काठमाडौं । लकडाउनको साँढे ३ महिनापछि सरकारले सावधानीका उपाय अपनाएर सार्वजनिक सवारी चलाउन अनुमति दिएको छ ।
सरकारको अनुमतिपछि सडकमा सार्वजनिक सवारी गुड्ने र राहत मिल्ने बुझाइमा रहेका नागरिक उत्साहित थिए । तर अहिलेसम्म सार्वजनिक सवारी सेवाका लागि तयार भएका छैनन् । किन ?
यातायात व्यवसायी अहिलेकै अवस्थामा सवारी सञ्चालन गर्न नसकिने अडानमा छन् । यातायात मजदुरको स्वास्थ्य सुरक्षालाई बेवास्ता गरिएकाले जोखिम मोलेर सवारी सञ्चालन गर्न नसकिने उनीहरूको भनाइ छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला श्रमिकको आधारभूत स्वास्थ्य र सुरक्षाको विषयमा सम्बोधन नभएसम्म सवारी सञ्चालन गर्न नसकिने बताउँछन् ।
लकडाउनपछि सवारी सञ्चालन गर्ने विधि र प्रक्रियाबारे छलफल भइरहेका बेला सरकारले त्यसको टुंगो नलाग्दै हचुवामा सार्वजनिक सवारी सञ्चालनको अनुमति दिने निर्णय गरेको यातायात व्यवसायीको गुनासो छ । यातायात व्यवसायीहरूका विभिन्न संगठनले कार्यविधि बनाएर मात्रै सवारी सञ्चालन गर्नुपर्ने निर्णय गरेका छन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत यातायात व्यवसायी संगठनका पदाधिकारी सम्मिलित एक कार्यदल समेत गठन भएको छ । यसले सवारी सञ्चालनमा देखिएको अन्योलताबारे सरोकारवालासँग छलफल गरेर निकास निकाल्ने प्रयास गर्ने बताइएको छ ।



