नेपाली सेनाले मातहतका सैनिक शिक्षालयहरुमार्फत सैनिकलाई पेशागत ज्ञान प्रदान गर्दै आएको छ तर युगलाई हाँक्न सक्षम जनशक्ति उत्पादनका लागि, उच्चस्तरको सैनिक शिक्षा प्रदान गर्न सकेको छैन । सैनिक शिक्षालयहरुमा यस किसिमको उचित वातावरण निर्माण गर्न सकेको छैन सैनिक शिक्षाको अन्तर्य राष्ट्रप्रेमी, सिर्जनशील, उत्पादनशील जनशक्ति उत्पादन हो, यसतर्फ सेनाको ध्यान पुगेको छैन ।
सैनिक शिक्षालयहरु जागिर खाने, पदोन्नतिका लागि आवश्यक प्रमाणपत्र लिने अड्डा बनेका छन् । यस्तै अवस्थालाई सम्बोधन गर्दै फ्रन्सका सैनिक नेता नेपोलियन बोनापार्टले भनेका थिए : ‘अशिक्षित सेना सैनिक सङ्गठनको बोझ हो ।’ अब पनि यही अवस्था रहिरहेमा नेपाली सेनामा नेपोलियन बोनापार्टको उक्ति लागू नहोला भन्न सकिदैंन ।
हाल सेनाबाट सन्चालित विद्यालय वा महाविद्यालयहरुमा देशका निजी स्तरबाट सन्चालित सरह पाठ्यक्रम अध्यापन गराइन्छ । सरकारी जग्गामा सैनिक कल्याणकारी कोषको रकमबाट भवन निर्माण, सवारी, शैक्षिक साधन एवम् सामग्रीको व्यवस्था गरिएकाले सुबिधा नाम दिइएको भएता पनि सैनिक र गैरसैनिक छात्रछात्राबाट सैनिक महाविद्यालयहरुमा मनग्य शुक्क असुल गरिन्छ । तर, ती विद्यालयको स्तर दिनानुदिन गिर्दै गएको छ ।
केही वर्षअघिसम्म सैनिक महाविद्यालयहरुमा उच्चसैनिक अधिकारी र उच्चस्तरका गैरसैनिक परिवारको समेत चासो रहने गरेकोमा हालका वर्षमा सैनिक विद्यालयको शैक्षिकस्तरमा आएको गिरावट र निरन्तरको अनुशासनहीन घटनाका कारण तल्लोतहका सैनिकका सन्ततिले समेत पढाउने मन गरेको पाइदैंन । यसको कारण खोज्न सेनाले समय पाएकै छैन । सैनिक विद्यालयमा कार्यरत जनशक्ति जागिरमा सीमित छ ।
आफन्त भर्ति, भनसुन, नेतृत्वको ध्यान नजानु जस्ता कारणले सैनिक विद्यालयहरु विस्तारै बेथिति र विकृतिका जन्मस्थल बन्न थालेका छन् । सैनिक विद्यालयहरु सम्पर्क अधिकृत र विभागीयहरुको धन आर्जन गर्ने स्थल बनेको छ । सीमित शैक्षिक प्रमाणपत्रवाहकका लागि जागिर खाने थलो बनेको छ । जसका बारेमा सिकायत गर्ने र गुनासो सुन्ने कोही छैन, सुनाउने निकाय कहीं छैन । यसतर्फ प्रधानसेनापति मातहतका पीएसओज र कल्याणकारी कोष सन्चालक समितिको ध्यान कहिले जाला ? सेवाग्राही सैनिक प्रतीक्षामा छन् ।
-प्रेषक ः धन सिंह रावल
(मोहन थापाको लेखको एक अंश)



