काठमाडौं । अन्ततः महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमाथि आइपरेको संकट तत्कालका लागि टरेको छ । माधवकुमार नेपाल पक्ष अविश्वासको प्रस्ताव पेस गर्ने पूर्ववत निर्णयबाट पछि हटेपछि शाहीको सरकारमाथि आइपरेको संकट टरेको हो ।
यसअघि प्रदेशसभामा रहेका नेकपाका सांसदमध्ये नेपाल समूहका ७ जनाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन हस्ताक्षर गरेका थिए । माधव समूहका सांसदले हस्ताक्षर गरेपछि प्रचण्डले माधवलाई भेटेर सहयोग गर्न आग्रह गरेका थिए । प्रचण्डको आग्रहपछि नेपालले सघाउने वचन दिएका थिए । स्रोतका अनुसार, प्रचण्ड र माधवबीच सहमति भएपछि नेकपा केन्द्रीय सदस्य नीरज आचार्यलाई दूतका रूपमा सुर्खेत पठाइएको थियो । उनै नीरजले यसअघि हस्ताक्षर गर्ने ७ सांसदलाई व्याक गराएर सहमति बनाएको स्रोतले बतायो । अब शाही हटाउन हस्ताक्षर गरेका सांसदले त्यसलाई फिर्ता लिनेछन् ।
कुर्मराज सचेतक, २ मन्त्री पनि थपिने
कर्णाली प्रदेशसभाका नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्र शाहीले कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरेका छन् ।
सोमबार पार्टी अनुशासनविपरीतको काम गरेको भन्दै गुलाबजंग शाहलाई सचेतकबाट हटाएका शाहीले मंगलबार कुर्मराजलाई उक्त जिम्मेवारी दिएका हुन् ।
स्रोतका अनुसार थप तीन मन्त्री थप गर्ने सहमति पनि प्रचण्ड र नेपाल पक्षबीच भएको छ ।
अन्य मन्त्रीबारे टुंगो नलागे पनि रिक्त भौतिक पूर्वाधार मन्त्रीमा दैलेखका अमरबहादुर थापाको सम्भावना रहेको बताइन्छ । पदीय मर्यादाविपरीत मुख्यमन्त्री हटाउन हस्ताक्षर गरेकी प्रचण्ड पक्षीय पुष्पा घर्तीको पद पनि धरापमा परेको चर्चा छ । उनलाई हटाएर पद्या खड्कालाई उपसभामुखको जिम्मेवारी दिनुपर्ने मत उठेको बताइन्छ ।



