काठमाडौं । नेपाल प्रहरीमा घुमुवा राखी असुली गर्ने प्रचलन हटाउन धेरै प्रयास भए । विगतमा प्रहरी प्रमुख नियुक्ति भएपछि हरेकले घुमुवा हटाउने भाषण गर्थे तर व्यवहारमा घुमुवा कहिल्यै हटेनन् । अब नव नियुक्त आईजीपी शैलेश थापाको कार्यकालमा घुमुवाको अवस्था के हुने हो भन्ने प्रश्न र जिज्ञासा पनि उत्पन्न भएको छ ।
अपराधी पत्ता लगाउनका लागि सिभिल ड्रेसमा सूचना संकलन गर्न खटाउने गरेका प्रहरीको काम बढी अपराधीसँग मिलेर रकम लेनदेन गर्ने हुँदैआएको आरोप प्रहरीले भोग्दैछ । प्रदेश र जिल्लाका हाकिमले अतिरिक्त आम्दानीका लागि त्यस्ता घुमुवा अहिले पनि खटाउने गरेको आरोप छ । माधव नेपाल प्रधानमन्त्री र भीमबहादुर रावल गृहमन्त्री हुँदा तराई विशेषगरी २ नम्बर प्रदेशका जिल्लामा सशस्त्र समूहको बिगबिगी थियो ।
लामो समयदेखि कार्यरत घुमुवा प्रहरीसँग सशस्त्र समूहको कनेक्सन भएको पुष्टि मात्र भएन, उनीहरूलाई प्रहरीको अप्रेसनबारे पहिल्यै सूचना प्राप्त हुने गरेको थियो । त्यही सूचनाका आधारमा उनीहरू सुरक्षित हुँदै आएका थिए ।
तत्कालीन गृहमन्त्री रावलले सबैभन्दा पहिला त्यस्ता घुमुवालाई पहाडी र हिमाली जिल्लामा सरुवा गरे । त्यसपछि सशस्त्र समूहको गतिबिधि कमजोर भयो, प्रहरी कारबाहीमा पर्न थाले । क्रमशः सशस्त्र समूह तराईमा निस्तेजमात्र होइन, समाप्तै भएको थियो । घुमुवाहरूले सशस्त्र समूहस“ग कनेक्सन गरी हत्या र आतंक फैलाएर असुली गरेको रकमको हिस्सा पाउने गरेका थिए ।
रावलले लामो समय कार्यरत घुमुवालाई सरुवा गरे पनि पछि उनीहरू एकपछि अर्को गरी पुनः तत्तत् स्थानमा फर्किए । त्यतिबेलाका घुमुवा अहिले १० बर्षसम्म पनि सीमा क्षेत्रमा हुने तस्करीदेखि विभिन्न अपराधीसँग साँठगाँठ गरी कुस्त घुस असुलीमै ब्यस्त छन् ।
२६ औं आइजीपी सर्वेन्द्र खनालले प्रहरी केन्द्रीय कार्यालयबाटै सई कृष्णदेव साहको नेतृत्वमा तराईमा घुमुवा परिचालन गरेकोमा विवादमा तानिएका थिए । तर नवनियुक्त आइजीपी शैलेश थापा क्षेत्री प्रहरीमा बेदाग छविका भएकाले प्रहरीमा घुमुवा राखी असुली गर्ने काम उनीबाट हुनेछैन, बरु यो क्रम रोक्न लागिपर्ने अपेक्षा गरिएको छ ।
प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले हरेक जिल्लामा घुमुवा राखेर अतिरिक्त असुली छुट दिने गरेको आरोप छ । सिंह सरुवा हुनुअघि २ नम्बर प्रदेशका डीआइजी थिए, प्रद्युम्न कार्की । उनले २ नम्बर क्षेत्रमा लामो समय कार्यरत प्रायः सबै घुमुवालाई गण वा प्रदेश प्रहरी कार्यालयमा पोशाक लगाएरै ड्युटीमा तैनाथ गर्न लगाएका थिए । उनी हुन्जेल घुमुवाको असुली आतंक लगभग बन्दजस्तै भएको थियो । २ नम्बर प्रदेशका ८ वटा जिल्लाबाट मरिच, केराउ भारततर्फ तस्करी हुने क्रम पनि थोरै भएपनि रोकिएको थियो ।
