काठमाडौं । हालै सम्पन्न निर्वाचनमा दलहरुले भन्दा बढी आचार संहिताको उल्लंघन गर्नेमा निर्वाचन आयोग नै देखिएको प्रतिवेदन तयार भएको खबर छ ।
निर्वाचन पर्यवेक्षणका लागि पाल्पा, गुल्मी, रुपन्देही र कपिलबस्तु गएको जियोकमार्फत खटिएको एक टोलीले पर्यवेक्षण संस्थालाई दिएको प्रतिवेदनका अनुसार, आयोगले आफै आचार संहिता जारी ग¥यो आफै सबैभन्दा बढी उल्लंघन गरेको छ ।
आम नागरिकहरुले नै निर्वाचन आयोगले चरम आचार संहिता उल्लंघन गरेर खर्च नगर्नुपर्ने अवस्थामा पनि करोडौं खर्च गरेको भनी टिप्पणी गरेको रिपोर्टमा उल्लेख गरिएको थाहा भएको छ ।
स्रोतका अनुसार, निर्वाचनमा भएको उरलधुरल खर्च देखेर जियोकका पर्यवेक्षकले दिएको रिपोर्टमा भनिएको छ, ‘‘निर्वाचन आयोगले तोकेको सीमाभन्दा दशौं गुना बढी खर्च भएको छ, सीमाभन्दा बढी खर्च राजनीतिक दल र उमेदवारले मात्र गरेनन् स्वयं आचार संहिता लगाउने निर्वाचन आयोगले पनि सीमाभन्दा बढी खर्च गरेको कुरा देखिएको छ ।’’
मतदाता शिक्षा कार्यक्रममा नाममा गरिएको करोडौं रुपैयाँ खर्चको उपदेयता देखिएन अर्थात् साँच्चै नै मतदाता शिक्षाका लागि भनेर गरिएको खर्च मतदाता शिक्षाका लागि हुन नसकेको गुनासो आम जनताको थियो ।
निर्वाचन आयोगले कर्मचारीलाई निर्वाचन काजमा खटाउदा अनावश्यकरुपमा चाडो पठाउने काम भयो भने निर्वाचन सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक भएको धेरै दिन सम्म अनावश्यकरुपमा लाखौं भत्ता खानकै लागि कर्मचारी काजमै बसिरहेका थिए । सय प्रतिशतसम्म भत्तालिएर मख्ख परेका कर्मचारीहरु भन्दै थिए, ‘‘निर्वाचनमा खटिएपछि त धन कमाउन विदेशमा जान पाइएन भन्नपर्दो रहेनछ ।’’
द्वन्द्वकालमा कार्यालयमा केही क्षति भयो भने ‘‘माओवादी द्वन्द्वले गर्दा भएको’’ भनेपछि सातै खत माफ पाएर उम्किए झैं अहिले निर्वाचन आयोगले गरेको मनपरि खर्च पनि ‘‘निर्वाचनका सन्दर्भमा भएको खर्च’’ भनेपछि कहींकतै प्रश्न नउठ्ने सातै खत माफ हुने गरी निर्णय गरेर राज्यको ढिकुटी लुटिएको छ । पर्यवेक्षणका क्रममा नागरिकहरुले हरेका स्थानमा सो विषयमा पनि जिज्ञासा प्रकट गर्ने गरेको कुरा जियोकको रिपोर्टमा उल्लेख भएको स्रोतले बताएको छ । (हेर्नुस् साँघु साप्ताहिक २०७४ पुस २४ गते)



