रामपुर, पाल्पा, २८ पुस : तीन वर्षअघि गएको भूकम्पको पीडा अहिले पनि सम्ँिझदा मनमा त्यो क्षण ताजै छ । भूकम्पले देशमा ठूलो धनजनको क्षति पु¥यायो, त्यो कहालीलाग्दो घटना बिर्सन जो कसैले सक्दैन । यस्तै, माथागढी गाउँपालिका–१ चिदीपानी बस्ने कल्पना गिरीलाई पनि भूकम्प जीवनकै अभिशाप बनेर आयो ।
भूकम्पका कारण छोरा गोविन्द गिरीले मानसिक सन्तुलन गुमाएपछि उनलाई दिनहुँ भूकम्प गएको महसुश भएको छ । भारतमा रोजगारी गरिरहेका गोविन्दले भूकम्पले भत्किएको घरको तस्बीर गाउँका साथीभाइले फेसबुकमा पोष्ट गरेको देखेपछि मानसिक सन्तुलन गुमाएका हुन् । २२ वर्षीय छोरा गोविन्दको मानसिकरुपमा सन्तुलन गुमेपछि रातदिन उहाँ पीडामा बाँचिरहनुभएको छ ।
“सन्तान भनेको बूढेसकालको सहारा भन्छन् तर बूढेसकालमा सन्तानबाट सहारा पाउनुको सट्टामा त्यही सन्तानले जीवन–मरणको दोसाँधमा पु¥याउन थालेको छ”, उनले पीडा पोखे ।
घरको अवस्था नाजुक भएपछि कमाई गर्न छोरो भारत पुगेपछि निकै हर्षित बन्नुभएकी गिरी भूकम्पले छोराको मानसिक सन्तुलन गुमेपछि उनलाई न दिनमा भोक न रातमा निद्रा छ । घर भत्किएको दृश्य मोबाइलमा देखेपछि आमाबाबुको पीडा सहन नसक्दा गोविन्दको मानसिक सन्तुलन नै गुम्यो । “घर भत्कियो होइन ?” फोनमा त्यत्ति नै कुरा भएको थियो, सम्भवतः छोरा सँगको त्यही नै अन्तिम राम्रो बोली भयो”, गिरीले भने ।
गोविन्द मानसिक सन्तुलन गुमाएपछि भारतका विभिन्न बजारमा बेवारिसे भए । भारतका विभिन्न शहरमा छोरो बेवारिसे अवस्थामा रहेको थाहा पाएपछि उनी छोराको खोजीमा भारत पनि पुगे । तर छोराको पत्तो नलागेपछि उनी गहभरि आँसु बोकेर घर फर्किए ।
घर फर्केको एक महिनापछि मानसिक रुपमा विक्षिप्त भएको छोरालाई प्रहरीले भेटेको खबर पाएपछि निकै हर्षित भएको उनले बताए । भारतको मुम्बै पुगेर छोरालाई भेट्दाको क्षण त कल्पना गरेभन्दा धेरै फरक पाए । मानसिक सन्तुलन गुमाएको छोरालाई घरमा त ल्याएँ, त्यसपछि छोराले उपद्रो मच्चाउँदा त्यही छोराबाट ज्यान जोगाउनका लागि छिमेकीको सहारा लिनु परेको गिरीको दुखेसो छ ।
छोराको उपचारका लागि उनले धेरै रकम खर्च गरिसके तर छोराको अवस्था उस्तै छ । सास रहेसम्म आश पलाउँछ भने झँै धेरै ठाउँमा उपचार गरेपछि अन्तमा बुटवलस्थित ड्राइभर टोलमा शाहीराम माताको सहयोगमा मासिक रु ३५ हजार खर्च बेहोर्ने गरी रुपन्देहीको चौतारी नेपाल हेल्थ फाउण्डेशन नामक अस्पतालमा छोरालाई उपचार गराइराखेको गिरीले बताए ।
उपचारमा खर्च गरेअनुसार छोराको अवस्थामा सुधार नआउँदा उनलाई झन् चिन्ताले सताउन थालेको छ ।(रासस)
–––