तर कार्कीको सरुवा हुनासाथ उनको ठाउ“मा गएका डीआइजी सिंहले धमाधम यसअघि गण र प्रदेशमा तानिएका घुमुवालाई पुनः प्रदेशको घुमुवा राखेका छन् । कतिपयलाई जिल्लाको घुमुवामा खटाएका छन् । दरबन्दी अन्यत्र भएकालाई पनि रमाना नदिई घुमुवामा परिचालन गरिएको छ । डीआइजीले राखेको प्रदेशको घुमुवा टोलीमा प्रहरी निरीक्षक बरुणकुमार सिंह, सई सन्तोष झा लगायत आधा दर्जन छन् । प्रदेशको घुमुवा टोलीमा मुख्य इन्स्पेक्टर सिंह नै हुन् ।
सई सन्तोष झा विगत ९ बर्षदेखि धनुषामै घुमुवा भएर हाकिमका असुली गर्ने विश्वासपात्रका रुपमा चर्चित छन् । उनको असुलीबारे धेरै गुनासो आएपछि यसअघिका डीआइजी प्रद्युम्न कार्कीले बिपत ब्यवस्थापन केन्द्रमा थन्क्याएका थिए । तर कार्की सरुवा भएको एक सातामा डीआइजी सिंह हाजिर हुनासाथ सई झालाई प्रदेशको घुमुवामा ल्याएपछि ‘दाल में कुछ काला है’ भन्ने उखान चरितार्थ भएको छ ।
त्यसैगरी सई जयलाल यादव लामो समयदेखि धनुषाका घुमुवा हुन् । उनलाई म्याग्दीमा सरुवा गरिए पनि उनी धनुषामै घुमुवाका रुपमा कार्यरत छन् । डीआइजी सिंहले पनि उनलाई धनुषाको जिम्मै दिएको स्रोत बताउ“छ । म्याग्दीमा दरबन्दी भएका उनी डीआइजीकै संरक्षणमा धनुषामा घुमुवा छन् ।
सई त्रिभुवन साह पनि प्रदेशको घुमुवा टोलीमा छन् । पर्साका आकर्षक नाकाका रुपमा लिइने इनर्वा र परवानपीपुरको इन्चार्ज भइसकेका उनलाई डीआइजी सिंहले प्रदेशको घुमुवामा त्यही क्षेत्रमै तैनाथ गरेका छन् । मरिच तस्करीमा मिलेमतो देखिएपछि साहलाई यसअघिका डीआइजी कार्कीले प्रदेश प्रहरीमा तानेका थिए ।
जागिर खाएदेखि सधैं बारा र पर्सा जिल्लामै घुमुवा बसेका सई सागर राणालाई पनि प्रदेशकै घुमुवाका रुपमा असुलीमा परिचालन गरिएको छ । संखुवासभादेखि विभिन्न जिल्लामा दरबन्दी भए पनि राणा बारा र पर्सामै घुमुवाका रुपमा कार्यरत रहेको उनको जागिर रेकर्ड हेर्दा पनि थाहा हुन्छ । डीआइजी धिरजप्रताप सिंह पर्साको एसपी हु“दा सई राणा उनका घुमुवा थिए ।
त्रिभुवन र राणालाई पर्सा र बारामा असुलीका लागि खटाइएको छ । असई रामबहादुर परियार र हवल्दार परमानन्द यादव पनि सिंह पर्साको एसपी हुँदा घुमुवा थिए । यी पनि अहिले डीआइजीले परिचालन गरेका घुमुवा टोलीमै छन् ।
घुमुवा धर्मेन्द्र यादवलाई महोत्तरीको पैसा उठाउने जिम्मा दिइएको छ । सिपाही मनोज पेला र अंकित सिंहलाई सिरहा र सप्तरीमा खटाएका छन् । सिपाही पेलाको काम डीआइजी सिंह र घुमुवाबीच कुरा मिलाउने बिचौलियाको पनि हुँदै आएको छ ।
सन्तोष झा र जयलाल यादवले सर्लाही, रौतहट जस्ता जिल्लाको जिम्मा पाएका छन् । यसरी प्रदेशबाटै घुमुवा परिचालन गरी डीआइजी सिंहले अतिरिक्त आम्दानी गर्ने गरेको आरोप छ ।



