काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा केपी शर्मा ओलीपक्षीय नेकपाको केन्द्रीय सदस्यको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आह्वान गरेअनुरूप बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा ओलीपक्षीय केन्द्रीय सदस्यहरू मात्र सहभागी छन् । प्रचण्ड र माधव नेपाल समूहका केन्द्रीय सदस्य उपस्थित छैनन् । यद्यपि, पूर्वमाओवादी खेमाका केही केन्द्रीय सदस्य भने बैठकमा सामेल भएका छन् ।
बालुवाटारमा जारी आजको केन्द्रीय समिति बैठकले प्रचण्डलाई अनुशासनको कारबाही गर्ने कार्यसूची छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा फुटको संघारमा पुगेको छ । यद्यपि, अहिलेसम्म कसैले पनि अलग भएको घोषणा गरेका छैनन् ।
प्रचण्ड पक्षले पनि अहिले १ बजे आफूपक्षीय केन्द्रीय सदस्यको बैठकबाट ओलीलाई कारबाही गर्ने तयारी गरेकाले आजबाट नेकपा औपचारिक रूपमा विभाजन हुने ठानिएको छ ।
प्रचण्ड समूहले पनि अहिले १ बजे आफूपक्षीय केन्द्रीय सदस्यको बैठक डाकेको छ । यो बैठकबाट ओलीलाई कारबाही गर्ने प्रचण्डपक्षको तयारी छ । दुवै पक्ष एकले अर्कोलाई अनुशासनको कारबाही गर्ने तयारीमा रहेकाले आजबाटै नेकपा औपचारिक रूपमा दुई चिरा हुने गरी घटनाक्रम अघि बढेका छन् ।



