(कुनै समय यस्तो थियो, धार्मिकसभा र कार्यमा देवताको चरित्रगाथा गाउने बालन अपरिहार्य हुन्थ्यो । तर अहिले हिन्दूका धार्मिक कार्यमा बालन भजन गाएको र नाचेको दृश्य देख्न छाडिएको छ । अर्थात् यो लोप हुने अवस्थामा पुगेको छ । पुरानो बालन लोप हुने अवस्थामा पुगे पनि यसको संरक्षणमा सरोकारवालाको ध्यान फिटिक्कै पुगेको देखिँदैन । हिन्दूधर्मालम्बी र राज्य यसको संरक्षणमा उदासीन बनिरहेका बेला मुस्लिम समुदायका हनिफ मिया भने यसको संरक्षणमा केही वर्षदेखि कम्मर कसेर लागेका छन् । बालन संरक्षणकै निम्ति उनी कहिले नेपालको पूर्व त कहिले पश्चिम पुगिरहेका छन् । कहिले सहर त कहिले गाउँ चहारिहरहेका भेटिन्छन् । यति मात्रै होइन, हिन्दू दर्शनलाई मुस्लिम समुदायमा पु¥याउन पनि उत्तिकै क्रियाशील छन् । यही क्रममा उनले हालै रामायणलाई पनि उर्दु भाषामा अनुवाद गरेका छन् । मुस्लिम धर्म मान्ने मिया कसरी हिन्दू दर्शन र साहित्यप्रति आकर्षित भए ? यो उदाहरणीय काममा जोडिएका उनले के–के गर्दै छन् ? अली मिया वाङमय प्रतिष्ठानका अध्यक्षसमेत रहेका मियासँग यिनै विषयमा केन्द्रित रहेर साँघु प्रतिनिधि सुयोग शर्माले संवाद गरेका छन् । प्रस्तुत छ, कुराकानीको सारसंक्षेपः सम्पादक)
० तपाईं मुस्लिम धर्मालम्बी । हिन्दू धर्मसँग सम्बन्धित भगवान्को चरित्रगाथा गाउने बालन संरक्षणमा कसरी जोडिनुभयो ?
–२०७१ मा प्रा. डा. कुष्माखर न्यौपाने सर पाल्पाको रामपुर जानु भएको थियो । त्यहाँबाट फर्केपछि उहाँले एउटा धार्मिक विषयमा केन्द्रित सांगीतिक कार्यक्रमबारे बताउनु भयो । त्यसमा एउटाले भट्याउने र बाँकीले भाका छोप्ने हुँदो रहेछ । अनि नाच्ने पनि । त्यो बालन रहेछ । यसमा राम, कृष्ण, महादेवलगायतको चरित्र चित्रण गरिने रहेछ । तर उहाँहरूले तालिम पाउनु भएको रहेनछ ।
पोशाक र बालनका लागि आवश्यक सरसामग्री पनि उहाँहरूसँग रहेनछ । त्यहाँबाट फर्केपछि उहाँले यसबारे मलाई बताउनु भयो । लोप हुने अवस्थामा रहेको बालनबारे थाहा पाएपछि त्यसलाई जोगाउने र संरक्षण गर्ने सोच ममा पलायो । त्यसपछि हामीले आवश्यक तालिम र पोशाकलगायतका सामग्री दिएर उहाँहरूलाई सहयोग ग¥यौं ।
० भनेपछि बालन देखेपछि तपाईं एकोहोरिनु भयो ?
–हो, बालनले मलाई निकै छोयो । १० अवतार वालान हुन्छ । हरिचन्द्र लीला, कृष्णलीला, हनुमानलीलालगायतका विभिन्न लीला हुन्छन् । यी लीलाहरूमा जागरण गर्ने ल्याकत छन् । त्यसैले यी कुरा जनतालाई दिन सकियो भने चेतना फैलन्छ कि भन्ने भाव ममा पलायो । त्यसपछि मैले यो कुरा अली मिया वाङमय प्रतिष्ठानमा राखें । डा. कुष्माकर न्यौपाने, डा. तुलसी प्रभावकरलगायत धेरै विद्वानले यसमा सहमति जनाउनु भयो । त्यसपछि प्रतिष्ठानकै संलग्नतामा बालनको संरक्षण र संवद्र्धनमा जुटिरहेका छौं ।
० तपाई त मुस्लिम हिन्दू धर्म र संस्कृतिबाट हुर्केको मानिस यतातिर कसरी प्रभावित हुनु भयो नि ?
–बालन संरक्षणमा म र मेरो संस्थाले देखाएको सक्रियताप्रति धेरैले प्रश्न पनि गर्नु हुन्छ । म एउटा मुस्लिम हिन्दू धर्म र संस्कृतिको जगेर्नामा लागेको देखेर आश्चर्य मान्नु हुन्छ । वास्तवमा हामीले के बुझ्नु पर्छ भने पहिले हामी नेपाली हौं । र, हाम्रो गौरव नेपालको संस्कृति हो । नेपालको संस्कृति सबै धर्मालम्बीको गौरवको विषय भएकाले यसको संरक्षणमा लागेको हुँ ।
० तपाईं आफैं पनि बालन गाउनु हुन्छ कि ?
