै अध्यक्षबाट बर्खास्त गरेको थियो ।
एकले अर्कोलाई कारबाही गरे पनि दुवै पक्षले आफूलाई संस्थापन भएको दाबी गरेका छन् । निर्वाचन आयोगबाट यसबारे छिनोफानो नहुँदासम्म विवाद रहिरहने देखिएको छ ।
यसैबीच, ओली पक्षको केन्द्रीय कमिटी बैठकले पार्टी विधान संशोधन समेत गरेको महासचिव पौडेलले जानकारी दिए ।



