काठमाडौं । कैद भुक्तान गरेर जेलमुक्त व्यक्ति मिलेर राजधानीमा सुन पसल चोरी गरेको पाइएको छ । चोरीमा संलग्न लुटेराको नाइके भने भारतीय रहेको खुलेको छ ।
काठमाडौंको लाजिम्पाटस्थित दिलीपकुमार श्रेष्ठले सञ्चालन गरेको पबी ज्वेलर्स गत फागुन १८ गते चोरी भएको थियो । लुटेराको समूहले झण्डै १ करोड मूल्यबराबरको सुन र रकम चोरेर लगेका थिए । त्यसलगत्तैदेखि संलग्नको खोजी थालेको प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएसँगै त्यसको पहेली खुलेको हो ।
महानगरीय अपराध महाशाखाका अनुसार, घटनामा संलग्नको आरोपमा उदयपुर त्रियुगाका ३७ वर्षीय गंगाबहादुर तामाङ, महोत्तरीका ४५ वर्षीय बुद्धबहादुर माझी र उदयपुरका जंगबहादुर रायमाझी पक्राउ परेका छन् । सँगै जेलमा रहेका उनीहरूले छुटेको १ महिनापछि नै पुनः लुटपाट थालेको पाइएको छ । उनीहरूको नाइके भारतीय रहेको र उनी अहिले फरार रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
नाइकेले आफ्ना म्यादीलाई अब अन्तिम पटक ठूलो काम गर्ने भन्दै बोलाएर लुटपाटमा लगाएको बयान पक्राउ परेकाले दिएका छन् । सुध्रिएर विभिन्न निर्माणलगायतका काममा लागेकासमेत प्रलोभनमा परेर पुनः अपराध कर्ममा सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।
कबाडीको हुलियामा चोरी
यो गिरोहले चोरीको नयाँ शैली अपनाएको पाइएको छ । प्रहरीका अनुसार, उनीहरूले कबाडीको हुलिया प्रयोग गरेर सुनसान बेला पारी चोरी गरेको बयान दिएका छन् ।
‘कागज बोतल उठाउने व्यक्तिको हुलिया बनाइ साइकल लिई विभिन्न सुन–चाँदी पसलहरुको हप्ता दिनसम्म रोकी गरी बिशेषतः रातको समयमा धेरै मानिसहरुको चहलपहल नहुने स्थानमा रहेको सुन–चाँदी पसलको सटर फोडी चोरी गरेको पाइएको छ,’ महानगरीय अपराध महाशाखाद्वारा जारी घटना विवरणमा उल्लेख छ ।
उनीहरूले गत फागुन १८ गते राति १ः३०–२ः३० सम्म लाजिम्पाटस्थित दिलीपकुमार श्रेष्ठले सञ्चालन गरेको पबी ज्वेलर्स चोरी गरेको स्वीकारेका छन् ।
घटनामा नाइकेसहित २ लुटेरा अझै फरार रहेको प्रहरीले जनाएको छ । उनीहरू भारतीय भएको बताइएको छ ।