–मैले पनि बालन सिकेको छु । गाउँछु । नाच्छु । आनन्द लाग्छ ।
० यसको संरक्षणका लागि चाहिँ कसरी काम भइरहेको छ, बताइदिनुहोस् न ?
–पाल्पाकै भजन समूहसँग पनि ड्रेस रहेनछ । डा. न्यौपानेको पहलमा सम्पर्क गरेर हामीले तालिम दियौं । ड्रेस पनि तयार पारिदियौं । सोही वर्ष २०७१ मा पोखरास्थित दीपेन्द्र सभागृहमा उहाँहरूको प्रस्तुति देखायौं ।
त्यसपछिका दिनमा मैले बालनको अध्ययन गरेँ । यो क्रममा म दाङ, सल्यानदेखि झापासम्म डुलेँ । बालन महोत्सव गर्ने सोच पनि बनाएका छौं ।
० कहिले गर्दै हुनुहुन्छ बालन महोत्सव ?
–२०७६ चैत १८ गतेका लागि बालन महोत्सव गर्ने तय गरेका थियौं । काठमाडौंमा तय उक्त महोत्सवका लागि तयारी पनि लगभग सकिएको थियो । प्रथम हुनेलाई ४ लाख, द्वितीय हुनेलाई तीन लाख, तृतीयलाई २ लाख र सान्त्वनालाई १ लाख पुरस्कार दिने चाजोपाजो पनि मिलाइसकेका थियौं । तर यहीबीचमा कोरोना भाइरसको महाव्याधि आइदियो । देश लकडाउनमा गयो । त्यसैले हामीले चाहँदा चाहँदै पनि बालन महोत्सव निर्धारित समयमा गर्न सकेनौं । यसले हामीलाई दुःखी बनाएको छ ।
० अवस्था सामान्य भएपछि गर्नु हुन्छ कि ?
–कोरोना कहरले निम्त्याएको विशेष परिस्थितिका कारण महोत्सव स्थगित गरेका मात्रै हौं । रोकेका छैनौं । कोरोना महामारी उग्र बनेको छ । त्रस्त जनजीवन कहिले सामान्य हुन्छ, थाहा छैन । त्यसैले महोत्सव अनिश्चित बनेको छ । केही ढिलो होला तर यसलाई जुन सुकै हालतमा पनि गर्छौं । प्रत्येक प्रदेशमा गएर मूल्यांकन गरेर फाइनलचाहिँ काठमाडौंमा गर्ने कि भनेर पनि सोचेका छौं । परिस्थिति सामान्य बनेपछि यसबारे निर्णय गर्नेछौं ।
० रामायणलाई उर्दुमा अनुवाद गर्दै हुनुहुन्छ भन्ने पनि सुनेको थिएँ । त्यो कहाँ पुग्यो ?
–तपाईंले सुन्नु भएको कुरा सत्य हो । रामायणलाई उर्दुमा अनुवाद गर्न केही समयदेखि लागिरहेको छु । अब २–३ अध्याय मात्र बाँकी छ । साथै हिन्दीमा पनि अनुवाद गर्दैछु । २०७७ मा सार्वजनिक गर्ने सोचेको थिएँ । यो योजना पनि लकडाउनले गर्दा प्रभावित भएको छ ।
० कति समय लाग्यो नेपालीबाट उर्दुमा अनुवाद गर्न ?
–प्रतिष्ठानको व्यस्तताले पूरै समय काम गर्न पाइएन । एक अध्याय बनाउन ३ महिनासम्म लाग्यो ।
० मुस्लिम धर्मका पनि आफ्नै गन्ध छन् । रामायणलाई उर्दुमा भावानुवाद गर्नुको तपाईंको ध्येयचाहिँ के हो ?
–हेर्नुस् रामायण निकै समृद्ध छ । यसमा धेरै अनुकरणीय कुराहरू छन् । जसको उपादयेता सबै धर्मालम्बीमा उत्तिकै छ । तर धेरैले यो कुरा बुझेका छैनन् । यो कुरालाई मुस्लिमसमक्ष लगियो भने त्यसले फाइदा गर्छ भन्ने लागेर नै यस्तो लेठो गरेको हुँ ।
० विश्वमा मुस्लिम धर्म मान्नेहरूको संख्या ठूलो छ । अनुवाद गरेर कहाँ–कहाँ पु¥याउने सोच्नु भएको छ ?
–विश्वका धेरै मुलुक मुस्लिम बाहुल्य छन् । अरेवियनलगायत विश्वका सबैजसो मुस्लिम देशमा बालनलाई लैजाने सोच मैले बनाएको छु । हेरौं परिस्थितिले के कति साथ दिन्छ ।
० हिन्दू दर्शन र साहित्यका अरू कृत्तिको पनि अध्ययन गर्नु भएको छ ?
