बागलुङ, ११ पुसः उद्यमीले घरेलु प्रविधिको सट्टा आधुनिक यन्त्र प्रयोग गरेर नेपाली हाते कागज उत्पादन गर्न थालेका छन् ।
बाग्लुङ जिल्लाको पहिचान भनेर चिनिने नेपाली हाते कागजलाई आधुनिकीकरण गरिएको हो । ताराखोला गाउँपालिका–५ मा यन्त्रको प्रयोगबाट कागज बनाउन प्रयोग हुने लोक्ता प्रशोधन र उत्पादन हुने गरेको छ । यसअघि जङ्गलबाट ल्याएको लोक्तालाई काठको मुङ्ग्रोले थिचेर कागज निकाल्ने गरिएको थियो ।
परम्परागत प्रविधिबाट दैनिक एक सय थान कागज उत्पादन हुने गरेकोमा यन्त्रको प्रयोगले दैनिक ४०० थान कागज उत्पादन भैरहेको छ । जुल्फे सामुदायिक लोक्ता प्रशोधन तथा नेपाली कागज उत्पादन समूहका अनुसार आधुनिक प्रविधिको प्रयोगले उत्पादनको मात्रा र गुणस्तर बढेको छ । समूहमा आबद्ध छजना उद्यमीले अहिले नियमितरुपमा कागज उत्पादन गरिरहेको, सो समूहका अध्यक्ष खिमलाल कँडेलले बताए ।
केही समयअघि भक्तपुर हस्तकला केन्द्रले गाउँमै पुगेर २१ जना स्थानीयवासीलाई हाते कागज उत्पादनसम्बन्धी सीप प्रदान गरेको थियो । “उत्पादन बढेसँगै बजार मागमा पनि वृद्धि भएको छ”, उनले भने, “यान्त्रिकीकरणले नेपाली कागज लोप हुनबाट जोगिएको छ ।”
दुई दशक अघिदेखि उद्यमीले घरेलु प्रविधि अपनाएर हाते कागज उत्पादन गर्दै आएका थिए । कागजसँगै बजारलाई लक्ष्य गरी यसबाट बन्ने विभिन्न सामग्री उत्पादन गरी बिक्री गर्ने गरिएको छ । किसानले जंगलमा गएर ल्याएको लोक्ता प्रशोधन गरी कागज बनाउने गरिएको उद्यमी थिरमती घर्तीले बताए ।
नेपाली कागजको उत्पादन र प्रवर्ध्दनलाई सघाउन वहुसरोकारवाला वन कार्यक्रमले उद्यमीलाई एक थान लोक्ता प्रशोधन गर्ने यन्त्र उपलब्ध गराएको छ । यस्तै, बागलुङ उद्योग वाणिज्य संघले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत एक थान कागज काट्ने आधुनिक यन्त्र उपलब्ध गराएको छ । संघले नेपाली कागजको उत्पादन र बजारीकरणमा टेवा पुर्याउन विभिन्न प्रवर्ध्दनात्मक काम गरिरहेको छ । आधुनिक यन्त्रले झण्झट हट्नाका साथै काममा सहजता आएको उद्यमीहरु बताउँछन् ।