–अध्ययन त अरू विषय पनि गरेको छु ।
० हिन्दू धर्म दर्शन र संस्कृतिप्रति यहाँको रुचि कसरी बढ्यो बताइदिनुस् न ?
–तत्कालीन पोखरा नगरपालिका–१३ मा मेरो जन्म भएको हो । हिन्दूहरूको बाहुल्यता थियो । भागवत् रामायण पढ्ने चलन थियो । महायज्ञहरूमा म आफैं पनि जान्थेँ । निकै आनन्द महसुस हुन्थ्यो । भनिन्छ नि माहोलले मानिसको रुचि जागृत हुन्छ । मलाई पनि त्यहाँको माहोलले नै हिन्दू दर्शन र संस्कृतिप्रति रुचि जगायो ।
संस्कृत अध्ययन नगरी हिन्दू धर्म र यसको साहित्य बुझ्न सकिँदैन । त्यहीँ अध्ययन गरेर नै हिन्दूसँग सम्बन्धित विधा र ग्रन्थको संरक्षणमा जुटेको हुँ । संस्कृतमा मैले आचार्य गरेको छु ।
० संस्कृत अध्ययन गर्ने प्रेरणा वा मनस्थितिचाहिँ कसरी पलायो ?
–२०२२ देखि ०२८ सालमा भारतको बनारसमा अध्ययन गरेको हुँ । प्रेरणाचाहिँ भगवान्बाटै मिल्यो भनौ ।
० आचार्यसम्म अध्ययन गरेँ भन्नु भयो । त्यसभन्दा माथिको अध्ययनचाहिँ अब पुग्यो भन्ने लागेर गर्नु भएन कि अरू केही बाध्यताले ?
–जग्गा जमिन भए पनि हामी अलि गरीब नै थियौं । तैपनि म मिलाएर वनारस गएर अध्ययन गरिरहेको थिएँ । आचार्य पास गरेपछि पनि अध्ययनलाई निरन्तरता दिन चाहेको थिएँ । तर त्यति नै बेला आमाबुवा दुवै जना बिरामी भएको खबर पाएँ । आमाबुवाको सेवा गर्न छाडेर थप अध्ययन गर्नु ठूलो हो भन्ने ज्ञान ममा आयो । पारिवारिक अवस्था र मेरो गरीबीका कारण चाहेर संस्कृतको औपचारिक अध्ययन अघि बढाउन सकिनँ ।
० तपाईंको मुस्लिम समुदायले हिन्दूधर्मको रक्षाका लागि तपाईंले गरिरहेका कामलाई कसरी हेर्ने गरेको छ ?
–पहिले–पहिले त मुस्लिम भाइहरूले संस्कृत पढेको, बालन संरक्षण गरेको रुचाएका थिएनन् । उनीहरूको नजरिया अर्कै थियो । मैले पूजा र संस्कृतिबारे बुझाएपछि भने उहाँहरू कन्भिन्स हुनु भयो । अहिले उहाँहरू खुसी हुनुहुन्छ ।
० हिन्दू धर्म र दर्शनलाई जोगाउन एउटा फरक धर्मको व्यक्ति लागिरहनु भएको छ । सायद यो उदारता विरलै देखिएला । यसलाई धार्मिक सहिष्णुताको उच्चतम प्रयोग पनि मान्न सकिन्छ । वालन संरक्षण र रामायण उल्थाबाहेक हिन्दूले नै गर्नुपर्ने अरू पनि धेरै काम तपाईं फरक धर्म मान्ने व्यक्तिले गर्नु भएको छ । त्यसबारे बताइदिनुहोस् न ?
–हिन्दू धर्म निकै समृद्ध र धनी छ । धेरै अनुकरणीय कुराहरू छन् यसका । तर यो भिल्लको देशमा मणिजस्तो भएको छ । सुन्दा अलि तीतो लाग्न सक्छ । तर सत्य के हो भने हिन्दू दर्शन अध्ययन गरेर यसलाई बुझ्न सक्ने ल्याकत नेपालका हिन्दूमा छैन भन्दा पनि हुन्छ । विश्वको एक मात्र हिन्दू राष्ट्रलाई धर्मनिरपेक्ष बनाएर हिन्दूहरूले आफ्नी आमालाई बलात्कार गरेका छन् ।
हिन्दूहरू गतिछाडा भएकैले म मुस्लिम यसको रखबारी गर्न जुटिरहेको छु । वालनको संरक्षणमा त म पछि जुटेको हुँ । २०३८ मा तत्कालीन पोखरा नगरपालिका–१३ को म वडासदस्य थिएँ । त्यतिबेलै फूलबारीमा राम मन्दिर बनाएको थिएँ । आफ्नै अगुवाइमा भानुभक्तको सालिक पनि बनाएँ । भानुभक्तको सालिक बनाउँदा मेरो खल्तीकै ४ लाख खर्च भएको छ ।
० अली मिया प्रतिष्ठानले चाहिँ के के गरिरहेको छ ?
सबैको संस्कृति बाँच्नुपर्छ भन्ने हाम्रो उद्देश्य छ । यहीअनुसार, यसले काम गरिरहेको छ ।



